भर्खरै :

इराकको अमेरिकी राजदूतावासमा हमला ‘यो मेरो चेतावनी होइन, धम्की हो’–ट्रम्पको प्रतिक्रिया

वाशिङ्टन, १ जनवरी । इराकको राजधानी बग्दादस्थित संरा अमेरिकी राजदूतावासमा इराकी जनताले हमला गरेको केही घण्टापछि संरा अमेरिकी सरकारले त्यहाँ थप झन्डै सात सय पचास अमेरिकी सेना परिचालन गर्ने निर्णय गरेको छ । संरा अमेरिकी रक्षा सचिव मार्क इस्परले त्यस्तो घोषणा गरेका हुन् ।
“लगभग ७५० अमेरिकी सेना तत्काल सो क्षेत्रमा परिचालन गर्दै छौँ । केही दिनभित्र शीघ्र (आईआरएफ) बाट थप बल पठाउने तयारी भइरहेको छ”, पेन्टागनका उच्च अधिकारीले मङ्गलबार आफ्नो ट्वीटरमा लेखे ।
“आज हामीले बग्दादमा देखेजस्ता संरा अमेरिकी कर्मचारी र सम्पत्तिमाथिको खतरालाई ध्यानमा राखी सावधानीको लागि ती सेना परिचालन गरिएको हो”, उनले भने । यसअघि संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बग्दादस्थित अमेरिकी दूतावासको लागि इराक सरकारलाई दोषारोपण गरेका छन् । ट्वीटरमा उनले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
“उनीहरूले यसको ठूलो मूल्य चुकाउनुपर्ने छ । यो मेरो चेतावनी होइन, धम्की हो”, ट्रम्पले भने ।
आइतबार संरा अमेरिकी सेनाले इराक र सिरियामा रहेका इराकी अर्धसैनिक कटैब हजबुल्लाहका पाँच शिविरमा हमला गरेको थियो । इराकमा तैनाथमा अमेरिकी सेनामाथिको हमलाको प्रतिक्रियास्वरूप उनीहरूले ती शिविरमा हमला गरेका थिए । इराक सरकारले भने अमेरिकी सेनामाथिको हमलामा आफ्नो कुनै भूमिका नभएको बताएको छ ।
मङ्गलबार ‘अमेरिका मुर्दावाद ¤’ को नारा लगाउँदै बग्दादस्थित संरा अमेरिकी राजदूतावासअघि इराकी जनताले विरोध प्रदर्शन गरेका थिए । संरा अमेरिकी हवाई हमलामा परी दर्जनौँ इराकी जनता मारिएको रिसमा उनीहरूले उच्च सुरक्षाभित्र रहेको हरित क्षेत्रमा प्रदर्शन गरेका थिए । उनीहरूले संरा अमेरिकी सेनालाई इराक छोड्न माग गरेका थिए ।
खाडी क्षेत्रमा अहिले नै १४ हजार संरा अमेरिकी सेना तैनाथ छन् । इरानसँग तनाव बढेपछि संरा अमेरिकाले सो क्षेत्रमा गएको मे महिनादेखि सेना तैनाथ गरेको थियो । इराकमा मात्र ५ हजार २ सय अमेरिकी सेना छन् ।
खामेनीद्वारा निन्दा
इराकमा एक लडाकू समूहको प्रदर्शनमा गत साताको अन्त्यमा भएको अमेरिकी हवाई आक्रमणको इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीले बुधबार आलोचना गर्नुभएको छ । खामेनीले अमेरिकी आक्रमणपछि पहिलोपटक प्रतिक्रिया दिँदै अमेरिकी आक्रमणको कडा शब्दमा विरोध गर्नुभएको हो ।
“इरानी सरकार, देश र मैले अमेरिकी गलत कार्यको कडा शब्दमा निन्दा गर्दर्छौँ,” खामेनीले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा हसेद अल–शाबी एक समूहमाथि केही दिन पहिले भएको घातक अमेरिकी हमलाको उल्लेख गर्दै भन्नुभयो ।
पश्चिमी इराकमा गरिएको एक आक्रमणमा उत्तरी इराकको एक सैन्य अड्डामा शुक्रबार एक अमेरिकी नागरिक ठेकेदारको मृत्यु भएको थियो । बदलामा अमेरिकाले हवाई आक्रमण गर्दा करिब २५ जनाको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका थिए ।
यसको विरोधमा उत्रिएका इराकी नागरिकको एक समूहले बुधबार इराकस्थित अमेरिकी राजदूतावासमा आगजनीको प्रयास गरेको थियो ।
बग्दादस्थित अमेरिकी दूतावासमा एक प्रदर्शनकारी समूहले आक्रमण गरेको र यस घटनामा इरानी सत्ताको घूसपैठ भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानमाथि आरोप लगाउनुभएको थियो ।
अमेरिकी राष्ट्रपतिको ट्वीटर सन्देशप्रति प्रतिक्रिया जनाउँदै खामेनीले भन्नुभयो, “ती व्यक्ति (राष्ट्रपति ट्रम्प) ले संयुक्त राज्य अमेरिकाले बग्दादमा भएको घटनाको लागि इरानलाई जिम्मेवार देख्ने बताएका छन् र भनेका छन् हामी इरानलाई जवाफ दिनेछौँ ।”
खामेनीले भन्नुभयो, “पहिलो, तपाईँ केही गर्नसक्नुहुन्न । दोस्रो, तपार्इँ तार्किक हुनुहुन्न, यदि तार्किक हुनुहुन्थ्यो भने तपाईँले थाहा पाउनुभएको छ कि इराक, अफगानिस्तानमा तपार्इँको अपराधले ती राष्ट्रहरुले तपार्इँलाई घृणा गरेका छन्,” उहाँले ट्वीटमा भन्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *