भर्खरै :

अलैँचीले मूल्य नपाउँदा किसानहरू चिन्तित

वीनी सिजापती
दैलेख, २८ पुस । विगतका वर्षहरूमा प्रतिमन १ लाख २० हजार रूपैयाँसम्म बिक्री भएको अलैंची अहिले प्रतिमन रु. ३० हजारमा किनबेच भइरहेको छ । नेपालबाट प्रमुख निर्यात हुने वस्तुको मूल्यमा यसरी गिरावट आएकोले किसानहरू चिन्तित छन् ।
जिल्लाको आठविस नगरपालिका वडा नम्वर ९ मा पाँच वर्षयता किसानहरूले करिब २ सय रोपनी जग्गामा अलैँची खेती गरिरहेका छन् । सुरुमा यसको मूल्य राम्रो थियो र खेती गर्न सजिलो थियो । काममा सन्तोष भएकाले किसानहरु यो खेतीमा होमेका हुन् । आफ्नो घर खर्च चलाउन आफ्नो देशमै केही गर्न सकिन्छ भन्ने उद्देश्यले खेतीमा लागेको कृषक धनबहादुर सिजापती बताउँछन् । उहाँका अनुसार पहिला मूल्य राम्रो भए पनि पछिल्ला वर्षहरूमा लगातार मूल्यमा आएको गिरावटले आफूलगायत अन्य किसानहरूको अलैँचीको व्यवसायिक खेतीमा विस्तारै रुचि घट्दै गएको हो ।
यहाँका उत्पादित वस्तुहरू नेपालगञ्ज हुँदै जमुनाहा नाकाबाट भारततिर निकासा गरिन्छ । यसरी एउटामात्र देशमा व्यापार सम्झौता गर्दा मूल्यमा गिरावट आएको हुनसक्ने यहाँका किसानहरू बताउँछन् । नेपाल सरकार र सम्बन्धित स्थानीय तहबाट यो समस्या समाधान हुन्छ भन्ने आश्वासन पाएको तर कुनै पनि ठाउँमा यसको सुनुवाइ नभएको गुनासो किसानहरूले पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *