भर्खरै :

सिद्धिकृषिको सातौँ साधारणसभा

भक्तपुर, २८ मंसिर । सिद्धि कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभामा अतिथि सुवालले आर्थिक समानता नभएसम्म देशमा शान्ति र अमनचयन कायम नहुने चर्चा गर्दै भन्नुभयो, “आर्थिक समानतासहित देशको सन्तुलित विकास आवश्यक छ । देशको बजेट निश्चित सहरमा मात्र केन्द्रित गर्नु र जनसङ्ख्यालाई एकत्रित गर्नुले सन्तुलित विकास हुँदैन ।”
देशको सन्तुलित विकास नभएसम्म खाद्यान्न आयात गर्नुपर्ने धारणा राख्दै उहाँले देशको पहाडी क्षेत्रमा पनि रैथाने बीउ–विजनलाई प्रवद्र्धन गरी खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
“खाद्यान्न आत्मनिर्भर नभएकोले भारतबाट खाद्यान्न आयात बढेको हो”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपालमा पाइने २२ थरी सुन्तला संसारमै उत्कृष्ट भएको नेपाली बाली तथा विरूवा विज्ञहरूको मत छ । तर, सरकारले सुन्तलालगायत फलफूल खेतीलाई प्रवद्र्धन नगरेको हुँदा विदेशी सुन्तलालगायत फलफूल आयात बढ्दो छ ।”
“साल्ट ट्रेडिङ, खाद्य संस्थान, नेशनल ट्रेडिङ, नेपाल बैङ्क, कृषि विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्कलाई प्रवद्र्धन गर्नु आवश्यक छ । भक्तपुर इँटा कारखानालगायत सार्वजनिक संस्थानहरू केही व्यक्तिको कब्जामा दिइएको आपत्तिजनक छ ।” उहाँले भन्नुभयो ।
सांसद सुवालले सिद्धि कृषि सहकारी संस्थामार्फत साधारण किसानहरूको हितमा बीउ–मल वितरण भइरहेकोलाई सरकारले प्रवद्र्धन गर्न आवश्यक भएको बताउनुभयो ।
सिद्धि गणेश साकोसका अध्यक्ष राजन लाखाजूले सिद्धि गणेश साकोस स्थापनाको उद्देश्य र गर्दै आएको कार्यबारे जानकारी गराउँदै भन्नुभयो, “सिद्धिगणेश साकोसले भारतीय नाकाबन्दीको बेला पनि कृषकहरूको हितको लागि वीरगञ्जसम्म पुगी मल ल्याई वितरण गरेको थियो ।”
भनपा वडा नं. १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले नगरपालिकाले गर्दै आएको गतिविधिहरूबारे जानकारी दिँदै कृषकहरूको हितको लागि ऋतुअनुसार बीउ–बिजन वितरण गर्दै आइरहेको छ भन्नुभयो ।
कार्यक्रममा बाली विज्ञान महाशाखाका बालिविज्ञ पंकज ज्ञवाली र साल्ट ट्रेडिङ कर्पोरेसनका अधिकृत महेन्द्र भुसालले पनि बोल्नुभएको थियो ।
सिद्धि कृषि सहकारीका संस्थाका अध्यक्ष पुण्यराम दुमरूको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न मित्र सहकारीका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाको प्रतिवेदनहरू पारित प्रस्तुत गरेको थियो ।
फाइदाको लागि सहकारी सिद्धान्तविपरीत जान नहुने
भक्तपुर, २८ मंसिर । अर्पण बचत तथा ऋण सहकारी संस्थाको दसौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी सिद्धान्तअनुसार सहकारी चल्नुपर्ने आवश्यकता औँल्याउँदै फाइदाको निम्ति सहकारीले सिद्धान्तविपरीत कार्य गर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिकाको सहकारी ऐनअन्तर्गत नगरपालिकामा संस्था दर्ता गरेरमात्र सहकारी संस्थाहरू सञ्चाल गर्नुपर्छ ।”
अतिथि प्रजापतिले सदस्यहरूको शिक्षा र स्वास्थ्यलाई सहकारीले ध्यान दिनुपर्नेमा जोड दिँदै भन्नुभयो, “उच्च शिक्षा अध्ययन गर्नेहरूको लागि सहकारी संस्थाले कम ब्याज दरमा विनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गर्नु आवश्यक छ ।”
युवाहरूमा विदेश जाने प्रलोभनमा नक्कली बिहेको प्रचलन बढेकोतर्फ सचेत गराउँदै प्रमुख प्रजापतिले त्यस्तो प्रवृत्तिले दुःख पाउनुका साथै समाजमा नराम्रो असर पार्ने बताउनुभयो ।
भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले युवाहरू जाँड–रक्सी र लागूपदार्थ सेवन गर्नेजस्ता खराब बानीबाट टाढा रहनुपर्छ भन्नुभयो ।
संस्थाका अध्यक्ष बाबुरत्न द्योलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी सङ्घका जगनाथ प्रजापतिले पनि बोल्नुभएको थियो ।
पुँजीवादले बनाउँछ व्यक्तिवादी र पैसामुखी
भक्तपुर, २८ मंसिर । आस्था बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारणसभा शनिबार सम्पन्न भयो ।
साधारण सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले पुँजीवादी आर्थिक–सामाजिक बन्दोवस्तले मानिसलाई व्यक्तिवादी र पैसामुखी बनाएको भन्दै सहकारीहरूले युवाहरूमा सामुहिक भावनाको विकासको निम्ति पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले पुँजीवादले युवाहरूमा नैराश्य, देखावटी प्रवृत्तिलगायतका विकृति ल्याएको भन्दै सामाजिक सञ्जालको सहि प्रयोगबारे पनि सहकारी संस्थाहरूले जनचेतनामुलक काम गर्नुपर्ने बताउनुभयो । उहाँले समाजमा मानिस–मानिसबीचको सम्बन्ध टाढिँदै गएको भन्दै युवाहरूलाई सामाजिक काममा सक्रिय बनाउनुपर्ने बिचार राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले देशको अर्थतन्त्र कृषिमा आधारित भन्ने तर सोअनुसारको योजना तयार नहुँदा देशले यथोचित आर्थिक प्रगति गर्न नसकेको भन्दै कृषि उत्पादन बढाउन देशको प्राकृतिक स्रोतसाधनमाथिको विदेशी एकाधिकार समाप्त गर्नुपर्ने धारणा राख्नुभयो ।
आस्था साकोसका अध्यक्ष जीवन सुवालको सभापतित्वमा भएको कार्यक्रममा बाराही साकोसका प्रतिनिधि पुण्यकृष्ण भुजू, आस्था साकोसका विणा प्रजापतिलगायतले आफ्नो विचार राख्नुभएको थियो । आस्था साकोसमा करिब १२ सय सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *