भर्खरै :

महँगो खाटमा ‘क्रान्तिकारी’ नेताको अनिन्द्रा

 राजन
घना जङ्गल थर्कने गरी माइकबाट ठूलो आवाज आयो, “तिमी शाही सेनाको घेरामा परिसक्यौ, आफ्नो ज्यानको माया छ भने सेनासामु आत्मसमर्पण गर ।”
“महान् जनयुद्ध जिन्दावाद” भन्दै उसले आफ्नो कस्सिएको मुठ्ठी माथि उचाल्दै आफ्ना युवा लडाकूलाई आह्वान ग¥यो, “यी साम्राज्यवादी र विस्तारवादीका भरौटेहरूविरुद्ध रगतको एक थोपा रहेसम्म हाम्रो लडाइँ जारी रहनेछ । हामी कम्युनिस्टहरूको महान् धर्म भनेकै राष्ट्रका लागि बलिदान दिनु हो । हामीले गुमाउने भनेको हामीलाई बाँधिएको सिक्रीमात्र हो । तर, जित्यौँ भने सारा संसार हामीसामु हुनेछ । हाम्रो हरेक मृत्युले उत्पीडनमा परेका सम्पूर्ण जनताको मुक्तिको बाटो खुल्छ भने हाम्रा लागि त्यो महान् मृत्यु स्वीकार्य हुनुपर्छ । मेरो मृत्युपछि पनि यहाँहरूले मुक्तिको बाटोमा आउने हरेक बाधा–अवरोधलाई पन्छाउँदै क्रान्तिलाई अगाडि बढाउनुहुनेछ भन्ने मेरो आशा छ । हामी आत्मसमर्पण गर्दैनौँ, बरू जनताको मुक्तिका लागि शत्रुको विरोधमा लडेरै मृत्युवरण गर्नेछौँ ।”
फेरि माइकबाट आवाज गुञ्जियो, “आत्मसमर्पण ग¥यौ भने तिमीलगायत सम्पूर्ण लडाकूहरूको जीवनरक्षाको ग्यारेन्टी हामी गर्नेछौँ ।”
अब भने लडाकूहरूको आवाज माइकको आवाजभन्दा ठूलो भयो, “महान् जनयुद्ध जिन्दावाद ¤” “हाम्रो नेता जिन्दावाद ¤” को नाराले जङ्गल थर्कियो ।
लडाकूहरूको जोशमा थप ऊर्जा थप्दै ऊ पहिलेको भन्दा अझ तीव्र स्वरमा धाराप्रवाह बोल्न थाल्यो “युगौँदेखि पिछडिएका, दबिएका, हेपिएका हाम्रा दाजुभाइ, दिदीबहिनीको हकहितलाई सुरक्षित गर्नुछ । माक्र्सवादी, सर्वहारावादी, समाजवादी, राष्ट्रवादी, क्रान्तिकारीहरू मिलेर गाउँहरूलाई आधार इलाका बनाएर माओले चीनमा ‘जनवाद’ ल्याएजस्तै संसार बदल्ने शाश्वत एवम् महान् उद्देश्यलाई पूरा गर्नुछ ।”
फेरि एक पटक ‘महान् जनयुद्ध जिन्दावाद ¤’ को नाराले जङ्गल थर्कियो । यत्तिकैमा ठूलो आवाजसँगै निरङ्कुश शाही सेनाको तातो गोली उसको छातीबाट वारपार भयो । सबै उत्पीडित जनताको पक्षमा लडिरहेका लडाकूहरूले उसको सहादत नेपालको क्रान्तिको लागि गम्भीर र अपूरणीय क्षति भएको भन्दै एकै स्वरमा नारा गुन्जाए, “कमरेडको सपना साकार पार्छौँ–पार्छौँ, हाम्रा महान् सहिद जिन्दावाद ।”
xxx xxx xxx
ऊ असिनपसिन भएर बिउँझियो । जिउ थर्रर कामिरहेको थियो । आफ्नो आलिसान पलङसँगै रहेको बोतलको पानी खाएर सुकेको घाँटी भिजाउँदै एकछिन टोलायो । ‘बरु सहिद भएको भए मेरो जीवन महान् हुन्थ्यो । सम्पूर्ण जनताले मलाई सधैँभरि माया गर्थे, सम्झन्थे । यतिबेला एमसीसीबारे नेपालीहरूबीच बहस भएजस्तै मैले बनाएको क्रान्तिपथमाथि ठूलै बहस भइरहेको हुन्थ्यो । तर, अहिले नोटले हात फेरेजस्तै कमरेड फेर्ने कोटीमा मलाई पारिएको छ । शोषित, पीडित जनताको हक–अधिकारको लागि महान् क्रान्ति गर्न सबै जनतालाई आह्वान गर्ने म आफैँ ठग, भ्रष्ट ठेकेदारको हकहितको लागि लडाइँ लडिरहनुपरेको छ । आज मेरो चारैतर्फ अपमान भइरहेको छ, अवसरवादी भनेर चिनिन बाध्य छु । विस्तारवादी भनेर जसको विरुद्ध सुरुङयुद्धको आह्वान गरेको थिएँ, उसैको सहयोगमा आफ्नो जीवन सुरक्षित बनाउनुपरेको छ । जसलाई साम्राज्यवादी भनेर आरोप लगाएँ, आफ्नो बुढीको उपचारको निहुँमा उसकै शरणमा शिर निहुराउनुपरेको छ । विदेशी दलालको आरोप खेप्नुपरेको छ । आफ्नै कार्यकर्ताको थप्पड खानुपरेको छ । समयले कसरी कोल्टो फेरेछ’, लामो सुस्केरा हाल्दै उसले कोल्टे फे¥यो ।
निद्राले साथ नदिँदा गालामा हात राख्दै ऊ फेरि गम खान थाल्यो, “समाजवादको स्थापना र पुँजीवादको विरोधमा सबै जनतालाई एकबद्ध पार्दै युद्धमा होमिन आग्रह गर्ने म ‘जहाँ पाप त्यहाँ फलिफाप’ को मन्त्र जप्दा उल्टै पुँजीवादको दलदलमा भासिन पुगेछु । मान्छेको अनुहार कुरूप बनाउन तेजावै छ्याप्नुपर्छ भन्ने रहेनछ, जनताको घृणारूपी तेजावले मेरो अनुहारकुरूप भएको महसुस भइरहेको छ । मेरो लागि आफ्नो ज्यान बलिदान दिन तत्पर हुने जनताले आज यसलाई मार्नुपर्छ, ज्युँदै कोपर्नुपर्छ, रगत पिउनुपर्छजस्ता शब्दरूपी हिंसा ममाथि खन्याएका छन् । भ्रष्टाचारी, दलालबीच मेरो हुकुम चले पनि जनतामाझ अनुहार देखाउन पनि लाज मान्नुपर्ने भएको छ । आज मजस्तो नास्तिकले पनि भैंसी पूजा गरेको छु । सोझा–सिधा जनतालाई सिँढी बनाएर आफ्नो दुनो सिधा पारेको आरोप लाग्दा मरेतुल्य भएको छु । देशको लागि जनतालाई त्यागको पाठ सिकाउँदा–सिकाउँदै आफ्नै नातागोताको स्वार्थलाई त्याग्न सकिनँ । चपरासीको लागि पनि नसुहाउने आफ्ना नातेदारलाई लाभको पद दिलाउन अनेक प्रपञ्च रचेँ । महान् उद्देश्य प्राप्त गर्ने नाममा छोरी, बुहारी, भाइ, सालो सबैलाई मेयर, मन्त्री, राजदूत बनाएँ । जसले मेरो निम्ति बनावटी धुप बाले उसलाई नै मेरो नजिक बनाएँ । ‘जनयुद्ध’ कालमा जनताको पक्षमा ज्यानको बाजी लगाएर अग्रमोर्चामा लड्दालड्दै तत्कालीन शाही सेनाले हानेको गोली र बम खाएका इमानदार जनता मबाट टाढिए । रुखमा झुन्ड्याएर गोली हानेको, जिउँदै गाडेको, गुडिरहेको बसलाई एम्बुसमा पारेकोजस्ता आरोप मैले खेप्नुपरेको छ । १७ हजार निर्दोष जनताको हत्याको जिम्मेवारी पनि मैमाथि लागेको छ ।”
‘महान्’ नेतालाई निद्रा फिटिक्कै लागेन । तर, उसको मनमा कुरा भेलसरि बगेको छ, “बाघको छाला ओढ्ने महादेवको मन्दिरभित्र छिर्न छालाको बेल्ट फुकाल्नुपर्ने नियम बनाउने पुरोहितको दिमागजस्तै बनेको छ मेरो दिमाग पनि । लोभलालचमा फसेर दलाल पुँजीपतिहरूसँग साँठगाँठ गर्दै अथाह सम्पत्ति जोड्ने म आफैँले सबै कामरेडले पुख्र्यौली सम्पत्ति पार्टीको नाममा परित्याग गर्नुपर्ने नियम बनाएँ । श्रीखण्डरूपी समाजवादी आन्दोलन खुर्पाको बिँड मेरै कारणले बनेको छ । युगौँदेखि पछाडि पारिएकाको पक्षमा पहिचानको राजनीति गर्दै आए पनि ‘पहिचान’ हात्तीको देखाउने दाँत बनाएँ । समाजवाद वा कम्युनिस्टका कुरा सार्वजनिक खपतकै लागि मात्र बोलिरहेको कुरा सबैले चाल पाइसकेका छन् । अब कसैलाई ढाँट्न सक्ने अवस्था छैन । जीवनपर्यन्त मैले यो पीडा बोकी हिँड्नुपर्नेछ ।”
xxx xxx xxx
लामो सुस्केरा हाल्दै नेताजी फेरि आफैसँग कुरा गर्न थाले, “पीडा पनि भनी नसक्नुको छ । वास्तवमा इमानदार भएर बाँच्न गा¥हो छ । जिउनलाई सजिलै छ तर स्वाभिमानी भएर जिउन निकै गा¥हो छ । युवा अवस्थामै सहिद हुनु भनेको ठूलो त्याग र समर्पण हो । तर, वृद्धावस्थासम्म इमानदार भएर जीउनु साँच्चै जिउँदो सहिद नै हो । लामो जीवनकालमा साम्राज्यवादी र विस्तारवादीले विभिन्न लोभमा फसाउन खोज्ने अनेक प्रयासबीच पनि कुनै लोभलालचमा नफसी इमानदार भएर हिमालजस्तै अटल रहिरहन पो गा¥हो रहेछ । त्यस्ता व्यक्तित्व साँच्चै जिउँदा सहिद नै हुन् जो यस्ता लोभलालचमा कहिल्यै फसेनन् ।” यति कुरा मनमा खेलाएर ऊ फेरि सिरकमुनि गुटमुटिएर घुर्न थाल्यो ।
सहिद दिवसको अवसरमा सम्पूर्ण वास्तविक सहिदप्रति नमन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *