भर्खरै :

क्यान्सरबाट बच्न सजगता अपनाऔँ

–आरोही श्रेष्ठ
मङ्गलबार फेब्रुअरी ४ का दिन विश्वभर क्यान्सरसँग लड्नका लागि सचेतना जगाउने ध्येयले क्यान्सर दिवस मनाइयो । विभिन्न अङ्गमा हुने क्यान्सरबाट बर्सेनि विश्वमा करिब ९० लाख जनताको मृत्यु हुने गरेको विभिन्न संस्थाले तथ्याङ्क निकालेका छन् । क्यान्सरलाई सबैभन्दा उग्ररूपमा वृद्धि भइरहेको नसर्ने र खतरनाक रोगभन्दा फरक परेन ।
प्राकृतिक नियमअनुसार शरीरमा अर्बौँ सङ्ख्यामा कोषिकाहरू बन्ने र बिग्रने क्रम चलिरहेको हुन्छ । यसै क्रममा विभिन्न प्रकारका वातावरणीय विकारको असरले प्राकृतिक नियम तोडिन पुग्छ । सामान्य भाषामा भन्दा कोषिकाहरू नियन्त्रण बाहिर पुगेर बढ्न थालेको अवस्थालाई क्यान्सर भन्न सकिन्छ । क्यान्सरले गर्दा अर्कै प्रकारका कोषिकाहरू बन्ने क्रम सुरु हुन्छ । क्यान्सर लागेपछि कोषिका बढाउने तत्वले कुनै नियम मान्दैन र आफ्नै सुरले बढ्दै जान्छ । तर मानव शरीरलाई चाहिने सबै तत्वहरू भने खपत गर्दै जान्छ र मानिस कमजोर हुँदै जान्छ । क्यान्सर हुने ठोस कारण पत्ता नलागे पनि ५० प्रतिशत जति क्यान्सर खानाको कारणले लाग्ने धेरैवटा अध्ययनहरूको निष्कर्ष छ । हामीले मीठो मानेर खाने क्यान्सर बोसोयुक्त मासु, पोलेको, भुटेको, टारेकोे मासु आदि खाएर, मोटाएर तथा धूमपान, मदिरा सेवन आदिको कारणले लाग्ने गर्छ । चुरोटले मात्र पनि करिब ३५ प्रतिशत क्यान्सर हुने जोखिम हुन्छ । शारीरिक व्यायामको कमीले पनि क्यान्सर जन्माउन मद्दत पु¥याउने बताइन्छ । हाम्रा खराब र सौखिन व्यवहारले नै क्यान्सरजस्तो खतरनाक रोगले जन्म लिन्छ । अन्य कारणमा एचआत्ी र एड्स, हेपाटाइटिस बी, एचपीभी भाइरस, एच पाइलोरी आदि रहेका छन् । विकिरण उत्पन्न हुने क्षेत्रमा काम गर्ने, रङ्ग्याउने रसायन, एसबेस्टस तथा प्रदूषित वातावरण पनि क्यान्सरको प्रमुख कारक तत्व मानिन्छ । क्यान्सर धनी, शिक्षित, गरिब जुनसुकै समाज र राष्ट्रमा जोसुकैलाई जुनसुकै बेला लाग्नसक्छ । त्यसैले क्यान्सरजन्य कारक तत्वबाट पर बस्न सकेमा यो रोगबाट बच्न तथा टाढा रहन सकिन्छ । क्यान्सर रोगको औषधि गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम मानिन्छ ।
खाना अपच वा निल्न गाह्रो भएमा, स्तन वा अन्य ठाउँमा नदुख्ने गिर्खा आएमा, निको नहुने गरी खोकी वा स्वर धोक्रो भएमा, कोठीको आकार बढेर ठूलो हुँदै गएमा, निको नहुने घाउ भएमा, घाउबाट अत्यधिक रक्तस्राव या पिप आएमा, दिसा वा पिसाबको तालिका फेरिएमा तुरुन्त उपचार थालिहाल्नुपर्छ । क्यान्सरको उपचार रेडियोथेरापी (विकिरणद्वारा), केमोथेरापी (औषधि प्रयोग गरेर) सर्जिकल (शल्यक्रिया गरेर) र रोगको प्रकृतिअनुसार हार्मोन र बायोलोजिकल प्रोडक्टअनुसार पनि क्यान्सरको उपचार गर्नसकिन्छ । रोग लाग्दैमा डराएर हिम्मत हार्नुहुँदैन, बेलैमा उपचार गरे क्यान्सर रोग निको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *