भर्खरै :

संसद् – सत्तारूढ दलको बन्दी

सभामुखको विषयमा सत्तारूढ दलभित्रका दुई ‘उपदल’ बीच कुरा नमिल्दा आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि बसेन । सूचना टाँस गरेर बैठक स्थगित गरियो । कृष्णबहादुर महरा बलात्कार मुद्दामा जेल गएपछि रिक्त भएको सभामुख पदमा कसलाई राख्ने विषयमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच कुरा नमिल्दा देशको सार्वभौम संसद् आज अनिर्णयको बन्दी बनेको छ । सत्तारूढ दलले आज बहुमतको बलमा संसदलाई पङ्गु बनाउनु सर्वथा अप्रजातान्त्रिक हो । दलभित्रको आपसी किचलोको प्रभाव देशको संसद्मा पर्नु लोकतन्त्रको भावनाविरूद्ध हो ।
सभामुख कसलाई बनाउने विषयमा नेकपाभित्रको विवादले उनीहरूको एकता वास्तवमै सत्ता सुखको लागि ‘घोडाको मिलन’ मात्र भएको पुष्टि गरेको छ । घोडाले खान्की खाँदा मुख एकैतिर फर्काए पनि खुट्टाले भने एक–अर्कोलाई लात हानिरहेको हुन्छ । नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेताहरू बाहिर एकताको कुरा गरे पनि भित्रभित्र एकअर्कालाई सिध्याउने खेलमा लागेका छन् । पूर्वमाओवादी नेताहरू आफू पूर्वएमालेमा ‘विलय भएको’ अनुभव गरिरहेको विभिन्न सञ्चारमध्यमले गरेको विश्लेषणमा उल्लेख छ । आफ्नो भागमा परेको सभामुख पदसमेत पूर्वएमाले गुटले कुम्ल्याउन खोजेपछि पूर्वमाओवादीहरूले मोर्चा कस्न थालेका हुन् ।
नेकपाभित्रको झगडा उनीहरूको आपसी मामिला हो । तर, पार्टीभित्रको झगडाको नकारात्मक प्रभाव भने देश सञ्चालनमा पर्नुहुन्न । देश कुनै एउटा दलको होइन, सबै जनताको हो । त्यसकारण नेकपाको झगडाले सम्पूर्ण देशलाई असर गर्नुहुन्न । यो प्रजातान्त्रिक राजनीतिक संस्कार होइन ।
उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफू स्वंय सभामुख पदको लागि योग्य भएको भन्दै लबिङ गरिरहेकी छिन् । उनी नेताहरूको दैलो–दैलोमा गएर सभामुख बनाइदिन झोली फैलाउँदै हिँडेकी छिन् । यो शक्ति सन्तुलनको प्रजातान्त्रिक मूल्य–मान्यताविपरीत हो । कार्यपालिका प्रमुख र दलका नेतासामु झोली फैलाएर पाएको सभामुख पदले भोलि के संसदको शक्ति र छवि कायम राख्न सक्ला ? पदको निम्ति राजनीतिक नैतिकता र मर्यादाको बेवास्ता गर्ने प्रवृत्तिले हामीलाई सही दिशातिर डो¥याउन सक्दैन । आफूले पाउने भएपछि जे पनि गर्ने प्रवृत्तिले सही फल दिनसक्दैन । सिस्नु रोपेर तुलसी उम्रन्न ।
विडम्बना ¤ सत्तापक्षको झगडाले संसद पटक–पटक स्थगित हुँदा पनि प्रमुख प्रतिपक्षमा बसेको नेपाली काङ्ग्रेसले भने आपत्ति जनाएको छैन । सत्तापक्षले विधिको शासन मिच्ने अनि प्रमुख प्रतिपक्ष लाटाले केरा हेरेजस्तो बस्ने आजको राजनीतिक दृश्यले देश फेरि खतरनाक राजनीतिक सङ्कटउन्मुख भएको देखाउँछ ।
सभामुख पदको झगडाको कारण सार्वभौम संसद्लाई बन्दी बनाउने काम बन्द गरियोस् । तत्काल संसदको बैठक बसेर आवश्यक बिजिनेश अघि बढाइयोस् । जनताले निर्वाचित गरेका सांसदहरूलाई भित्तामा टाँसिएको सूचनाको पाठक नबनाइयोस् । प्रमुख प्रतिपक्षको अकर्मण्यताले प्रजातान्त्रिक प्रणाली सत्ताको खेलौना बनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *