भर्खरै :

वागीश्वरीमा लैङ्गिक हिंसाविरूद्ध प्रवचन कार्यक्रम

भक्तपुर, २६ मंसिर । वागीश्वरी कलेजमा १६ दिने महिला हिंसाविरूद्धको अभियानको अन्तिम दिन महिला हिंसाविरूद्ध प्रवचन कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वसभासद् अनुराधा थापामगरले पुँजीवादी व्यवस्थामा १६ दिनमात्र नभई वर्षको ३६५ दिन नै महिला हिंसाविरूद्ध कार्यक्रम गरे पनि प्रभावकारी नहुने स्पष्ट पार्दै महिलाहरूप्रति हुने हिंसा अन्त्य गर्न समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य छ भन्नुभयो ।
समाजवादी देशहरूमा लिङ्गको आधारमा कुनै भेदभाव नहुने र महिलाहरू सुरक्षित रहने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्धविश्वास तथा धर्मले बलियोले कमजोरलाई दबाउने हुँदा हाम्रो समाजमा महिला हिंसा बढिरहेको हो । यसका लागि आपराधिक मानसिकतालाई हटाउन एकदमै जरूरी छ ।”
अधिवक्ता अनिता जधारीले महिला हिंसाविरूद्धको कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै बलात्कृत नारीहरूको सशक्तिकरणको निम्ति लैङ्गिक हिंसा अन्त्य नगरी समानता कायम हुन सक्दैन भन्नुभयो ।
बलात्कृत नारीहरूले ‘हीयर मी टू’ अभियानबाट आफ्नो वास्तविकता सार्वजनिक गर्न प्रोत्साहन दिने गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको कानुनमा महिला हिंसा गर्ने जोकोहीलाई पनि राज्यले ३ देखि २५ हजार जरिवाना गर्नुका साथै ६ महिनासम्म कैदको व्यवस्था गरेको छ । महिला हिंसाविरूद्ध कानुनी समाधानको लागि अदालतमा जानु आवश्यक छ ।”
वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले समाजमा घटेको विभिन्न सामाजिक घटनाले महिलाहरू पीडित भएको उदाहरण प्रस्तुत गर्दै आफू जनप्रतिनिधि हुँदाको अनुभव सुनाउनुभयो ।
बीएसडब्लू तेस्रो वर्षका विद्यार्थी आकृति गिरीको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र विद्यार्थी कृपा प्रजापतिले पनि बोल्नुभएको थियो ।
यस वर्ष महिलाविरूद्धको नारा ‘समानताको पुस्ता–बलात्कारविरूद्धको ऐक्यबद्धता’ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *