भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
– नारायणमान वनमाला, देवगण सदस्य
सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक महत्व बोकेको जीवित देवताको रूपमा पुजिने प्रसिद्ध श्री नवदुर्गा भवानीको यस वर्षको जात्रा मंसिर १९ गते नवमीको दिनदेखि काठमाडौँको पशुपति क्षेत्र जय बागेश्वरी देव पाटन स्थानबाट माछा मार्ने (ङालाकेगु जात्रा) शुभारम्भ भयो । वर्षको ८ महिनासम्म चल्ने यो जात्रा हरेक वर्ष कलाचरेपछि नवमी र दशमीको दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगणबीच भेटघाट तथा प्रसाद आदान प्रदान गर्ने गरिन्छ । पशुपतिनाथको मूल पुजारीबाट नवदुर्गा भवानीलाई पूजा गरी पशुपतिको जल र प्रसाद भैरवको बाहुलीमा चढाउने चलन रहेको पाइन्छ । पशुपतिको मूल चोकमा देवगणको मङ्गल सिद्धि नाचसँगै भित्रका सम्पूर्ण देवताहरूलाई भेटघाट गर्ने र पूर्वपट्टिको गुहेश्वरी देवतालाई महाकाली देवगणबाट नाचको रूपमा भेट गरिने गरिन्छ । यसैगरी दक्षिणतर्फ रहेको शिवालय चोकमा मुवाहाँ लिकेगु जात्रा गरी पशुपति कास क्षेत्रको वर्ष मूल पूजा ग्रहण गर्ने चलन छ । त्यसैगरी जय बागेश्वरी मन्दिरमा पुगेर सर्वप्रथम माछा मार्ने जात्राको लागि ख जुकेगु (बास बस्ने) र रात्रिको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । त्यसको भोलिपल्ट बिहानदेखि बाराही नाच, सिम दुम्ह माछा समाउने नाच प्रदर्शन, महाकाली नाचबाट बेलुका श्वेत भैरवले माछा समाउने (ङालाकिगु) जात्रा बेलुकासम्ममा सम्पन गरी पुनः भक्तपुर फर्किने चलन छ । सोही स्थानबाट देवगणहरूले आफ्नो देवताको मुखुण्डो र पोशाक गरगहनाहरू आवश्यक सामानहरू खर्पन अथवा खम्मुमा राखेर बोक्दै हिँडेर संस्कृतिलाई निरन्तरता दिइरहेको छ ।
त्यसैगरी पुनः योमारी (धान्य) पूर्णिमाको दिनदेखि मध्यपुर नगरपालिका थिमिका विभिन्न स्थानहरूमा नवदुर्गाको जात्रा हुने गर्छ । २०६६ मा केही व्यक्ति र देवगणहरूबीच जात्राको क्रममा विवाद हुँदा ९ वर्षसम्म बन्द भएको थियो । उक्त जात्रा सञ्चालन गर्न पटक–पटक भएका छलफलअनुसार २०७५ सालदेखि मानव समाजमा आधारित दैनिक जीवनसम्बन्धी दिशाबोध गर्ने परापूर्वकालदेखि चल्दै आइरहेको संस्कृतिलाई निरन्तररूपमा अगाडि बढाउन मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र सोही नपाका वडा नम्बर ४ का वडाध्यक्ष कुमार श्रेष्ठको सक्रियतामा जात्रामा शान्ति सुरक्षा, देवगणहरूलाई उचित बास व्यवस्था, खानपिन र जलपानको साथै आर्थिक सहयोगसमेत गर्ने गरी योमारी पूर्णिमाबाट सात दिनसम्म जात्रा हुने मध्यपुर जनप्रतिनिधि र देवगण परिवारका साथै भनपा वडा ९ का वडाध्यक्ष रवीन्द ज्याख्वसमेतको रोहवरमा सम्झौता भएको थियो । नवदुर्गा देवगणको जात्रालाई निरन्तर सञ्चालन गर्न मध्यपुर (नपा) बाट अक्षय कोषसमेत खडा गरी संस्कृतिलाई निरन्तरता दिने मध्यपुर नपा वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
मध्यपुर नपामा नवदुर्गा जात्रा सात दिनसम्म हुने
पहिलो दिन ः योमरी पूर्णिमाको दिन भनपा वडा नं ९ गछेँ मन्दिरबाट देवगणहरू सम्हेबजी ग्रहण गर्दै मुकुन्डोदेखि गरगहना र पोशाकहरू खम्मुमा राखेर बोकी दिउँसो तीन बजे मध्यपुर नपा प्रस्थान गर्नेछन् । दिगुली स्थान पुगेर सम्पूर्ण देवगणहरू आफ्नो पोशाक लगाएर नाच प्रदर्शन गर्दै बालकुमारीमा बास बस्ने गरिन्छ ।
दोस्रो दिन ः बिहान ७ बजेदेखि मध्यपुर चपाचो स्थानबाट गणेश, कुमारी, सिम र दुम्हको नाच सुरु गरिन्छ ।
तेस्रो दिन ः बिहान ८ बजेदेखि मध्यपुर मुलाख्यो स्थानमा चार जना देवगणको जात्रा गरिन्छ । बेलुका ४ बजेदेखि लाय्कु क्षेत्रमा यही नाच प्रदर्शन गरिन्छ । लायकुमा पूजा ग्रहण गरिन्छ ।
चौथो दिन ः मध्यपुर दथुटोल क्षेत्रमा रात्री नाच प्रदर्शन गरी टोलको पूजा ग्रहण गर्ने गरिन्छ ।
पाँचौँ दिन ः मध्यपुर नपा ५ नगदेशमा चार जना देवगणको जात्रा गरी नगदेशका सम्पूर्ण टोलहरू परिक्रमा गर्ने गरिन्छ । साथै बेलुका ४ बजेदेखि मध्यपुर बोडेमा चार जना देवगणको जात्रा हुने गर्छ ।
छैठौँ दिन ः सुर्यविनायक नपा गामचामा पनि चारै जना गणेश, कुमार, सिम र दुम्हाको जात्रा हुने गर्छ । बेलुका मध्यपुर बालकुमारी क्षेत्र टोल परिक्रमा गरी अन्तिम खजुकेगु रात्रीनाच यक्षश्वरका देवता अगाडि बास बस्ने गरिन्छ । साथै बेलुका मूवाहाँ लिकेगु जात्रा बपा टोलमा गर्ने गरिन्छ ।
सातौँ दिन ः सोही स्थानमा बिहान बाराही नाच, सिम दुम्हा, माछा समाउने जात्रा, महाकाली नाच, श्वेत भैरवको माछा समात्ने जात्रा हुन्छ सबै देवगणहरू नाच सम्पन्न गरेर पहिलो पटकको आरती नाच शुभारम्म गरी जात्रा सम्पन्न गरिन्छ । यस नवदुर्गा जात्राको महत्वपूर्ण नवदुर्गा नाच दैनिक जीवनमा आधारित छ, पारिवारिक भूमिका, चेलिबेटीको दुखेसो, सहकारी भावना, पञ्चरङ्गको महत्व, केटाकेटीको भूमिका, सरसफाइको शिक्षा, असत्यमाथि सत्यको जीत हुने दिशाबोध यो नाचले गराउँछ । माघे सङ्क्रान्तिबाट भक्तपुर नगरको सूर्यढी टोलदेखि दुई महिनासम्म विभिन्न स्थानमा जात्रा गर्ने गरिन्छ । आशा छ, यस सांस्कृतिक नगर भक्तपुरको पहिचान जोगाउन सम्बन्धित निकाय तथा सम्पूर्ण भक्तजनबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास छ ।
Leave a Reply