भर्खरै :

भारतको नागरिक आन्दोलनः के होला के नहोला ?

इस्पिता चक्रवर्ती
गत साताबाट भारतमा चर्केको नागरिकता संशोधन ऐनविरोधी आन्दोलनमा धेरै प्रकारका नारा लागेका छन् । तीमध्ये एउटा नारा हो–‘आवाज दिऔंै–हामी सबै एक होऔं ¤’ तर, यो नाराको ‘हामी’ र ‘एक’ भित्र धेरै थरी धारा लुकेका छन् ।
यो नारा डिसेम्बर १९ को दिन कोलकोत्ता सहरमा भएको प्रदर्शनमा सुनिएको थियो । प्रदर्शनकारीले नाराबाजी गर्दै गर्दा सवारी जाममा फसेका सवारी चालकहरू भने रिसले आगो थिए । केही दिनअघि दिल्लीको इन्डिया गेटनजिकै पनि यस्तै नारा सुनिएको थियो । त्यो विरोध प्रदर्शनका एक जना सहभागीले प्रदर्शनलाई ‘जुझारु, अव्यवस्थित र नेतृत्वविहीन’ भनी व्याख्या गरे ।
त्रिणमुल काङ्ग्रेस, काङ्ग्रेस र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) ले आफ्नो आयोजनामा केही विरोध प्रदर्शन गरे । चन्द्रशेखर आजाद नेतृत्वको भीम सेनाले डिसेम्बर २० को दिन दिल्लीको जामिया मस्जिदबाहिर विशाल प्रदर्शनको आयोजना ग¥यो । तर, भारतको दलीय राजनीति व्यवस्थासँग अहिलेको आन्दोलनको रूपरेखा मिल्दो छैन । अहिलेको आन्दोलन दलगत आन्दोलनभन्दा विभेदकारी नागरिकता कानुनविरुद्धको नागरिक आन्दोलन हो ।
अफगानिस्तान, पाकिस्तान र बङ्गलादेशबाट अवैधरूपमा भारतमा बस्दै आएका गैर मुसलमानहरूलाई नागरिकता दिने कानुनले भारतभरिका टुक्राटुक्रामा छरिएका समूहलाई एकै ठाउँमा ल्याएको छ । अहिले मुसलमानहरू नागरिकको हैसियतमा समान व्यवहारको लागि लडिरहेका छन् । उत्तरपूर्वी राज्यहरूका आदिबासीहरू अवैध आप्रवासीलाई पनि नागरिकता दिंदा आफू अझ बढी सीमान्तकृत हुने डर मानिरहेका छन् । विद्यार्थीहरू भने धार्मिक र जातीय सीमा नाघेर धर्मको आधारमा नागरिकता दिने कानुनप्रति असहमति जनाउँदै विरोधमा उत्रेका छन् ।
अति विकृत सहरिया उदारपन्थी, सबै गीत र नारा कण्ठस्थ भएका ढुलमुले प्राध्यापक र अभियन्ताहरूका साथै विभिन्न पेशा व्यवसायमा संलग्न युवा पेशाकर्मीहरू पनि यो आन्दोलनमा कसेर लागेका छन् ।
धेरै ठाउँहरू, विशेषतः सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले शासन गरिरहेका प्रान्तमा प्रशासनले विरोध प्रदर्शनमाथि रोक लगाएर इन्टरनेट बन्द गरे र धरपकड गरे । विरोध प्रदर्शन हिंसात्मक भएको नेताहरूको दाबी सही हो । कतिपय ठाउँमा प्रदर्शन हिंसात्मक पनि बनेको हो । तर, राज्यशक्तिले हिंसाको दुरुपयोग गरेको प्रमाण पनि छन् । उत्तर प्रदेश, आसाम, कर्णाटकमा प्रदर्शनकारीहरू मारिएका छन् । जामिया मिलिया इस्मालिया र अलिगढ मुस्लिम विश्वविद्यालयमा विद्यार्थीहरूको हात–खुट्टा भचिएको छ ।
सरकारलाई सबभन्दा पोल्ने कुरा के हो भने अधिकांश प्रदर्शनकारीले सरकारले नबुझ्ने भाषा बोलिरहेका छन् । जनताले प्रदर्शन गरिरहेका छन्, प्रदर्शनमा गीत गाइरहेका छन्, नारा लगाइरहेका छन्, पोस्टरमा व्यङ्ग्यको झटारो हानिरहेको, खाना वितरण गरे ।
दमनमा उत्रेको सरकारसमक्ष विरोधको भाषा बोल्नुको अर्थ के हुन सक्छ ? जनताको प्रदर्शनले के वास्तवमा राजनीतिक परिवर्तन गर्न सम्भव होला ?
डिसेम्बर १९
गत सातादेखि भएका प्रदर्शनमा दसकौं पहिलेको स्वतन्त्रता आन्दोलनको सन्दर्भ चर्चा गरियो । डिसेम्बर १९ को दिन भारतभरि व्यापक र समन्वयात्मक प्रदर्शन भयो । सन् १९२७ को त्यही दिन अस्फकुल्लाह खान, रोशन सिंह र रामप्रसाद विसमिललाई फासी दिइएको थियो ।
उनीहरू हिन्दुस्तान रिपब्लिक एसोसिएसन (पछि हिन्दुस्तान रिपब्लिकन सोसिएलिस्ट एसोसिएसन) का सदस्य थिए । उनीहरूलाई काकोरी रेल डकैती काण्ड वापत सजाय गरिएको थियो । केही मानिस बेलायती शासनविरुद्ध विद्रोह गर्न आवश्यक हतियार किन्न त्यो डकैती गरिएको भन्छन् । केही भने समाजवादी साहित्य प्रकाशन र वितरणको लागि आवश्यक पैसा जुटाउन डकैती गरिएको बताउँछन् । जे गर्न भए पनि त्यत्तिबेलाको विभाजनकारी सरकारविरुद्ध हिन्दु र मुसलमानबीच एकताको त्यो काण्ड एउटा उदाहरण थियो । भारतको आजको परिस्थितिमा त्यो एकता सान्दर्भिक भएको धेरैले महसुस गरेका छन् ।
हिजोआज भारतमा चर्चा गरिने अर्का व्यक्ति हुन्, अम्बेडकर । उनले आफ्नो जीवनकालमा गरेका धेरै विद्रोही काममध्ये सन् १९२७ को महद सत्याग्रह पनि थियो । महाराष्ट्रको एउटा सार्वजनिक पानी ट्याङ्कीबाट दलितलाई पानी प्रयोग गर्न लगाउने र जातीय व्यवस्था लेखिएको ‘मनुस्मृति’ जलाउने जस्ता काम गरेर उनले विद्रोह गरेका थिए । अनि सत्याग्रह र असहयोगका सिद्धान्तकार गान्धीले विरोधका गतिविधिलाई नै दर्शनमा रूपान्तरण गरेका थिए । उनको त्यो शैलीले सरकार र प्रदर्शनकारी दुवैलाई नैतिक सिमानामा बस्न लगाउँछ ।
गान्धीको शान्तिपूर्ण प्रतिरोधको शैलीले उत्पीडक शासकभित्र पनि चेतनालाई झकझकाउँछ । भारत र पाकिस्तान विभाजनताका भएको उपद्रव र साम्प्रदायिक हिंसाविरुद्ध उनको अनसन तत्कालीन राजनीतिक स्वार्थ पूरा गर्न होइन, राजनीतिमा शुद्धिकरण र नैतिकताको लागि थियो ।
हजारौँ विद्रोह
भारत स्वतन्त्र बनेपछि एउटा अपूर्ण तथा गहिरो असमानता व्याप्त भएको गणतन्त्रमा धेरै थरी विरोधका आवाज सुनिए । किसान आन्दोलन, मजदुर आन्दोलन, भाषा आन्दोलन, जातीय आन्दोलन, आदिबासी आन्दोलन आदि आन्दोलन । ती सबै आन्दोलनले आ–आफ्ना दाबी प्रस्तुत गरे । कति आन्दोलन अपुरो रहे । कति सम्झौतामा टुङ्गिए अनि कति दबाइए । तीमध्ये केही आन्दोलनले मात्र दिल्लीको सरकारसम्म हलाउन सफल भयो ।
भारतको आजको परिस्थितिलाई इन्दिरा गान्धीको अधिनायकवादी शासनविरुद्ध भएको विद्यार्थी आन्दोलनसँग पनि तुलना गरिएको छ । (यद्यपि त्यो आन्दोलन भारतका सबै ठाउँमा पुग्न सकेको थिएन) जयप्रकाश नारायणले बिहारमा गरेको समाजवादी विद्रोहले राज्यको निर्मम दमनलाई चुनौती दिएको थियो । गुजरातको भ्रष्टाचारविरोधी नवनिर्माण आन्दोलनले सन् १९७४ मा गुजरात सरकार ढाल्यो र राष्ट्रपति शासन ल्यायो । यी दुवै आन्दोलनले सड्ढटकालको लागि बाटो खोल्यो । साथै काङ्ग्रेसको विकल्पमा अरु राजनीतिक दल स्थापना हुने अवस्था बन्यो ।
अहिले चालू आन्दोलन अघिल्लो दसक युनाइटेड प्रोग्रेसिभ एलाइन्स ढाल्न भएको आन्दोलनको प्रष्ट उत्तराधिकारी हुन सक्छ । अघिल्लो दसक एक पछि अर्को भ्रष्टाचार काण्डले गान्धी शैलीको आन्दोलनका पक्षपाती अन्ना हजारीको भ्रष्टाचारविरोधी आन्दोलनलाई व्यापकता दियो । सन् २०१२ को डिसेम्बर १६ मा दिल्लीमा एक जना युवतीको बलात्कार पछि हत्या भयो । त्यसको विरोधमा ठूलो आन्दोलन भयो । तर, केन्द्र सरकारले त्यो आन्दोलनप्रति खास प्रतिक्रिया जनाएन । दुवै आन्दोलन यथास्थितिविरुद्धको आन्दोलन थियो । जसले राजनीतिक र लिङ्गीय सत्तालाई चुनौती दिएको थियो । सत्ताप्रति यस्ता चुनौतीको मुल ध्येय प्रगतिशीलभन्दा प्रतिगामी पनि हुन सक्थ्यो । सन् १९७० दसकमा गुजरातमा भएको भ्रष्टाचारविरोधी आन्दोलनमार्फत राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस)का धेरै नेताले आफ्नो राजनीतिक वृत्ति बनाए । यसको एउटा उदाहरण त आरएसएसका तत्कालीन परिचालक नरेन्द्र मोदी हुन् । पछिल्ला दसकमा भारतमा भएका आन्दोलनले न्याय र प्रणालीगत सुधारको माग ग¥यो । तर, ती आन्दोलनले शक्तिशाली मानिसमा भोक जगाउने काममात्र ग¥यो ।
आजादीको नारा
आज प्रदर्शनकारीहरू ती शक्तिशाली मानिसको छेउमा उभिएका छन् । उनीहरूले भारतीय गणतन्त्रको पुनः आविस्कार गर्न खोजिरहेका छन् । उनीहरू स्वतन्त्रता आन्दोलनको पुनः माग गरिरहेका छन् । उनीहरू आजादीको नारालाई ब्युताइरहेका छन् ।
आजादीको नारा सबभन्दा पहिले सन् २०१६ मा चर्चित बनेको थियो । जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी युनियनका सभापति कन्हैया कुमारले हिरासतबाट फर्किए पछि यो नारा लगाएका थिए । उनलाई देशद्रोहको अभियोगमा पक्राउ गरिएको थियो । मानिसहरू भोक, साम्प्रदायिकता, धार्मिक विभाजन, सङ्घको विचारधाराबाट आजादीको नारा लगाइरहेका छन् ।
यो समावेशी परिकल्पनाको पनि आफ्नै सीमितता छ । यो ‘आजादी’ को नारामा विगत तीन दसकदेखि आजादीको नारा लगाइरहेका काश्मिरीहरू समावेश नहोलान् । विगत पाँच महिनादेखि काश्मिरीहरू इन्टरनेट बन्दको सामना गरिरहेका छन् । उनीहरू आफ्नो स्वायत्तताको अधिकार खोस्ने केन्द्र सरकारको एकपक्षीय निर्णयविरुद्ध प्रदर्शन पनि गर्न स्वतन्त्र छैनन् । आज कास्मिरलाई दिल्ली सरकारले जबरजस्ती दुई भागमा विभाजन गरेको छ । स्वतन्त्रको नारा लगाएर आन्दोलनमा उत्रेका नागरिकहरूको प्रदर्शनको आगामी दिनको दायरा अझ फराकिलो हुनेछ ।
तर, के यी प्रदर्शनले पारित भइसकेको कानुन परिवर्तन गर्न वा राज्यले नरुचाएका मानिसलाई अनागरिक बनाउन सक्ने व्यवस्था खारेज गर्न सक्ला ? भारतीय जनता पार्टीको प्रान्तीय सरकार भएका क्षेत्रमा अहिले उपनिवेशकाल सम्झाउने दमन भइरहेको छ । आधारभूत अधिकार खारेज गरिएको छ ।
भोलि परिणाम जे आउला । तर, अहिलेको यो नागरिक आन्दोलनले केही महत्वपूर्ण भिन्नता भने अवश्यक ल्याउनेछ । यो आन्दोलनले पछिल्लो छ वर्षमा जमेको खतरनाक चिन्तन–‘भारत मुसलमानहरूको स्वाभाविक घर होइन, धर्मनिरपेक्ष राष्ट्र भनेको झटूो कथामात्र हो, भारतमा राजनीतिक र सामाजिक सम्बन्ध धर्मको आधारमा विभाजन गरिनुपर्छ’ लाई चुनौती दिएको छ । राज्यले व्यक्तिका अधिकार र स्वतन्त्रतालाई बिस्तारै चपाउन थालेको छ । अहिलेको आन्दोलनले यो वास्तविकता उजागर गरिदिएको छ । सरकार वा सत्तारुढ दललाई प्रश्न गर्नु राष्ट्रविरोधी हुने विचारलाई यो आन्दोलनमार्फत अस्वीकृत गरेको छ ।
प्रदर्शनकारीहरू आज यस्ता प्रश्न गर्दै भनिरहेका छन्–हामी एक होआंै ।
स्रोतःस्क्रोल डट इन
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *