भर्खरै :

जनप्रतिनिधिकै बदनाम गर्ने जनकपुर घटना

–सुरजसिंह
नेपालका शासकहरूमा जवाफदेहिताको कमी पहिल्यैदेखि अनुभव गरिएको प्रवृत्ति हो । लोकतन्त्र र गणतन्त्र आएपछि त्यस प्रवृत्तिमा सुधार आउने विश्वास थियो । कारण प्रजातन्त्र वा लोकतन्त्र भनेको जनतामा आधारित र जनताप्रति जवाफदेही हुनुपर्ने शासन प्रणाली मानिन्छ । तर, सबैमा त्यो नियम लागू भएको देखिएन ।
त्यस्ता शासकहरूले जनताको प्रश्नको जवाफ दिनुपर्ने आवश्यकताबोध गरेका छैनन् । त्यसमा हिजोआज केन्द्र सरकारका प्रधानमन्त्री, मन्त्रीदेखि प्रदेशमन्त्री र कतिपय स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षसम्म पर्न आउँछन् ।
मङ्गलबार प्रदेश नं. २ को अस्थायी राजधानी रहेको जनकपुर उपमहानगरपालिकाका मेयरको कार्यकक्षभित्र गैरजवाफदेहिताको अर्को नमुना प्रवृत्ति प्रस्तुत भयो । जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको प्रतिक्रिया लिन पुगेका पत्रकारमाथि कुटपिट भयो । मेयर साहको कार्यकक्षमा ढोका थुनेर उनका आसेपासे तथा नगरप्रहरी समेतको संलग्नतामा पत्रकारहरूमाथि कुटपिट भएको बताइएको छ ।
पत्रकारहरू अमरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास कर्ण र शत्रुधन यादवमाथि कुटपिट भएको हो । उक्त मेयर साहभित्रको गैरजवाफदेहिताको नमुना प्रवृत्तिमात्र होइन बरु प्रश्नको सामना गर्न नसक्ने कायर प्रवृत्ति र प्रश्न उठाउनेहरूमाथि भौतिक दमन गरेर पनि तह लगाउने डरलाग्दो फासीवादी चरित्र पनि हो । मेयर साहसित जवाफ तयार थिएन भने ‘अहिले बोल्दिनँ पछि जवाफ दिन्छु’ मात्र भनिदिएपनि हुने थियो ।
विवादित चरित्रका मेयर साहले आफ्ना आसेपासे बोलाएर पत्रकारहरूमाथि हातपात नै गराए । जनताका प्रश्न र जिज्ञासा बोकेर मेयरको जवाफ खोज्न गएका पत्रकारहरूमाथि गरिएको उक्त साङ्घातिक हमलाको घटनाले जनकपुर महानगरपालिकाको मात्र बदनामी भएको छैन, जनप्रतिनिधिहरूकै बदनामी गरेको छ । मेयर साहलगायत घटनाका दोषीहरूमाथि कानुनी कारबाही गरिनुपर्छ । कुनै दल या तहका सरकारले त्यस्ता गैरजवाफदेही र असहिष्णुहरूलाई राजनीतिक संरक्षण दिनुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *