युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
बिहीबार चाबहिल–जोरपाटी सडकको अनुगमनमा गएका पूर्वप्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपालले स्थानीय जनताका प्रश्नको जवाफ नदिन नसकेपछि ‘लुसुक्क’ फर्किनुप¥यो । झन्डै चार वर्षअघि निर्माण आरम्भ भएको सडक अझै पनि भताभुङ्ग अवस्थामा छ । जनताले पटक–पटक सो सडकबारे सरकारको ध्यानाकर्षण गर्दा पनि अनेक बहानाबाजीमा सडक निर्माण हुन सकेको छैन । फलतः स्थानीय जनता वर्षामा हिलो र अरू बेला धुलो खेप्न बाध्य छन् । समाचार स्रोतअनुसार बिहीबार अनुगमनका क्रममा सडकका ठेकेदारलाई समयमै किन काम नभएको भनी नेता नेपालले सोध्दा अनेक कारण र बहाना देखाई ठेकेदार आफू दोषमुक्त हुन खोजेका थिए ।
राजधानीमा लथालिङ अवस्थाका यस्ता अरू पनि सडक खण्डले पूर्णता पाउन सकेका छैनन् । भक्तपुरको कमलविनायक–नगरकोट सडक खण्डको निर्माण थालनी भएको ६ वर्षभन्दा बढी समय भइसक्यो । काठमाडौँ उपत्यकाकै चर्चित पर्यटकीय केन्द्र नगरकोट जाने सो सडकको दुरावस्थाका कारण पर्यटकको सङ्ख्या निकै घटेको छ । मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनअघि केही दिन जनता झुक्याउन नगरकोट सडकमा केही डोजर चलाइएको थियो । तर, निर्वाचन सम्पन्न भएलगत्तै निर्माण कार्य अझै ठप्प भएको छ । नगरकोट सडक खण्डका ठेकेदारले तोकिएको समयमा काम सम्पन्न नगर्दा कानुनअनुसार भोग्नुपर्ने कारबाहीबाट उनी सत्तारुढ दलकै एक जना नेता पुष्पकमल दाहालका घरभेटी भएकोले उन्मुक्ति पाइरहेको सर्वविदित छ । स्थानीय जनताले जोरपाटी–चाबहिल सडकका जनताले जस्तै धुलो र हिलोका कारण कष्टसाध्य जीवन बिताइरहेका छन् । तथापि न सरकारले ठेकेदारलाई कारबाही गर्न सक्यो न निर्माण कार्यलाई नै निरन्तरता दिन सकेको छ ।
बिहीबार जोरपाटी–चाबहिल सडक खण्ड अनुगमनको दृश्य हेर्दा राजनीतिक नेतृत्व ठेकेदारहरूसमक्ष लाचार देखिए । ठेकेदारले बहानाबाजी गरेर काम ढिला भएको भन्दा उनलाई कारबाही हुने अवस्था बनेन । ठेकेदारले प्रस्ट शब्दमा आफूलाई काम गर्न नदिने कार्यालयको नाम किटान गर्दाको अवस्थामा सम्बन्धित कर्मचारीलाई पनि कारबाही गर्न राजनीतिक नेतृत्व अनकनाएको देखियो ।
नेकपाको वर्तमान सरकारले जनताको हितलाई भन्दा आफू वरपरका बद्मास ठेकेदारलाई पाल्ने–पोस्ने काम गरिरहेको छ । चुनावमा चन्दा दिने ठेकेदारलाई नै च्यानल मिलाएर ठेक्का पार्ने र तिनै ठेकेदारले समयमा काम गर्न नसक्दा पनि कुनै कारबाही नगरिएको आजको वास्तविकता हो । यसबाट अन्ततः क्षति जनतालाई भएको छ । जनता दैनिक नारकीय जीवन बाँच्न बाध्य छन् । जनता अनेकथरी रोगको शिकार बनेका छन् । जनतालाई अनेकन झूटा आश्वासन दिएर चुनाव जित्ने अनि सत्ता शक्तिमा मोजमस्ती गर्ने शासक दलका नेताहरू जनताका समस्याप्रतिभन्दा ठेकेदारको सङ्गतमा बढी रमाइरहेका छन् ।
जनताको सहनशीलताको पनि एउटा सीमा हुन्छ । सीमा नाघ्दा सबै कुरा भारी हुन्छ । बिहीबार माधव नेपालसमक्ष जनताले पोखेको आक्रोश वास्तविक जनआक्रोशको ‘कास्टिङ’ हो । जनताले नेपाललाई सोधे–हामीलाई दिएका कुन वचन पूरा गर्नुभयो ?
राजधानीभित्र र बाहिरका निर्माण कार्यमा देखिएका यस्ता समस्या समाधान गर्न प्रथमतः सरकारी निकाय स्वयम् नै भ्रष्टाचारीहरूको संसर्गबाट मुक्त हुन आवश्यक छ । भ्रष्टाचारीको चौघेरामा बसेर बदमास ठेकेदारलाई कारबाही गर्न सम्भव छैन । त्यसकारण चुनाव जित्न बदमास ठेकेदारहरूसँगको उठबस नेताहरूले त्याग्न सक्नुपर्छ ।
Leave a Reply