भर्खरै :

भागबन्डामा सहमति नहुँदा प्रतिनिधिसभाको बैठक फेरि स्थगित

– मेरिना शाक्य
आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि स्थगित भयो । नेकपाभित्र सभामुख चयन गर्ने विषयमा सहमति नभएको कारण सो बैठक स्थगित भएको हो । सभामुख पूर्वएमाले या पूर्वमाओवादीबाट चयन गर्ने विषयमा अझै टुङ्गो लागेको छैन । पूर्वएमालेका अध्यक्ष केपी ओली र पूर्वमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आ–आफ्नो अडान छोडेका छैनन् । सभामुखको भागबन्डा नमिलेकै कारण प्रतिनिधिसभाको बैठक पटक–पटक स्थगित हुँदै आएको हो । पदको यो राजनीतिले ती दुईबीचको पार्टी एकता भागबन्डाको निम्ति भएको स्पष्ट गर्छ ।
नेकपाभित्रको आन्तरिक भागबन्डामा अल्झेर सरकारले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाउनु ठीक होइन । पटक–पटक बैठक स्थगित गरेर सरकारले प्रतिनिधिसभाका सदस्यहरूमाथि खेलबाड गरिरहेको छ, सांसदहरूको समय बर्बादमात्र होइन देशको आयस्रोतमा रजाइँ गरिरहेको छ । सभामुख चयन गर्ने बाटो खोल्न नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरिसकेको छ । तर, उपसभामुख तुम्बाहाम्फेले आफू पार्टी सदस्य नभएको हुँदा राजीनामा गर्न जरूरी नभएको बताइन् । उपसभामुख तुम्बाहाम्फेले प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने विचार व्यक्त गर्दै आएकी छिन् । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक उनकै अनुमतिमा स्थगित गरिएको थियो ।
प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मको लागि स्थगित गरिएको छ । उपसभामुख तुम्बाहाम्फेले पदबाट राजीनामा नगर्ने अडानले नेकपालाई अप्ठेरो स्थिति परेको छ । नेकपाका अध्यक्षद्वय ओली र दाहाललाई पार्टीको सिद्धान्त र विचार व्यवहारमा लागू गर्ने सम्बन्धमा कुनै चिन्ता छैन । आ–आफ्ना पक्षका नेता र सांसदहरूलाई पदको जिम्मेवारी दिने विषयमा ओली र दाहालको अडानले नेकपाको वास्तविक चरित्र जनतामाझ उदा·ो भएको छ । प्रतिनिधिसभाको बैठक सांसदहरू भेला हुने ठाउँमात्र होइन । हरेक राजनीतिक दलको विचार विमर्शबारे छलफल हुने प्राज्ञिक थलो पनि हो । बैठकमा देश र जनताको हित या पक्षमा सांसदहरूले आ–आफ्नो मत राख्छन् । बैठक स्थगित हुनुको अर्थ देश र जनताको विचार व्यक्त गर्ने अवसर गुम्नु हो । विगतमा पनि त्यसरी नै नेताहरू दलगत र व्यक्तिगत स्वार्थमा अल्झेको कारण विकासको मुहान फुटाउन नसकेको हो, देशले उज्यालो अनुहार नपाएको हो । सरकार गठनताका दलका नेताहरूले भागबन्डाको राजनीति नगर्ने या त्यस्तो राजनीतिमा नफस्ने दृढता व्यक्त गरेका थिए । तर अझै नानीदेखिको त्यो बानी हटेको छैन । सरकारको यस्तै गैरजिम्मेवारी र सत्तारूढ दलका नेताहरू देश र जनताप्रति जवाफदेही नहुँदा देश अनिर्णयको बन्दी बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *