भर्खरै :

सक्वको म राजदास – १४

 ई. राजदास श्रेष्ठ
कम्युनिस्ट विचारधाराका एक क्रान्तिकारी देशभक्त पाट्रीसा लुमुम्बाको निर्ममतापूर्वक भएको हत्याको निन्दा विश्वव्यापीरूपमा भयो । सोही नेताको नाममा सोभियत रुसको राजधानी मस्कोको दक्षिण भागमा पाट्रीसा लुमुम्बा जनमैत्री विश्वविद्यालय सन् १९६० मा स्थापना गरियो ।
सन् १९६१ मा पाट्रीसा लुमुम्बा नामकरण गरिएको जनमैत्री विश्वविद्यालयको आयु सन् १९९१ मा सोभियत सङ्घको पतनसँगसँगै सकियो । अहिले उक्त विद्यालयको नाम रुसी जनमैत्री विश्वविद्यालय रहेको छ ।
उक्त लुमुम्बा विश्वविद्यालय विश्वमै चर्चित थियो । विश्वभरका तेस्रो मुलुकहरूबाट प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा विद्यार्थीहरू निःशुल्क छात्रवृत्तिमा पढ्न आउँथे ।
उक्त विश्वविद्यालयमा मेडिकल साइन्सलगायत इन्जिनियरिङ्ग विषयसँगै अन्य विभिन्न विषयमा अध्ययन अनुसन्धान हुन्थ्यो । त्यहाँ झन्डै पाँच हजार जति प्राध्यापक र कर्मचारी प्रशासकहरू थिए भने बर्सेनि २०–२२ हजार विद्यार्थी पढ्न आउँथे ।
विश्वका तेस्रो मुलुकहरू अथवा असंलग्न राष्ट्रहरूसँग उक्त शिक्षण संस्थाको आफ्नो शैक्षिक तथा सांस्कृतिक सम्बन्ध जोडेर तेस्रो विश्वमा सोभियत सङ्घको आफ्नो प्रभाव जमाउने मूल उद्देश्य थियो ।
नेपालबाट आएका विद्यार्थीहरू पनि थुपै्र थिए उक्त उडेन (युनिभर्सिटी ड्रझ्भी नारोडभ) विश्वविद्यालयमा । जनमैत्री विश्वविद्यालयको छोटकरी नाम उडेन थियो । अहिले रुसी जनमैत्री विश्वविद्यालय भएपछि यसको नाम रुडेन भएको छ ।
नेपालबाट आएका विद्यार्थीहरूको सङ्ख्या अन्य शिक्षण संस्थाहरूमा भन्दा उडेन विश्वविद्यालयमा धेरै थियो । अन्य विद्यालयहरूमा उक्त विश्वविद्यालयमा भन्दा सभा सम्मेलनहरू गर्न राम्रो सुविधा थियो । त्यसैकारण हामी मस्कोका विभिन्न शिक्षण संस्थाहरूमा पढ्ने विद्यार्थीहरू कुनै चाडपर्व मनाउँदा र विद्यार्थी सभा–सम्मेलनहरू हुँदा प्रायः यहीँ विश्वविद्यालयको सभा हलहरूमा जम्मा हुन्थ्यौँ ।
पहिलो एक वर्ष रुसी भाषा पढ्न १९६९ को सेप्टेम्बर महिनादेखि हाम्रो कक्षा सुरु भएको थियो । विभिन्न शिक्षण संस्थानहरूमा पढ्ने नेपाली विद्यार्थीहरूबीच चिनापर्ची र भेटघाट हुँदै गयो । नेपाली विद्यार्थीहरूबीच रुस आएको केही महिनामा उडेनमा बरोबर सभा सम्मेलनहरू हुनथाल्यो । पछि थाहा भयो, सोभियत सङ्घमा पढ्न आउने विद्यार्थीहरूको एउटा विद्यार्थी सङ्गठन रहेछ । उक्त विद्यार्थी सङ्गठनको चुनाव हुनेरहेछ । त्यसैको सिलसिलामा समयसमयमा बैठकहरू बोलाइएका थिए ।
नेपाली विद्यार्थीहरूको सङ्गठनको उद्देश्य सोभियत सङ्घमा पढ्न आउने विद्यार्थीहरूको सेवा सुविधाको लागि भनिए पनि उक्त विद्यार्थी–सङ्गठन आन्तरिकरूपमा सबै विद्यार्थीहरूमा सोभियत समाजवादको विचारको प्रभाव पार्नु र विमतिका विचार राख्ने विद्यार्थीहरूलाई सोही विचारमा ढाल्नु थियो । उडेनको संस्थापनको मूल उद्देश्य पनि यही नै हो जस्तो लाग्यो ।
मुख्यतया मस्कोमा पढ्ने विद्यार्थीहरू तीनवटा समूहमा विभाजित भएको मैले महसुस गरेँ । पहिलो समूह पूरा सोभियत समाजवादका कट्टरपन्थीहरू । दोस्रो समूह पहिलो समूहसँग विमति राख्नेहरू जो पहिलो समूहको दबाबमा बस्न नचाहनेहरू । तेस्रो समूह प्रायः तटस्थ बस्न खोज्नेहरू जो राजनीतिप्रति खासै चासो राख्दैनथे र आफ्नो पढाइमा मूलतः ध्यान दिन चाहन्थे । यही तेस्रो समूहलाई आफ्नो पक्षमा लिन दुई समूहको हानथाप हुन्थ्यो र सभाहलहरूमा भाषण हुँदा चर्काचर्की बहस हुन्थ्यो । एक अर्कामा आरोप प्रत्यारोप हुन्थ्यो ।
दुई चार पटक यस्ता बैठक र थुप्रै कोठे बैठकहरूमा हुने कुरा सुन्दा मलाई थाहा भयो, सोभियत सिस्टमको विचार लिएको थियो । पहिलो समूह नेपालमा सोभियत समर्थक कम्युनिस्ट पार्टीबाट प्रभावित अथवा निर्देशित थियो । दोस्रो समूह कुन प्रवाहमा कुन विचारधारा बोक्थ्यो यकिन गर्न सकिन्न तर पहिलो समूहको विरोधमा थियो । तर, सोभियत कम्युनिस्ट सिस्टमसँग पूर्ण सहमतिमा थिएन । तेस्रो समूहको कुरै भएन । उनीहरू दुवै पक्षबाट टाढा हुन खोज्थे । पढाइ लेखाइबाट बचेका समय विभिन्न सांस्कृतिक क्रियाकलापहरूमा रमाउन चाहन्थे । बिदाका दिन र लामो छुट्टीमा धेरै विद्यार्थी सोभियत सङ्घका विभिन्न रिसोर्टहरूमा निःशुल्क पाइने एक महिनाको सुविधा लिई बस्न जान्थे । केही विद्यार्थीहरू लन्डन, जर्मन, हलान्ड, पेरिसजस्ता युरोपका अन्य सहर र देशहरू घुम्न जान्थे । युरोपका यी सहरमा जानुको मूल उद्देश्य ती ठाउँहरूको भ्रमण र दृश्यावलोकनभन्दा बढी ती सहरमा पाइने आधुनिक उपभोग्य सरसामानहरू जस्तैः म्युजिक सिस्टमहरू, युरोपियन रक स्टारहरूका रिकर्डहरू, रेकर्ड–प्लेयरहरू र सोभियत रुसका बजारमा सजिलै नपाइने आधुनिक डिजाइनका लुगा कपडा र जुत्ताहरू सस्तोमा किनेर मस्कोमा महँगोमा बेचेर पैसा कमाउनु थियो ।
मस्कोबाट पोलान्ड हुँदै जर्मनी, हलान्ड र इङ्गलान्डसम्म आधुनिक लत्ताकपडाहरू किनेर म आफैँ एकपल्ट मस्को, खार्कोभमा बेचेर पैसा कमाउन गएको थिएँ ।
आफ्नो अध्ययनको अन्तिम वर्ष गर्मीको छुट्टी (गर्मी बिदा) मा ३–४ दिनको लागि युरोपियन मुलुक हुँदै लन्डनसम्म पुगेको थिएँ । आफू पढ्ने बस्ने ठाउँ खार्कोभमा बेचेर केही पैसा जम्मा गर्न त्यहाँबाट सामानहरू किनेर ल्याउँथे । केही पैसा जम्मा गर्न मलाई आवश्यक पनि थियो । पढाइसकेपछि अर्को वर्ष १९७६ मा मलाई आफ्नोे देश नेपाल फर्कनु थियो, आफ्नो ४ जनाको परिवारसहित ।
म जाँदा एक्लै थिएँ भने फर्कनु पर्दा चारजना भएँ – श्रीमती र दुई छोराहरू अलेक्जेन्डर र देनीस । श्रीमती भालेन्टिना पनि हामी एउटै इन्स्टिच्युटबाट इन्जिनियर पास गरेका थियौँ । उनी ग्लास (काँच) टेक्नोलजिस्ट, म सिमेन्ट टेक्नोलजिस्ट ।
सोभियत सङ्घ पढ्न जान पाएको छात्रवृत्तिअन्तर्गत मलाई पढ्न बस्न फ्री थियो र फर्कन पनि हवाई टिकट फ्री थियो । तर श्रीमती र बच्चाहरूको लागि फर्कन आफँै टिकट किन्नुपथ्र्यो । फर्कँदा साथीभाइ आफन्त र आफ्नै लागि पनि केहीँ सामानहरू किन्नुपर्ने भएको थियो । त्यसैकारण केहीँ रकम जरुरी परेको थियो ।
सोभियत सङ्घमा पढ्न बस्दा आफ्नो पढाइको ४–५ वर्षको बीचमा एकचोटि विदेश भ्रमण गर्न मस्कोस्थित नेपाली राजदूतावासले प्रत्येक विद्यार्थीलाई मागेको खण्डमा ५० डलर सरकारी दरमा साटिदिने सुविधा दिन्थ्यो । यसैको आधारमा सोभियत सङ्घमा पढ्न आउने नेपाली विद्यार्थीहरू युरोपका विभिन्न सहरहरू घुम्न जान्थे र फर्कँदा केही लत्ताकपडाहरू आफ्नो लागि किनी ल्याउँथे । केही आफ्ना साथी र शिक्षक शिक्षिकाहरूलाई उपहार दिन्थे । त्यसमध्ये केही विद्यार्थीहरू बरोबर जर्मन र लन्डन गएर सामान ओसार–पसार गरी पैसा कमाउने व्यापार पनि गर्थे ।
सोभियत सङ्घमा त्यसबेला कसैले पनि व्यक्तिगतरूपमा कुनै व्यवसाय गर्न पाउँदैनथे । सबै व्यवसाय र उद्योग कारखाना सरकारीमात्र हुन्थ्यो । निजी व्यापार व्यवसाय कसैले गर्न पाउँदैनथे । सडक छेउमा बसी जुत्ता पालिस गर्ने पनि सरकारी हुन्थ्यो र उसले महिनावारी तलब पाउँथ्यो । यो सिस्टम समाजवादी व्यवस्थाअनुसार नै थियो जहाँ कसैले कसैलाई काममा लगाई उद्योग व्यापार गरी अर्थ उपार्जन गर्न पाइँदैनथ्यो । सबै उत्पादनको स्रोत–साधन राज्य सत्ताको हातमा थियो र नागरिकले निजी उत्पादन गरी व्यवसाय गर्न पाउँदैनथे ।
विदेशबाट पढ्न आउने विद्यार्थीले खुलमखुला केही मालसामान किनमेल गर्न पाउँदैनन् । तर, भित्रभित्र यस्ता गतिविधि धेरै हुनेगर्दथ्यो । विशेष गरेर सोभियत सहरहरूमा उपलब्ध नहुने आधुनिक जिन्सका लत्ताकपडा, हाइहीलवाला जुत्ताहरू, लेडिज कस्मेटिक सामानहरू र पश्चिमी जगतका बिटल्स, रोलिङ्ग स्टोन, एल्भीसजस्ता एक स्टारहरूको म्युजिक रेकर्डहरूको ठूलो माग हुन्थ्यो सोभियत सहरहरूमा । यस्ता सामानहरू लुकीछिपी विदेशबाट पढ्न आएका विद्यार्थीहरूबाट आपूर्ति हुनेगथ्र्यो । मैले पनि बाध्य भएर एकचोटि यस्तो काम गर्नुप¥यो, नत्र सपरिवार नेपाल फर्कन मेरो लागि सम्भव थिएन । प्रतिमहिना मैले पाउने ९० रुबल र श्रीमतीले पाउने ३५ रुबलले हामीलाई खान लाउनमात्र मुश्किलले पुग्थ्यो, त्यसकारण म र श्रीमती समय मिलाएर रातिराति कुनै कलकारखानाहरूमा काम गर्न जान्थ्यौँ ।
म कहिले कपडा बुन्ने धागो कारखानामा काम गर्न जान्थेँ भने कहिले छाला–जुत्ता कारखानामा काम गर्न जान्थेँ । श्रीमती पनि त्यस्तै कपडा बुन्ने फ्याक्टरीमा काम गर्न जान्थी । मेरो पढाइको अन्ततिर १९७४ मा एकचोटि म काजाकस्थानको अर्ध–मरुभूमिमा २०–२२ जनाको एक विद्यार्थी समूहमा सामेल भएर २ महिनासम्म सानो–सानो घर बनाउने एउटा कन्स्ट्रक्सन बिग्रेडमा काम गर्न गएँ । काम धेरै कठिन थियो, इँटा पोल्नेदेखि लिएर जग खन्ने, पर्खाल बनाउने, सिमेन्ट, बालुवा बोक्ने आदि काम गर्नुपथ्र्यो । २ महिनाभित्र २०–२२ जनाको हाम्रो समूहले ५ वटा घरहरू बनायौँ र पैसा पनि राम्रो पायौँ । त्यही पैसा लिएर म विदेशी डलर साट्न युरोप भ्रमणको लागि नेपाली राजदूतावास गएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *