भर्खरै :

भारतमा व्यापक बन्दै जनआन्दोलन, सरकार दमनमा

नयाँ दिल्ली, ३ पुस । भारतको सदनबाट हालै पारित नागरिकता संशोधन ऐन, २०१९ को विरोधमा चालू आन्दोलनले व्यापक बन्दै छ । विरोध प्रदर्शनमा सहभागी सयौँ प्रदर्शनकारीलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको छ । दिल्लीमा भारतीय कम्युनिस्ट पार्टीका महासचिव डी राजा, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी, नेता प्रकाश करात, नेतृ ब्रिन्दा करात वरिष्ठ अधिवक्ता प्रशान्त भुषण, सामाजिक अभियन्ता हर्ष मन्दर, विद्वान योगेन्द्र यादवलाई प्रहरीले गिरफ्तार गरेको छ । भारतीय संविधानको धारा १४४ को आधारमा दिल्ली प्रहरीले लालकिल्ला र मन्दी गृहमा निषेधाज्ञा जारी गरेको थियो । तर, हजारौँको सङ्ख्यामा विद्यार्थी र अभियन्ताहरूले नागरिकता संशोधन ऐन र जामिया मिल्लिया इस्लामिया क्याम्पस तथा अलिगढ विश्वविद्यालयमा भएको प्रहरी दमनको विरोधमा निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन कमजोर बनाउन सरकारले राजधानी दिल्लीमै चार घन्टा फोन र इन्टरनेट सेवा अवरूद्ध गरेको थियो । बिहीबार दिल्लीका बीस वटा प्रमुख रेलमार्ग बन्द भएका थिए ।
उत्तर प्रदेश र कर्णाटकमा पनि प्रदर्शनले विभिन्न प्रमुख स्थानमा निषेधाज्ञा जारी गरेको थियो । उत्तर प्रदेशको समभाल जिल्लामा प्रदर्शन रोक्न इन्टरनेट सेवासमेत अवरूद्ध गरिएको थियो । त्यहाँ प्रदर्शनकारीहरूले राज्यनियन्त्रित सवारी साधनमा आगजनी गरेका थिए ।
बङ्गलुरूमा इतिहासकार तथा लेखक रामचन्द्र गुहा, अभियन्ता गीता मेननलगायत दुई सय जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको थियो । सरकारले निषेधाज्ञा जारी गरेको टाउन हलबाट उनीहरूलाई पक्राउ गरेको थियो । इतिहासकार गुहाले शान्तिपूर्ण प्रदर्शनमाथि निषेध गर्नु ‘पूर्णतः अप्रजातान्त्रिक’ भएको भन्दै प्रहरी दमनको भत्र्सना गरे । बिहीबार बिहानै त्यहाँको टाउन हलबाटै राष्ट्रिय कानुन विश्वविद्यालयका तीसभन्दा बढी विद्यार्थी पक्राउ गरिएको थियो ।
तटीय सहर मङ्गलुरू सहरमा प्रहरीले प्रदर्शनकारी जनतामाथि गोली चलाएको थियो ।

मोदी सरकारले संसद्बाट पारित गरेको नागरिकता संशोधन ऐनको विरोधमा भारतका कलाकार र लेखकहरूले भत्र्सना गरेका छन् । उनीहरूले ऐनको विरोधमा प्रदर्शनमा उत्रेका जनतामाथि सरकारले गरेको दमनप्रति खेद प्रकट गरेका छन् । चलचित्र निर्देशक अर्पणा सेन, कलाकार कौसिक सेन र ऋद्धि सेनले ऐनविरोधी जुलुसमै सहभागी बनी नाराबाजी गरेका थिए ।

अहमदावाद सहरमा भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको थियो । हैदराबादस्थित प्रदर्शनी मैदान जाने बाटोमा विश्वविद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शनमा धेरै सङ्ख्यामा प्रदर्शनकारी गिरफ्तारीमा परेका थिए । पूर्वघोषित प्रदर्शन गर्न सरकारले रोकेको थियो । विहारमा विभिन्न वामपन्थी दलहरूले संयुक्तरूपमा आयोजना गरेको बन्दका कारण त्यहाँको रेल तथा सडक यातायात प्रभावित भएको थियो । वामपन्थी दलसम्बद्ध अखिल भारत विद्यार्थी महासङ्घ र अखिल भारत विद्यार्थी सङ्गठनका विद्यार्थीहरू बिहान सबेरै रेल यातायात अवरूद्ध गर्न राजेन्द्रनगर रेलस्टेसनमा धर्ना बसेका थिए । कोलकोत्ता र मुम्बई सहरमा भएको प्रदर्शन भने तुलनात्मकरूपमा शान्तिपूर्ण थिए ।
लेखक र कलाकारको विरोध
मोदी सरकारले संसद्बाट पारित गरेको नागरिकता संशोधन ऐनको विरोधमा भारतका कलाकार र लेखकहरूले भत्र्सना गरेका छन् । उनीहरूले ऐनको विरोधमा प्रदर्शनमा उत्रेका जनतामाथि सरकारले गरेको दमनप्रति खेद प्रकट गरेका छन् । चलचित्र निर्देशक अर्पणा सेन, कलाकार कौसिक सेन र ऋद्धि सेनले ऐनविरोधी जुलुसमै सहभागी बनी नाराबाजी गरेका थिए ।
“हामी एक ठाउँमा छौँ । भारतको धर्मनिरपेक्षता र बहुलवादी चरित्रको विशेषता भत्काउन खोज्ने कसैको पनि प्रयासलाई सफल हुन दिनुहुन्न । हामी चुप लागेर बस्न सक्दैनौँ”, अर्पणाले भनिन् ।
उनीहरूले इतिहासकार रामचन्द्र गुहाको गिरफ्तारीप्रति खेद प्रकट गरे ।
भारतका चर्चित लेखिका अरून्धती रोयले नागरिकता संशोधन ऐनको विरोधमा भारत एक भएर उठेको बताएकी छिन् । मोदी सरकारलाई चुनौती दिँदै उनले यसपटक भारतीय जनता नरोकिने बताइन् ।
उनले भनिन्, “भारत एक ठाउँमा उभिएको छ । यो सरकार पूरै उदाङ्गिइसकेको छ । अब यसको विश्वसनीयता बाँकी छैन । यो समय प्रेम र एकता मिलाएर कट्टरता र फासीवादीलाई हराउने समय हो ।
असंवैधानिक नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिक पञ्जीकरण कार्यक्रम (एनआरसी) को विरोधमा जोकोही एक साथ उभिएका छन् ।”
“हामी दलित, मुस्लिम, हिन्दू, इसाई, सिख, आदिवासी, माक्र्सवादी, अम्बेडकरवादी, किसान, मजदुर, शिक्षक, लेखक, कवि, चित्रकार र सबैभन्दा बढी यो देशका भविष्य विद्यार्थीहरू यो पटक रोकिने पक्षमा छैनन्”, रोयले भनिन् ।
अभिनेता सुशान्त सिंहले आफू नागरिकता संशोधन ऐनको विरोधमा उभिएकोले नै आफूलाई ‘सावधान इन्डिया’ नामको टीभी सोबाट निकालिएको भनी ट्वीट गरे । त्यस्तै उर्दु लेखक र व्यङ्ग्यकार मुज्तबा हुसेनले विभेदकारी नागरिकता ऐनको विरोधमा आफूलाई पुरस्कृत पद्म भुषण सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् ।
उनले भने, “पहिलेका नेता राजनेता हुन्थे । आजको अवस्था त्यस्तो छैन । म आजको अवस्थाप्रति खुसी छैन । एक जना नागरिकको रूपमा म देश खुसी भएको देखिरहेको छैन । भीडले मान्छे मारिरहेको छ । बलात्कारका घटना भइरहेका छन् । आपराधिक गतिविधि दैनिक भइरहेको छ ।”
अभिनेत्री सवाना आज्मीले गीतकार एवम् कवि जाबेद अख्तरको मार्मिक कविताका पङ्क्ति वाचन गर्दै आन्दोलनकारीप्रति ऐक्यबद्धता व्यक्त गरिन् । उनले आफू भौतिकरूपमा भारतमा नभए पनि आन्दोलनमा समर्थन व्यक्त गरिन् ।
कन्हैया कुमारको चुनौती
भारतीय कम्युनिस्ट पार्टीका नेता तथा चर्चित पूर्वविद्यार्थी नेता कन्हैया कुमारले विहारको पूर्णियामा आयोजित नागरिकता संशोधन ऐनविरोधी सभामा मोदी सरकारलाई चुनौती दिँदै भने, “तिमीसँग संसदमा बहुमत हुनसक्छ । हामीसँग सडकमा बहुमत छ । हामी सावरकरको सपना होइन, भगत सिंह र अम्बेडकरले देखेको सपनाको भारत बनाउन चाहन्छौँ ।”
उनले भने, “यदि तिमी हामीलाई नागरिक मान्दैनौँ भने हामी पनि तिमीलाई सरकार मान्न सक्दैनौँ ।”
कन्हैयाले एनआरसीको नतिजाप्रति सतर्क रहन सबैलाई आग्रह गर्दै यो मुद्दा हिन्दू र मुसलमानको मुद्दा नभई संविधानसँग जोडिएको विषय भएको बताए । उनले भारतीय संविधानलाई दुषित हुनबाट जोगाउने दायित्व भारतीय जनताको भएको बताए ।
नागरिकता संशोधन विधेयकले लामो समयदेखि भारतमा अवैधरूपमा बस्दै आएका अफगानिस्तान, पाकिस्तान र बङ्गादेशका हिन्दू, बौद्ध, जैन, पारसी, इसाई धर्मावलम्बीलाई नागरिकता दिने व्यवस्था गरेको छ । तर, मुसलमान आप्रवासीलाई भने सो ऐनले नागरिकता दिने छैन । धर्मलाई नागरिकता दिने सो प्रावधान भारतीय संविधानको भावनाविपरीत भएको अहिले आन्दोलनरत पक्षको भनाइ हो । यसले भारतीय समाजलाई अझ विभाजित र साम्प्रदायिक बनाउने आन्दोलनकारी पक्षले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *