‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
सुनिल प्रजापति
सांस्कृतिक र ऐतिहासिक नगर भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले हामी जनप्रतिनिधिहरू जनताबीच काम गर्दै छौँ । मूर्त र अमूर्त सम्पदाहरूले भरिएको यस नगरको महत्व दिन प्रतिदिन बढ्दै छ । विश्व सम्पदा सूचीमा सूचिकृत दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्रमात्रै होइन प्राचीन सहर भक्तपुर पुरै सम्पदा सहर हो । यसको संरक्षण र संबद्र्धन गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । हाम्रा हरेक गतिविधि खुला पुस्तकसरह सार्वजनिक गर्दै आएका छौँ ।
भक्तपुर नगरपालिकामा हामी निर्वाचित भएको २ वर्ष ६ महिना पूरा भयो । समयको हिसाबले पदावधिको ५० प्रतिशत व्यतित भइसकेको छ । १५ वर्षसम्म जनप्रतिनिधिविहीन अवस्थापछि निर्वाचित भएर आउँदा जनताले धेरै आशा गर्नु स्वाभाविक थियो । निर्वाचनको बेला जनताबीच घोषणापत्रको माध्यमबाट प्रतिबद्धता व्यक्त गरेका कार्यहरू पूरा गर्न निरन्तर जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्दै छौँ । ऐन–नियमको परिधिभित्रै बसेर काम गर्नुपर्ने बाध्यता हामीसँग छ । कानुन परिपालनाको सिलसिलामा जनभावनाअनुसार छिटो छरिटो काम सम्पन्न गर्न नसक्दा कहिलेकाहीँ आलोचनाको भागी बन्नुपरेको तीतो अनुभव पनि ताजै छ ।
संविधान र कानुनले स्थानीय तहलाई कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अधिकार दिएको छ । संविधानले निर्दिष्ट गरेका विषयहरूमा ऐन–नियम बनाई कार्यान्वयन गर्ने अधिकार स्थानीय तहलाई प्राप्त छ । भक्तपुर नगरपालिकाले आवश्यकताअनुसार ऐन, नियमावली, विनियम र कार्यविधिहरू बनाई लागू गर्दै आएको छ । ऐन–कानुनले समाजलाई व्यवस्थितरूपमा अगाडि बढाउन मद्दत पु¥याउँछ । तर, कतिपय विद्यालय, सहकारी र सङ्घ–संस्थाहरू नगरपालिकाको ऐनभित्र बसेर काम गर्न आनाकानी गर्दै छन् । कानुनको पालना बाध्यकारी हुन्छ । हामी नगरभित्र नगरपालिकाको ऐन, कानुनहरू अक्षरशः पालना गर्न गराउन दृढताका साथ लाग्दै छौँ ।
२०७६÷७७ को लागि पाँचौँ नगरसभाले रु. २ अर्ब १३ करोड १० लाखको बजेट पारित गरेको थियो । त्यस बजेटको सीमाभित्र रहेर नगरपालिकाले विभिन्न कामहरू गर्दै आएको छ ।
आर्थिक वर्ष २०७६÷७७ को मंसिर मसान्तसम्म चालू रु. ३०,२४,००,०००।– र पुँजीगत रु.८,३०,००,००० गरी जम्मा रु. ३८,५४,००,०००।– खर्च भइसकेको छ ।
यस आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि मंसिर मसान्तसम्ममा कुल आन्तरिक आय रु. १७,४१,२९,८०७।– जम्मा हुन आएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा सोही अवधिमा रु. १७,५४,४९,५१३।– आन्तरिक आय असुल भएको थियो । गत आ.व. को तुलनामा यस आ.व. मा आन्तरिक आयमा रु. १३,१९,७०६।– ले कमी भएकोमा पर्यटक आवागमनमा केही कमी भएका कारण पर्यटन शुल्कमा रु. २०,७१,२८५।– ले कमी आए पनि गैरपर्यटन राजस्वमा यस अवधिमा रु. ७,५१,५७९।– ले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७५÷७६ साउनदेखि पुससम्ममा गैरसार्क पर्यटक ६९, २७८ जना र सार्क÷चिनियाँ पर्यटक ४५,८६७ जना गरी जम्मा १, १५,१४५ जना पर्यटकहरूले भक्तपुर नगर अवलोकन गरेका थिए भने आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा गैर सार्क पर्यटक ६६, ८६० जना र सार्क÷चिनियाँ पर्यटक ४७,२८० जना गरी जम्मा १,१४,१४० जना पर्यटकहरूले अवलोकन गरेका छन् । यस अवधिमा गत आ.व. को तुलनामा १००५ जना पर्यटकहरू न्यून देखिएको छ ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा ग¥यो र २० लाख पर्यटक भित्याउने योजना सार्वजनिक ग¥यो । भक्तपुर नगरपालिकाले भ्रमण वर्षलाई ध्यानमा राखेर चैत ४ देखि ८ सम्म भक्तपुर महोत्सव गर्ने निर्णय ग¥यो भने पर्यटकहरूको सुविधाको लागि नगरका महत्वपूर्ण स्थानहरूमा शौचालय निर्माण, सूचना केन्द्र, नगरको मूल सडकमा ढुङ्गा छपाइ, सम्पदाहरूमा बत्तीको व्यवस्था, सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माणजस्ता कामहरू गर्दै छ ।
६ वटा शिशु स्याहार, ६ वटा कलेज र १ वटा मावि सञ्चालन गर्दै आएको भक्तपुर नगरपालिकाले भविष्यमा आइपर्ने जनशक्तिको आवश्यकतालाई ध्यानमा राखेर इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृति पढ्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिका व्यवस्था गर्दै आएको छ । यस वर्षदेखि कानुन र चित्रकला विषयको अध्यापन सुरु भएको छ । गरिबीको कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले रु. ५ लाखसम्म शैक्षिक ऋण दिने व्यवस्था पनि गरेको छ । यो आर्थिक वर्षमा १०० जनाभन्दा बढीले उच्च शिक्षा पढ्न ऋण लिन निवेदन दर्ता गरेका छन् ।
जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले समय–समयमा पाठेघर, आँखा, आयुर्वेदिक वा वैकल्पिक चिकित्साको स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ ।
क्यान्सर, मृगौला रोग, मस्तिष्कघात, मुटु रोगजस्ता नसर्ने प्राणघातक रोगहरू नगरवासीहरूमा बढ्न थालेको पाइन्छ । नगरपालिकाले त्यस्ता रोग लागेका व्यक्तिलाई दस हजार (रु. १०,०००।–) का दरले आर्थिक सहयोग दिँदै आएको छ । यो आर्थिक वर्षको ५ महिनाको अवधिमा ८० जनाले आर्थिक सहयोग प्राप्त गरिसकेका छन् । घरदैलो नर्सिङ सेवालाई निरन्तरता दिँदै जनताको बढी सेवा गर्ने उद्देश्यले ख्वप अस्पताल निर्माणको थालनी गरेको छ । नेपालमै पहिलोपटक दमखोकीका बिरामीका लागि थेरापीबाट निको पार्ने छाती पुनःस्थापना केन्द्र भक्तपुरमा स्थापना गर्दै छौँ । हाल चिकित्सकहरूको तालिम चलिरहेको छ ।
२०७२ सालको भूकम्पले ११५ भन्दा बढी सम्पदामा क्षति पु¥याएकोमा हालसम्म जम्मा ९१ वटा सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेको छ भने डेढ दर्जनभन्दा बढी सम्पदाहरू निर्माणाधीन
अवस्थामा छन् । हामीले विदेशीको सहयोगविना मौलिक शैलीमा उपभोक्ता समितिमार्फत सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार गर्दै आएका छौँ । मौलिक शैलीमा सम्पदा पुनःनिर्माणको निम्ति आवश्यक जनशक्ति तयार गर्न डकर्मी, सिकर्मीलगायतको तालिम पनि दिंदै छौँ ।
भक्तपुर नगरपालिका वडा नं. ५ टौमढीस्थित भैरवनाथ मन्दिर जीर्णोद्धारको लागि रु. १ करोड ४६ लाख लगत इस्टिमेट भएकोमा उपभोक्ता समितिमार्फत काम गराउँदा करिब ५५ लाखमै सम्पन्न भयो । पाँच लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन भयो भने अब प्रसिद्ध ५ तले मन्दिर जीर्णोद्धार गर्दै छौँ ।
आर्थिक र प्राविधिक कारणले अझै पनि केही महत्वपूर्ण सम्पदाहरूको पुनःनिर्माण अगाडि बढ्न सकेको छैन । दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय भवन र लाल बैठकसहितको न्हयकं झ्य दरबार पुनःनिर्माणको काम बाँकी नै छ । पुरातत्व विभागले त्यो दरबार मल्लकालीन र राणाकालीन गरी फरक –फरक डिजाइनमा निर्माण गर्न खोजेकोमा नगरपालिकाले पुराना ऐतिहासिक दस्तावेजहरूको प्रमाणको आधारमा मल्लकालीन शैलीमै निर्माण गर्नुपर्नेमा जोड दियो र मिति २०७५÷४÷८ गते भक्तपुर नपा, संस्कृति मन्त्रालय र पुरातत्व विभागको संयुक्त बैठकले उक्त दरबार भनपाको अगुवाइमा मल्लकालीन शैलीमै उपभोक्ता समितिमार्फत बनाउने निर्णय ग¥यो । तर, हालसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन । पहिले नगरपालिका रहेको भवन, भूमिसुधार रहेको भवन यो आर्थिक वर्षमा निर्माणको तयारी गर्दै छौँ भने दत्तात्रयस्थित पुजारी मठ निर्माण गर्न बाँकी नै छ ।
नगर प्रवेश गर्ने हनुमन्त्ते खोलामा पुल निर्माण कार्यलाई पनि जोड दिँदै छौं । पुरानो पुल जीर्ण भएको हुँदा भनपा ५ र ७ को सिमानामा रहेको गय् भिंद्यो पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने भनपा ७ हनुमन्तेस्थित हनुमन्ते पुल (छिपा ताँ) निर्माण कार्य प्रारम्भ भएको छ ।
भनपा १ मा भाज्या पोखरी र सोही वडास्थित दसकौँ समयसम्म नेपाली सेनाको नियन्त्रणमा रहेको रानीपोखरी निर्माण तीव्रगतिमा भइरहेको छ । सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान पनि सेनासँगको सहमतिपछि तारबार लगाई नगरवासीहरूले उपभोग गर्न सुरु गरेका छन् ।
युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न चिनियाँ भाषा, जापानी भाषा, पाक शिक्षा, फोटोग्राफी, रेडियो प्रस्तोता, पथ प्रदर्शकलगायत विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएका छौँ भने किसानहरूलाई लक्षित गरी माटो परीक्षण, किटनासक औषधिको प्रयोग, बेमौसमी तरकारी खेती, पाँचमहिने कृषि प्राविधिक तालिम पनि सम्पन्न ग¥यौँ । यसबाट महिला, युवा र किसानहरू लाभान्वित भए ।
युवा र विद्यार्थीहरूलाई खेलकुदमा सक्रिय बनाउन समय–समयमा अन्तरविद्यालय खेलकुद प्रतियोगिता, अन्तरनगर खेलकुद प्रतियोगितालगायतका गतिविधिहरू सञ्चालन गर्दै छौँ । २०७६ कार्तिक १७–२३ गतेसम्म भएको अन्तरविद्यालय खेलकुद प्रतियोगितामा ७२ विद्यालयका २१०० खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाए । यही वर्ष फागुनको पहिलो हप्ता अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको तयारी गर्दै छौँ । नगरभित्र कुनै सङ्घ–संस्थाले कुनै पनि खेल प्रतियोगिता गरेमा खेलकुद नीतिअनुसार आर्थिक सहयोगको व्यवस्था मिलाएका छौँ ।
सबै उमेर समूहको लागि प्रत्येक वडामा शारीरिक व्यायाम गर्न व्यायामशालाको बन्दोबस्त गर्दै छौँ र कलेजहरूमा पनि राख्ने तयारी गर्दै छौँ ।
भक्तपुर क्यान्सर अस्पतालभित्र व्यवस्थापन समितिका सदस्यहरूले अस्पताल हाताभित्र निजी एक्सरे, औषधि पसल, प्रयोगशाला राख्न दिई मासिकरूपमा लाखौं आर्थिक अनियमितता गरिरहेको, र कर्मचारीहरूलाई श्रम शोषण गरिरहेको व्यापक प्रचारमा आएको तथा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीहरूले आर्थिक अनियमितताको छानबिन गरी नगरपालिकाले व्यवस्थापन हेर्न आग्रह गरेपछि २०७६ साउन ३० गते नगर प्रमुखको अध्यक्षतामा क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन गरी अगाडि बढेको छ । पुरानो व्यवस्थापन समितिका सदस्यहरूले सर्वोच्च अदालतमा रित दायर गरेको हुँदा हाल मुद्दा अदालतमा विचाराधीन छ ।
भक्तपुर नगरपालिकाले नगरको मौलिक स्वरुपलाई कायमै राख्न पुरानो शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई काठ, इँटा र झिङ्गटीमा लाग्ने खर्चको ३५ प्रतिशत अनुदानलाई चालू राखेको छ ।
कला र संस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ । परम्परागत संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न भक्तपुर नपाले प्रशिक्षणलाई जोड दिंदै छ । यसक्रममा संस्कृति संरक्षणका लागि निरन्तर लाग्नुभएका सांस्कृतिक गुरुहरूको पनि प्रत्येक वर्ष सम्मान गर्दै आएका छौँ ।
नयाँ बस्ती विकासको अवधारणाअनुसार नगरको उत्तरी क्षेत्रमा देको–मिवा–इटापाके आवास योजना १६५३ रोपनीमा सञ्चालनमा छ भने तुमचो दुगुरे चोखा आवास योजना अन्तिम चरणमा पुगेको छ ।
नगरको सफाइको निम्ति १५९ जना कर्मचारीहरू खटिरहेका छन् भने फरक–फरक दिनमा कुहिने र नकुहिने फोहर ट्राइसाइकलबाट सङ्कलनको व्यवस्था मिलाएका छौँ ।
जनताको स्वास्थ्यलाई ध्यानमा राखेर बजारमा बिक्री गर्ने खाद्य र अखाद्य वस्तु, मासु पसल, औषधि पसलजस्ता संवेदनशील ठाउँहरूमा बराबर अनुगमन गर्दै छौँ ।
भूकम्प पीडितहरूको घर निर्माणको लागि नगरपालिकाले माटो जोडाइमा १०० प्रतिशत र सिमेन्ट जोडाइमा ५० प्रतिशत छुटलाई निरन्तरता दिँदै आएको छ । भूकम्पबाट ८००० भन्दा बढी निजी घरहरू भत्केकोमा ६८८८ लाभग्राही सूचीमा दर्ता भएको थियो भने हालसम्म ५६३७ पहिलो किस्ता लिने र दोस्रो किस्ता लिने १६५१ र तेस्रो किस्ता लिनेको सङ्ख्या १५७२ रहेका छन् । पुनःनिर्माण प्राधिकरणले दोस्रो किस्ता २०७७ साल वैशाख मसान्तभित्र र तेस्रो किस्ता लिने असार मसान्तसम्म लिइसक्नुपर्ने सूचना दिएको छ । भूकम्प पीडितहरूको लागि दोस्रो र तेस्रो किस्ता एकमुष्ट दिनुपर्ने र अनुदान रकम वृद्धि गर्नुपर्नेमा जोड दिंदै आएका छौँ ।
नगरवासीहरूको खानेपानीको समस्यालाई ध्यानमा राखेर काठमाडौंँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरी नगरका विभिन्न ठाउँमा डिप बोरिङको काम हुँदै छ । आकासे पानी सङ्कलनलाई पनि जोड दिंदै छौँ ।
नगरमा हरियाली प्रवद्र्धनको लागि सडक किनारामा रुखहरू रोप्ने, दरबार क्षेत्र र टौमढी क्षेत्रजस्ता सम्पदाहरूमा विभिन्न जातका फूलहरूसहितको गमला राख्ने तथा ठाउँ ठाउँमा स्तरीय शौचालय निर्माणको क्रम चालू छ ।
भक्तपुरको जनजीवन र संस्कृति झल्किने सङ्ग्रहालय निर्माणमा पनि नगरपालिका जुटिरहेको छ ।
भक्तपुर शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खेलकुदलगायतको क्षेत्रमा नमुना बन्दै गइरहेको छ । हामीले गरेका हरेक काम देशभरका जनताले हेरिरहेका छन् । यस्तो अवस्थामा हामी अझै जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता छ । जनता, जनप्रतिनिधि र कर्मचारीहरूको संयुुक्त प्रयासले थप सफलताहरू हासिल हुँदै जाने हाम्रो विश्वास छ ।
(भक्तपुर नगरपालिकको ७० औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित मार्गनिर्देशन तथा पुरस्कार वितरण कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)
Leave a Reply