भर्खरै :

प्याजमा परनिर्भरता

कुनै दिन प्याजको मूल्य यति माथि आकाशिएला भनी सायदै कोही नेपालीले सोचेका थिए ! गएको महिना प्याजको मूल्य आकाशिएको देख्दा सर्वसाधारण नेपाली जनता तीनछक्क परे । भारतबाट प्याज आयात बन्द भएपछि नेपालमा त्यसको मूल्य ५ सय प्रतिशतले बढेको थियो । आफूलाई आवश्यक परेको प्याजसमेत उत्पादन नभएपछि भारतले प्याज निर्यातमा रोक लगाएको हो । नेपाली बजारमा खपत हुने प्याजमध्ये ९८ प्रतिशत भारतबाट नै पूर्ति हुँदै आएको थियो । प्याज निर्यातमा भारतले रोक लगाएपछि नेपालमा प्याजको मूल्य बढेको हो ।
पछिल्ला दिनमा चीनबाट प्याज आयात भएपछि नेपाली जनताले मूल्यमा केही राहत पाएका छन् । हाल चीनबाट हप्तामा ४०–४५ टन प्याज आयात भइरहेको छ । १८० रुपैयाँ प्रतिकेजी पुगेको प्याजको भाउ हाल १४० रुपैयाँमा झरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । तर, कृषिप्रधान मानिएको देश नेपालको लागि यो अवस्था भने लज्जास्पद विषय हो । नेपाली बजारमा आवश्यक पर्ने प्याजमध्ये नेपालले जम्मा २ प्रतिशत उत्पादन हुने गरेको छ । प्याजको प्रस·ले नेपालको परनिर्भरतालाई उजागर गरेको छ ।
नेपाली युवाहरू नेपालमा रोजगारी नपाएको भन्दै खाडी मुलुकमा श्रम बेच्न बाध्य छन् । तर, नेपालको मलिलो माटोमा उत्पादन हुने प्याजसमेत हामीलाई आवश्यक परिमाणको जम्मा २ प्रतिशतमात्र उत्पादन गर्ने गर्छौँ । आफ्नो देशको लागि आवश्यक कृषि उत्पादनसमेत गर्न नसकेका हामीले विदेशमा श्रम गर्ने युवा जनशक्ति पठाउनु कति विडम्बनापूर्ण र विरोधाभास हो । के विदेशमा रोजगारीको लागि जाने जनशक्तिलाई नेपालमा हामीलाई आवश्यक पर्ने वस्तुको उत्पादनमा लगाउने परिस्थिति सरकारले बनाउन सक्दैन ?
विकास र समृद्धिको वचन दिएर अहिले सरकार बनेको हो । तर, साना–साना वस्तु र आवश्यकतामा समेत परनिर्भर बनेको देशको अर्थतन्त्र कसरी विकास र समृद्धिको बाटोमा हिँड्नसक्छ ? विकास र समृद्धिको आधार भनेको आत्मनिर्भरता हो । सरकारले किन सामान्यभन्दा सामान्य दैनिक उपभोग्य वस्तुमा समेत देशलाई आत्मनिर्भर बनाउने योजना ल्याउनसक्दैन ? सरकारका ठूलठूला कुराले मात्र नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा हुनसक्दैन । नेपाल आत्मनिर्भर भएको वस्तुको सूची निकै छोटो छ । बरू हामी दिनानुदिन परनिर्भर बन्दैछौँ । सरकारले जनतालाई दिएको वचनबद्धताविपरीत यस्तो परनिर्भरताको घेरा तोड्न सरकार किन केही गर्दैन ?
प्याज आज नेपालको परनिर्भरताको एउटा उदाहरण बनेको छ । प्याज नेपाली जनताको भान्छामा दैनिकरूपमा आवश्यक कृषि उत्पादन हो । त्यति साधारण आवश्यकता समेतमा हामी आत्मनिर्भर बन्न सकेका छैनौँ भने समृद्धि र विकासका अरु धेरै चक्र नेपालले कसरी पूरा गर्न सक्ला ? सरकारले किन श्रम बेच्न विदेशिने युवालाई स्वदेशमा फिर्ता बोलाएर देशको आत्मनिर्भरताको बाटोमा अघि बढ्ने योजना बनाउँदैन ?
यो सरकार स्वयम् कमिसनमा टिकेको सरकार हो । कुनै पनि वस्तुमा देश आत्मनिर्भर बन्नुभन्दा विदेशबाट सामान ल्याउन सके सत्तासीनको बगलीमा भरिने कमिसनकै कारण पनि देशले आत्मनिर्भरताको बाटो हिँड्न सकेको छैन । सरकार प्याजलगायत अन्य कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढौँ । अरुसँग मागेरमात्रै समृद्धिको सपना पूरा गर्न सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *