भर्खरै :

आत्मनिर्भर देश बन्ने युग ल्याउनुपर्छ

–गौरव प्रधान
सरकार र सत्तासीन दलको गैरजिम्मेवारीको कारण देशमा भ्रष्टाचार बढ्यो, सामाजिक अपराध बढ्यो, सुशासन या विधिको शासन ल्याउन सरकार असफल भयो । यसबारे राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्रले सरकारको तारन्तार ध्यानाकर्षण गरे । तर, पनि सरकार बुद्धि पु¥याउँदैन । बरु सरकारका नेता र मन्त्रीहरू आफ्नो एउटा गल्ती छोप्न अर्काे गल्ती गर्छन्, त्यहीँ गल्ती छोप्न उनीहरू भन्ने गर्छन्, संसारको कुन देश चोखो छ ? कुन देशमा भ्रष्टाचार भएको छैन, सामाजिक अपराध भएको छैन ? यस्तै सन्देश छरेर उनीहरू सन्तोषको सास फेर्छन् या गौरवको अनुभूति गर्छन् । भ्रष्टाचार, सामाजिक अपराध या हत्या हिंसाका श्रृङ्खलाहरू घटाउन सरकार अघि सर्ने कि अरू देशको हवाला दिएर अपराधको सङ्ख्या बढाउने ? अन्तको कुरा गरेर भ्रष्टाचार र अपराध घटाउन सरकार किन पछि हट्ने ? सरकारले गल्ती दोहो¥याइरहने कि सच्याउने ? गल्ती सुधार्दै जाने हो भने अन्तको बखान यहाँ किन ? अन्त जुठो भयो भनेर यहाँ चोखो नबनाउने ¤ यसतर्फ सरकार गम्भीर हुनुपर्छ र देश र जनताप्रति जिम्मेवारीबोध भएर काम गर्नुपर्छ ।
जनताले देशमा निरङ्कुश राजतन्त्र फाले र गणतन्त्र ल्याए । गणतन्त्र स्थापनामा प्रजातान्त्रिक दल र कम्युनिस्ट पार्टीहरूको योगदान स्मरणीय छ । व्यवस्था परिवर्तन जीवन सुनिश्चित गर्न, जीवनस्तर उठाउन र सुखानुभूति पाउन हो । त्यस्तो अनुभूति जनताले पाउँदैनन् भने व्यवस्था परिवर्तनको सार हुँदैन । व्यवस्था परिवर्तन भयो, आफ्नो छत्रछायामा सरकार गठन भयो भनेर गर्व गर्ने होइन, सन्तोष लिने होइन । नेकपाको सरकार शक्ति र अभिमानीको पारोमा चढेर अब कसैले केही गर्नसक्दैन, गर्न दिंदैन भनी अघि सर्नु के सरकारको निरङ्कुश चरित्र होइन ? सत्तासीन दलका नेताहरूले नपत्याउने गरी विकासको लहर ल्याइदिने उद्घोष कहाँ गएर थन्कियो ? देशमा विकासको युग सुरु भयो, पानीजहाजको युग सुरु भयो, घर –घरमा ग्यासको पाइपलाइन पुग्ने युग सुरु भयो, विज्ञानको युग आदि सुरु भयो भन्ने, खबरले के नेपाली जनता अघाएर बस्ने ? युगै युगको थालनी भएको यो देशमा नेपालीको जीवनस्तर किन कष्टकर भइरह्यो ?
सरकारले भ्रष्टाचारको युग अन्त्य गर्नुपर्छ, हत्या हिंसाको युग अन्त्य गर्नुपर्छ । पुराना राजाको सट्टा नयाँ देखिएका राजाहरूको युग अन्त्य गर्नुपर्छ । सामन्तवाद र पुँजीवादको युग अन्त्य गर्नुपर्छ । साम्राज्यवाद र विस्तारवादको युग फाल्नुपर्छ । जहिल्यै भारतनिर्भर या परनिर्भर भइरहेको युग छोडेर आत्मनिर्भर देश बन्ने युग ल्याउनुपर्छ । जीवन सुनिश्चितको निम्ति विदेश पलायन हुने युग छोड्नुपर्छ । दलगत र व्यक्तिगत स्वार्थमा भुलेर देश र जनताप्रति जिम्मेवार बन्ने युग आत्मसात गर्नुपर्छ । सत्तासीन दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू निःस्वार्थी, इमानदार, देश र जनताप्रति समर्पित, जवाफदेही बनाउने युगमा सरिक हुनुपर्छ, सरिक बनाउन लाग्नुपर्छ । शिक्षा, खानेपानी र स्वास्थ्य सामुदायीकरण गर्ने, प्रगतिशील कर लगाउने, जनतालाई देशभक्त बनाउने, सार्वभौमसत्ता जोगाउने, सीमा सुरक्षा गर्न लड्ने भावनाको विकास गर्ने युगको सुरुआत गर्नुपर्छ । यसतर्फ सरकारको ध्यान खोइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *