भर्खरै :

हुँदैन घटाउन सिमेन्टको गुणस्तर

ई. राजदास श्रेष्ठ
केही दिनअघि कान्तिपुर दैनिकमा एउटा समाचार छापियो सिमेन्टको गुणस्तर घटाउन गुपचुप निर्देशन भनेर । समाचारको शीर्षक देख्नेबित्तिकै कन्चट तातियो र तत्काल फेसबुकमा एउटा कविताको रूपमा आफ्नो विमति पोखेँ यो विषयमा ।
फेसबुकमा धेरै मित्रहरूले मेरो कुरालाई समर्थन गरे भने एक दुईजनाले प्रतिक्रिया पनि दिए यो निर्णय राम्रो होइन भनेर । यसै सिलसिलामा स्थानीय ‘लावण्य सन्देश’ पत्रिकाका सम्पादक भाई पवनलाल श्रेष्ठसँग कुरा हुँदा यसको बारेमा विस्तृत जानकारी हुने गरी केही कुरा लेख्नुप¥यो दाइ भनेको हुनाले सिमेन्ट र सिमेन्टको गुणस्तरबारे आफूले जाने बुझेका केही कुरा यहाँ लेख्दै छु ।
सिमेन्ट के हो ?
घर, भवन तथा ठूल्ठूला ड्याम र पुलहरू बनाउँदा प्रयोग हुने आधुनिक प्रविधिबाट बनेको माटो र चुनजस्तो एक प्रकारको जोडनी गर्ने निर्माण सामग्री हो सिमेन्ट ।
सिमेन्ट माटो र चुन ढुङ्गा भन्ने एक प्रकारको ढुङ्गाको समिश्रणलाई उच्च तापक्रम (११ सय १२ सय डिग्री सेन्टिगे्रड) मा पोलेर मसिनु धुलो गरी पिसेर बनाइन्छ । यसरी सिमेन्ट बनाउने चुनढुङ्गामा प्रचुर मात्रामा क्याल्सियम भन्ने रसायनिक पदार्थ भएको हुन्छ र प्राकृतिकरूपमा म्याग्नेसियम भन्ने अर्को एक रसायनिक पदार्थ पनि मिसिएको हुन्छ । चुनढुङ्गामा प्रचुर मात्रामा क्याल्सियम तत्व हुनु आवश्यक छ भने म्याग्नेसियमको मात्रा हानिकारक छ । सिमेन्टमा म्याग्नेसियम तत्वको उपस्थिति मन्द विषसरह हो । यसले सिमेन्टबाट बनाइएका भौतिक संरचनाहरूलाई विस्तारै विस्तारै चर्काउँदै कालान्तरमा ध्वस्त नै बनाउन सक्छ ।
त्यसकारण वैज्ञानिक अनुसन्धानकर्ताहरूले सिमेन्टमा म्याग्नेसियमको उपस्थितिको मापदण्ड तोकिएको छ । साधारण पोर्टलैन्ड सिमेन्टमा यसको उपस्थिति ५ प्रतिशतभन्दा बढी हुनुहुँदैन ।
देश विदेशका वैज्ञानिकहरूले धेरै अध्ययन अनुसन्धान गरिकन तोकिएको मापदण्डविपरीत हाम्रो देशमा म्याग्नेसियम र अघुलन पदार्थहरूको बढी प्रयोग गरी सिमेन्ट उत्पादन गर्न दिने भन्ने कुरा अत्यन्त हानिकारक छ । यसले कालान्तरमा देशमा निर्मित ठूलठूला भवन, जलविद्युत्मा निर्माण हुने ड्याम र पुलहरूमा क्षति पु¥याई ठूलो जनधनको क्षति हुने प्रवल सम्भावना हुनसक्छ ।
यस प्रकारको देश र जनताको हितविपरीत हुने गरी सिमेन्टको गुणस्तर घटाई उत्पादन गर्न दिने खालको निर्णयको सर्वत्र विरोध हुनुपर्दछ ।
के हो सिमेन्टमा अघुलनशील पदार्थ भनेको
सिमेन्ट कारखानामा सिमेन्ट उत्पादकहरूले आफ्नो उत्पादन खर्च कम गर्न विभिन्न तरिका अपनाएका हुन्छन् ।
१. सिमेन्ट उत्पादनमा अघि भनिएजस्तै मापदण्डमा निर्धारण गरिएभन्दा बढी म्याग्नेसियमयुक्त चुनढुङ्गाको प्रयोग गर्ने ।
२. नेपालमा सिमेन्ट र चुन उत्पादनको लागि प्रचुरमात्रामा चुनढुङ्गा पाइन्छ । पूर्वमा उदयपुरदेखि पश्चिममा सुर्खेतसम्म फैलिएको महाभारत पर्वतहरू प्रायः सबै चुनढुङ्गा र डोलोमाइट भन्ने ढुङ्गाबाट बनेका छन् । चुनढुङ्गामा क्याल्सियमको मात्रा अत्यधिक छ र किञ्चितमात्र म्याग्नेसियम छ भने त्यो ढुङ्गालाई चुनढुङ्गा १ लाइमस्टोन भनिन्छ ।
यसप्रकारको ढुङ्गा चुन र सिमेन्ट उत्पादनको लागि उपयोग गर्न सकिन्छ ।
तर क्याल्सियम र म्याग्नेसियमको भाग लगभग उति उति नै भयो भने त्यस ढुङ्गालाई डोलोमाइट भनिन्छ । क्याल्सियम थोरै मात्रा तर म्याग्नेसियमको भाग धेरै मात्रा भयो भने त्यस प्रकारको ढुङ्गालाई म्याग्नेसाइट भनिन्छ ।
महाभारत पर्वत श्रृङ्खलामा सिमेन्ट र चुन उत्पादन गर्न लायकको चुनढुङ्गा ठाउँ – ठाउँमा यथेष्ट पाइन्छ भने म्याग्नेसियम मिसिएको ढुङ्गा खानीहरू पनि उत्तिकै पाइन्छ । राम्रो खालको चुनढुङ्गा पाइने स्थानहरूमध्ये सबैभन्दा ठूलो खानी भएको ठाउँ हो नेपालको पूर्वी भागमा रहेको उदयपुर जिल्लाको चुनढुङ्गा खानी । सोही ढुङ्गा खानीको आधारमा हाल नेपालको एउटा ठूलो सिमेन्ट कारखाना उदयपुर सिमेन्ट कारखाना चलिरहेको छ ।
राम्रो चुनढुङ्गा भएको अर्को स्थान हो धादिङ जिल्लाको जोगिमारा । जोगिमारामा धेरै वर्ष पहिलेदेखि चुन पोत्ने उद्योग सञ्चालनमा आइरहेको छ । धादिङ जिल्लाको उक्त चुन ढुङ्गा हेटौँडा सिमेन्ट कारखानाले पनि लाने गर्दथ्यो ।
हेटौँडामा पाइने चुनढुङ्गाको गुणस्तर अलि कम भएकोले राम्रो क्याल्सियमयुक्त जोगीमाराको चुनढुङ्गा लगेर मिसाउने गर्दथ्यो हेटौँडा सिमेन्ट कारखानामा । सिमेन्टको गुणस्तर कायम गर्न यसरी विभिन्न ठाउँको चुनढुङ्गा मिसाएर काम लिइन्थ्यो भने सिमेन्ट उत्पादनको लागि आवश्यक माटो पनि उच्च गुणस्तरको प्रयोग गरिन्थ्यो ।
काठमाडौँको चोभारस्थित त्यसबेलाको हिमाल सिमेन्ट कारखानाले चोभार डाँडाको चुनढुङ्गा प्रयोग गर्दथ्यो भने पाँचखालबाट ल्याएर रातोमाटोको प्रयोग हुन्थ्यो । रातोमाटोको प्रयोग गर्नुको कारण त्यसमा बढी फलामको तत्व हुने भएकोले हो । सिमेन्ट उत्पादनको लागि क्याल्सियम तत्वबाहेक फलाम, सिलिका (बालुवा) र आलमुनियम तत्वको पनि आवश्यकता पर्दछ । क्याल्सियम तत्व चुनढुङ्गाबाट लिइन्छ भने बालुवा, फलाम र आलमुनियमको भाग रातोमाटोबाट लिइन्छ । त्यसकारण सिमेन्ट उत्पादनको लागि फलामयुक्त रातोमाटोको साथमा क्याल्सियमयुक्त चुनढुङ्गाको प्रयोग हुनुपर्दछ ।
तर नेपालमा क्याल्सियमयुक्त चुनढुङ्गाभन्दा बढी म्याग्नेसियम मिसिएको चुनढुङ्गा पाइने भएको हुनाले सिमेन्ट उत्पादकहरूले आफ्नो उत्पादन खर्च कम गर्न बढी म्याग्नेसियमयुक्त चुन ढुङ्गा प्रयोग गर्न खोज्नु व्यापारिक ट्रिक (पोलिसी) हो । यसले उनीहरूको लागत खर्च कम भएर नाफाको मात्रा धेरै हुन जान्छ ।
तर सिमेन्टको गुणस्तर धेरै खस्किन्छ । यो ठूल्ठूला भौतिक संरचनाको लागि प्राणघातक पनि हुनसक्छ । त्यसकारण कुनै पनि हालतमा सिमेन्टमा म्याग्नेसियमको भाग बढाएर गुणस्तरमा ¥हास ल्याउने प्रवृत्तिलाई रोक्नुपर्छ । विज्ञान र प्रविधिले गरेको उपलब्धिमाथि हेलचेक्र्याइँ गर्न हुँदैन ।
म्याग्नेसियमबाहेक सिमेन्टको गुणस्तरमा अघुलनशील पदार्थहरूको मिश्रणबाट पनि ठूलो प्रभाव पारेको हुन्छ ।
अघुलनशील पदार्थहरू भनेको सिमेन्टमा मिसाउने खरानीजन्य पदार्थ र मसिनु गरी पिसिएको सिमेन्ट रङ्गकै ढुङ्गाको पाउडर (धुलो) हो ।
साधारण (नर्मल) पोर्टलैन्ड सिमेन्टमा निश्चित मात्रामा खरानीजन्य पदार्थ (यसलाई प्रोज्वलाना भनिन्छ) मिसाएर पोर्टलैन्ड प्रोज्वलाना सिमेन्ट पीपीसी बनाइन्छ । यो नेपालमा मात्र होइन विश्वव्यापीरूपमा चलनमा छ । तर, त्यसरी मिसाईने प्रोज्वलाना पदार्थको गुणस्तर पनि कायम हुनुपर्छ र गुणस्तरको आधारमा मिसाउने प्रतिशतमा पनि कन्ट्रोल हुनुपर्छ अन्यथा यस प्रकारको मिसावटले सिमेन्टको गुणस्तरमा ¥हास ल्याउन सक्छ र ठूल ठूला भौतिक संरचनामा ठूलो हानी नोक्सानी पु¥याउन सक्छन् ।
कुनै पनि हिसाबले सिमेन्टमा म्याग्नेसियमको उपस्थिति बढाएर कम गुणस्तरको सिमेन्ट उत्पादन गर्ने नीति नियम लागू गर्नुहुँदैन र अघुलनशील पदार्थहरूको प्रयोगमा पनि नियन्त्रण हुनु ज्यादै आवश्यक छ ।
हालसालै राष्ट्रिय दैनिक ‘कान्तिपुर’ मा निस्केको ‘सिमेन्टको गुणस्तर घटाउन गुपचुप निर्देशन’ भन्ने समाचारले धेरै नराम्रो कुराको सङ्केत गर्दछ र यसलाई रोक्नुपर्दछ ।
(लेखक सिमेन्टसम्बन्धी विशेषज्ञ हुनुहुन्छ । उहाँले नेपालमा चुनढुङ्गाबाट बन्ने RANDEX सिमेन्ट पेन्टको व्यापारिक उत्पादन गर्नुभएको थियो ।)
–लावण्य सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *