भर्खरै :

पुँजीवादी बन्दोबस्तमा बसेरै समाजवाद !

– मेरिना शाक्य
कम्युनिस्टहरू देश र जनताप्रति जवाफदेही हुन्छन् । उनीहरू दूरदर्शी, अन्तर्राष्ट्रवादी र बहुमत जनताका पक्षपाति हुन्छन् । उनीहरू बहुमत जनताको सेवामा आमूल परिवर्तन चाहन्छन् । आमूल परिवर्तन गर्न कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ प्रचार प्रसार गर्छन् । जनतालाई सिद्धान्त र विचारबाट सुसूचित पार्छन् । जनता सचेत र सङ्गठित नभइकन आमूल परिवर्तन सम्भव हुँदैन । यस्तो कार्यमा नेपाल मजदुर किसान पार्टीमात्र लागेर पुग्दैन । देशमा रहेका सबै कम्युनिस्ट पार्टीका नेता, मन्त्री, सांसद, कार्यकर्ता र जनप्रतिनिधिहरू लाग्नुपर्छ ।
कम्युनिस्टको सिद्धान्त र विचार कहिलेकाहीँ प्रचार गरेर पुग्दैन । पार्टीको सम्मेलन र बैठकमा मात्र उठाएर पनि पुग्दैन । कम्युनिस्ट पार्टीका सबै सदस्य, जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूमाझ सैद्धान्तिक र वैचारिक बहसको विषय बनाइनुपर्छ । आ–आफूलाई कम्युनिस्ट भनिने सबै दलका नेता तथा कार्यकर्ताहरू जहिल्यै कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको प्रचारमा जुट्नुपर्छ । तर, कम्युनिस्ट भनिने नेता तथा कार्यकर्ताले सिद्धान्त र विचार प्रचार गर्दैनन् । उनीहरूको चिन्ता जसरी भए पनि दल ठूलो बनाउने, सरकारको नेतृत्व गर्ने र राजस्वमा रजाइँ गरिरहनेतर्फ छ ।
कुनै पनि दलमा जो कोही पार्टी सदस्य हुँदैन, जो कोहीलाई पार्टी सदस्यता दिइँदैन । पार्टीमा बसेर काम गरेको आधारमा या देश र जनताको सेवा गरेको आधारमा पार्टी सदस्य बनाइन्छ । तर, एमाले र माओवादी मिलेर बनेको नेकपामा जो आए पनि पार्टीमा भित्याइन्छ, पार्टी ठूलो भएकोमा गर्व गरिन्छ । नेकपालाई पार्टी ठूलो भए पुग्छ । सिद्धान्त र विचारको ख्याल नगर्ने नेकपाले कम्युनिस्टको शासन या समाजवादी बन्दोबस्तको सरकार कसरी ल्याउँछ ? सिद्धान्त र विचारको ख्याल नगर्ने कुनै सरकारले देशमा के साँच्चै कम्युनिस्ट शासन ल्याउँछ ? जवाफ प्रस्ट छ, नेकपाले कम्युनिस्ट शासन ल्याउँदैन ।
सरकारको नेतृत्व नेकपाले गरिरहेको छ । सरकार संविधानअनुसार चल्नुपर्छ । संविधानअनुसार चल्ने सरकारले कसरी कम्युनिस्टको सिद्धान्त र विचारलाई लागू गर्छ ? कम्युनिस्टको सिद्धान्त र विचार लागू गर्न या अघि बढाउन या गतिविधि गर्न नेकपाले सरकार छोड्नुपर्छ । तर, नेकपाको सरकार सत्तामा टाँसिरहेको छ, सरकारमा बसेरै कसरी समाजवाद आउँछ, कसरी आमूल परिवर्तन हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *