भर्खरै :

सक्षम नेतृत्व नपाएसम्म परिवर्तन असम्भव

–मेरिना शाक्य
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जनताले सबै अधिकार पाइसकेको हुँदा अब कुनै आन्दोलन या सङ्घर्ष गर्न नपर्ने बताउँछन् । नेकपाको नेतृत्वमा सरकार बनेको हुँदा अब किन आन्दोलन चाहियो भन्ने उनको दाबी हो । उनी अहिले बनेको संविधानभन्दा कुनै हालतमा बाहिर नजाने बताउँछन् । उनको यो अभिव्यक्तिले अहिले देशको जे बन्दोबस्त छ, त्यहीँ सबै ठीक छ भन्ने देखाउँछ । उनको बोलीलाई अन्धभक्त नेताहरू समर्थन गर्छन् र त्यस्तै कुरा जनतामाझ फुक्छन् । केही नेताहरू उनीभन्दा अलि क्रान्तिकारी कुरा फलाक्छन् र कहिलेकाहीँ समाजवादको कुरा उठाउँछन् । नेकपाभित्र समाजवाद स्थापना गर्न लाग्नुपर्ने विचार व्यक्त गर्ने नेताहरू पनि छन् तर तिनीहरू आफ्नो मनको कुरा ढुक्कसँग राख्न सक्दैनन् या राख्न डराउँछन् । अनि त्यस्ता नेताहरूको स्वर सेलाउन कतिलाई मन्त्री पद दिएर शान्त पार्छन् त कतिलाई अर्कै लोभ देखाएर थामथुम पार्छन् । यसकारण नेकपाले देशको लागि मात्र होइन पार्टीभित्र पनि ठोस मार्ग निर्देश गर्न सकेको छैन ।
नेकपाभित्रका केही नेता र मन्त्रीहरू आर्थिक सहयोग पाउने लोभमा विदेशी शक्ति राष्ट्रले राखेको प्रस्ताव समर्थन गरेर प्रशंसा गर्छन् भने केही नेताहरू त्योभन्दा फरक मत राख्छन् । यस्ता वैचारिक द्वन्द्व हुनुको अर्थ नेकपा साँच्चै कम्युनिस्ट पार्टी बन्न नसक्नु हो । नेपालीहरू भाग्यमानी, शान्तिकामी भएकाले नेपालमा परिवर्तन आवश्यक छैन भन्नेहरू र अब कुनै सङ्घर्ष या आन्दोलनको जरुरी छैन भन्नेहरू अन्ततः पुँजीवादी पार्टी नै हुन् । जसरी दुस्साहसवाद र उग्रवादी कम्युनिस्ट आचरणभित्र पर्दैन त्यसरी नै आर्थिक लोभमा फसेर नेपाललाई विदेशी शक्ति राष्ट्रको परेड खेल्न मैदान दिने अवसरवादीहरू कम्युनिस्ट होइनन् । सङ्कीर्णता, साम्प्रदायिकता, दलगत र व्यक्तिगत स्वार्थले नै नेपाल विकासमा पछि परेको हो, अन्धविश्वास र विकृतिको घेरामा समाज अडेको हो । अहिले पनि त्यस्ता प्रकृतिका नेता, मन्त्री र सांसदहरू रहेकाले नेपाली समाज पछि परेको हो, अन्धविश्वासको जरालाई उखेल्न नसकेको हो ।
तर, सबै कम्युनिस्ट पार्टीका नेताहरू त्यस्ता छैनन् । उनीहरू यथास्थितिवादीको घेराबाट उम्कन चाहन्छन्, जनताको घर आँगनमा त्यस्तै विचार व्यक्त गर्छन् र जनतालाई सुसूचित पार्छन् । उनीहरू सङ्कीर्ण सोच, साम्प्रदायिक भावना र दलगत स्वार्थभन्दा माथि उठेर देश र जनताको कुरा उठाउँछन्, सङ्घर्षशील हुन्छन्, देशभक्ति भावना जगाउँछन्, देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति लड्छन् । देशले सक्षम नेतृत्व नपाएसम्म र सङ्घर्ष गरेर आमूल परिवर्तन नभएसम्म बहुमत जनताले न्याय पाउँदैनन्, सम्मान पाउँदैनन् । नेपाललाई साँच्चै उन्नत, समृद्ध बनाएर बहुमत जनताको सेवा कुनै दल ठूलो भएर, कुनै दलले लामो समय सरकारको नेतृत्व गरेरमात्र हुने होइन । सहृदयी देशभक्तहरू देशमा अवरोध खडा गर्ने, नेपाल र नेपालीको अहित खोज्ने कुनै पनि बाह्य वा आन्तरिक प्रतिक्रियावादी या पक्षहरूको विरोध गर्छन् र ती शक्तिहरूको आलोचना र विरोध गरेर सही बाटोमा ल्याउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *