शैक्षिक डामाडोलले देश ध्वस्त हुने !
- बैशाख ८, २०८३
– निर्जला
नेपाली काङ्ग्रेसको स्थानीय तह निर्वाचन २०७४ को घोषणापत्र सार्वजनिक हुनासाथै देशको सबभन्दा ठूलो राजनैतिक दलको असन्तुलित ठम्याइबारे प्रचारमाध्यम र बुद्धिजीवीहरूमाझ तीव्र प्रतिक्रिया देखियो । कुनै राजनैतिक दलको कार्यक्रम र घोषणापत्रमा तत्कालीन राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति तथा आफ्नो दलको वर्ग विश्लेषण गरिएको हुन्छ । त्यसपछि दलले आन्दोलन वा क्रान्तिमा विजय पाएपछि आफ्नो सरकारले लिने शत्रु को हो र मित्र को हो भन्ने ठम्याइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति, आर्थिक, स्वास्थ्य, शिक्षा आदि नीतिबारे प्रस्ट घोषणा गरेको हुन्छ र सोअनुसार व्यवहारमा कार्यान्वयन गर्ने गरिन्छ ।
तर नेपाली काङ्ग्रेसको १२ वैशाख जारी घोषणापत्र नेका पार्टीको न कार्यक्रम हो न त घोषणापत्र हो, खाली स्थानीय तहको घोषणापत्रमात्र हो । स्थानीय तहको घोषणापत्रमा नगरपालिका र गाउँपालिकाहरूमा नेपाली कांग्रेसले विजय प्राप्त गरेका जिल्लाहरू के कसरी स्थानीय स्रोत र साधनअनुसार ऐनले दिएका दायित्वहरू कार्यान्वयन गर्ने हो भनी नीति प्रस्ट पार्ने हो ।
तर नेकाको घोषणापत्रको ‘समसामयिक राजनीति र आजको राष्ट्रिय एजेन्डा’ शीर्षकमा हरेक विषयमा आत्मप्रशंसा र आत्मश्लाघाको प्रचार गर्दै हिजो र आजका आफ्ना शासनमा सहभागीहरूलाई सत्तोश्राप गरिएको छ ।
एमालेलाई ‘असहिष्णु र आक्रामक प्रवृत्तिका’ सहयोगी, ‘अवसरवादी राजनीतिक चरित्र’ भएको, विकास, न्याय क्षेत्र र कूटनीतिक क्षेत्रका नियुक्तिहरूलाई एमालेले बदर गरेको, ‘वित्तीय क्षेत्र र साधन’ लाई दलीय स्वार्थको निम्ति दुरुपयोग गरेको आदि लाञ्छना लगाइएको छ ।
तराई–मधेसको आन्दोलन एमालेकै अतिवादी राजनैतिक अडानले आदिवासी जनजातिको पहिचानको आन्दोलन, थारु, मुस्लिमलगायतको आन्दोलनमा एमालेले नकारात्मक र असहिष्णु व्यवहारले नेपाली राजनीतिलाई झन् गम्भीर र जटिल बनायो, साना राजनैतिक दलप्रति पनि अनुदार देखियो ।
सारमा नेकाको विश्लेषणमा सरकारको सहयोगी एमाले अतिवादी, नक्कली राष्ट्रवादी, संसदीय अभ्यास र विकासको प्रक्रियामा समेत नकारात्मक प्रभाव पार्ने लोकतान्त्रिक अभ्यासलाई क्षति पु¥याउने दल मानेको छ ।
नेकाले नेकपा (माओवादी) लाई ‘अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने र ‘ढुलमुल’ प्रवृत्तिको अर्थात् राजनैतिक अस्पष्टता भएको दल हो ।
मधेसवादी दलहरू नेकाको ठम्याइमा ‘हठधर्मिताको चक्रब्युह’ को शिकार अतिवादी सोच र प्रवृत्तिका दलहरू हुन् ।
राप्रपाबारे नेकाको ठम्याइ हो –‘अतृप्त सत्ता राजनीति र पञ्चायत मोहको प्रवृत्ति’ को बन्दी, अवसरवादी र सत्ता राजनीतिको ‘भोका, अतिवादी र ढुलमुले’ प्रवृत्तिको दल हो ।
माथिका सत्ताका सहयोगी दलहरूका बारेको दृष्टिकोणले नेपाली काङ्ग्रेस दूध र गंगाजलले शत प्रतिशत शुद्ध, राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिले पनि अत्यन्त सन्तुलित देखाउन खोजेको वा देशको भद्रगोल राजनीतिबारे निर्दोष सावित गर्ने असफल जमर्को गरिएको छ । सबै दोष अरुको थाप्लोमा थुपारेर आफू साखुल्ले बन्न खोजिएको छ । यो प्रवृत्ति अत्यन्त मनोगतवादी र खोटपूर्ण छ ।
विश्लेषकहरूको आँखामा विभिन्न राजनैतिक दलहरूबारे नेकाले केलाएका दोषहरूलाई नेपाली कांग्रेसको थाप्लोमा ल्याउँदा मात्रै नेकाको सग्लोअनुसार देखिनेछ । के सत्य हो भने परराष्ट्रनीतिबारे मौन रहेर नेपाली कांग्रेसले देशभक्तिलाई तिलाञ्जली दिई साम्राज्यवाद र विस्तारवादको पिठ्ठू भएको विषयलाई लुकाउन खोजेर देश र जनतालाई धोखा दिंदैछ भन्ने प्रस्ट छ ।
भारतले गरेको नाकाबन्दीको पुरै अवधिमा नेपाली कांग्रेसले त्यसको विरोधमा कहिले पनि विरोध र निन्दा त के दुःखसमेत प्रकट गरेन । सारा जनता हाहाकारमा बाँचिरहेको बेला नेपाली कांग्रेसले राजनैतिक दलको रुपमा आफ्नो कर्तव्य बिस्र्यो, किन ? दासहरूले विद्रोह गर्नसक्छन्, तर आँखा जुधाएर कुरा गर्नसक्दैनन् ! नेपाली कांग्रेस भारतीय विस्तारवादसँग न विद्रोह गर्ने आँट राख्छ, न त आँखा जुधाएर कुरा गर्ने हिम्मत राख्छ !
साना दलहरूमाथि थ्रेसहोल्ड लागू गर्नेबारे नेपाली कांग्रेस त एमालेसँगै थियो । नेपाली कांग्रेसलाई के थाहा थियो भने यो थ्रेसहोल्डले मधेसी दलहरू एक हुनेछन् र एमालेमाथि प्रहार गर्न उसलाई सहयोग पुग्नेछ ।
‘ढुलमुल’, अवसरवाद र सत्ता लोलुपताबाट के नेपाली कांग्रेस मुक्त छ ? यो सबभन्दा ठूला शोषकले अरुलाई शोषण नगर्नु भनी शिक्षा दिएजस्तै हो । माथि उल्लेख सबै दलहरू एउटै ड्याङका मूला हुन् ।
Leave a Reply