भर्खरै :

एक दिन मोदी सरकार जेल जाने छ – अरून्धती राय

नयाँदिल्ली, १२ जनवरी । भारतका चर्चित लेखिका अरून्धती रायले नागरिकता संशोधन ऐन र राष्ट्रिय नागरिकता पञ्जीकरणको विरोधमा उत्रेका भारतीय जनतालाई थुन्न भारतमा कुनै ‘जेल’ नभएको बताउनुभएको छ ।
शनिबार दिल्लीको जामिया मिलिया इस्लामियामा नागरिकता संशोधन ऐन र नागरिकता पञ्जीकरणको विरोधमा आयोजित सभामा बोल्दै सत्ताविरोधी लेखिका रायले भन्नुभयो, “तपाईँहरूसँग म पनि छु भन्न म यहाँ आएकी हुँ । तपाईँहरू सबै आज एक ठाउँमा आउनुभएको छ । अब हामी सबैलाई कैद गर्न भारतमा त्यत्ति ठूलो कारागार नै छैन । म आशा गर्छु, यो राष्ट्रलाई विभाजित गर्न खोज्ने यो सरकार जेलमा थुनिने दिन आउने छ । अनि हामी सबै आजाद हुने छौँ । हामी कदापि पछाडि हट्ने छैनौँ ।”
जामिया विश्वविद्यालयको गेटअघि सात वटा विश्वविद्यालयका विद्यार्थीको संयुक्त सभामा रायले ‘इन्कलाब जिन्दावाद’, ‘जामिया जिन्दावाद’, ‘जेएनयू जिन्दावाद’ र ‘देशका जनता जिन्दावाद’ आदि नारा लगाउनुभयो ।
रायले आन्दोलनरत विद्यार्थीले चलाएको खुला पुस्तकालयलाई आफ्ना पुस्तकहरू सहयोग गर्नुभएको थियो । लेखिका रायले लगातार नरेन्द्र मोदी नेतृत्वको सरकारको विरोधमा बोल्दै आउनुभएको छ ।
गत महिना सञ्चारमाध्यमहरूलाई रायले भारतमा हालै पारित नागरिकता संशोधन ऐनले भारतीय संविधानको मेरूदण्ड भाँचेको बताउनुभएको थियो । गत डिसेम्बर ७ मा रायले जारी गरेको विरोध वक्तव्यमा ‘स्वतन्त्रता यता भारतले सबभन्दा ठूलो चुनौती भोगिरहेको’ बताउनुभयो ।
राष्ट्रिय नागरिकता पञ्जीकरणमा गलत नाम र ठेगाना दिएर विरोध गर्न रायले आह्वान गरेपछि सरकारले उहाँविरूद्ध फौजदारी उजुरी दर्ता गरेको छ । उहाँले पछि ‘मुस्कानसहितको भद्रअवज्ञा आन्दोलन’को प्रस्ताव राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *