भर्खरै :

सम्पत्तिको लोभमा देश प्रयोगशाला नबनोस्

– तुल्सीनारायण लाखेमरु
आजकल विज्ञानको समय हो । आजकल कम्प्युटरको जमाना हो । विज्ञान र प्रविधिको युगसँगै यहाँ अनेक जनशक्ति तयार हुनथाल्यो । हाम्रा सन्तानहरू डाक्टर भए, इन्जिनियर भए र सांसद भए । अहिले देशमा नेकपाको नेतृत्वमा सरकार छ । संविधानमा समाजवादउन्मुख राज्य उल्लेख छ । नेकपाको झन्डै दुईतिहाइ सांसद छन् । उनीहरु आफ्नो–आफ्नो हिसाबले मन्त्री र प्रधानमन्त्री बने । तर, समाजवाद कागजमा मात्र सीमित भयो र समाजवादको नाममा एमसीसी ल्याउने होइन । जनताले एमसीसीको विरोध गर्दै छन् । देशभक्त जनताले नेपाल आमालाई बन्धकीमा राख्दैनन् । विवेकशील र नैतिकवान नागरिकको छाती हिमालझैँ उच्च हुन् । घमण्डी मान्छे बाटोमा चिप्लिन्छ र नीच साबित हुन्छ । हामीले हिमाल, पहाड र तराईको संस्कृति, देवालय, शिवालय आदि सम्पदाको माया गर्नुपर्छ । धन सम्पति कमाउने लोभमा नेपाल आमालाई आँसुमा डुबाएर आफू हाँस्ने र रमाउने काम कहिल्यै नगर्दा राम्रो हुन्छ । आफ्नो टोलछिमेक र साथीसङ्गी सबैसँग मिलेर बस्दा राम्रो हुन्छ । सबैको मन बिगारेर नेकपाको समाजवाद ल्याउने सङ्कल्प तुहिन दिनुहुँदैन । ५० अरबको लोभमा नेपाल आमालाई बेच्नु हुँदैन । ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भन्ने पुर्खाले सिकाएको भनाइको मनन गर्नु आवश्यक छ । नेपाली सेनाको रगत पसिना हामीले बिर्सनु हुँदैन ।
छात्तीमा हात राखेर हामीले भन्नुपर्छ, “नेपाल आमा महान् छिन् ।” नभए भविष्यमा आँसु चुहाउँदै छुटाउनु पर्ला । हाम्रो चन्द्र सूर्य अङ्कित झन्डा झुक्न दिनुहुँदैन । सहिदहरूको सपना भुल्नुहुँदैन । बुद्धि र विवेक एकै ठाउँमा राखेर विशाल हृदयले सोच्नुपर्दछ । विवेकहीन मानिस पशुसरह हुन्छन् । विवेकशील मान्छेहरू महान् बन्छन् ।
अमेरिकी सरकारको स्वार्थी र अभिमानीको विश्वले आलोचना गरिरहेको छ । एमसीसी महादेवले भष्मासुरलाई बरदान दिएजस्तै सावित नहोस् । एमसीसी गुलियो पोतेको विषजस्तै हो । देशको बागडोर सम्माल्नेबारे सोच्नु आवश्यक छ । भोलि कैयौँ हाम्रा सन्ततिले दुःख भोग्न नपरून् । अर्ती भनेको धर्तीको पनि सुन्नुपर्दछ । मान्छेको शत्रु अल्पज्ञानी हो ।
घरको शत्रु मुसा र चराचुरुङ्गीको शत्रु काग हुन् भनेजस्तै धर्तीको शत्रु भ्रष्टाचारी हो । पैसाले नाताकुटुम्ब टाढा हुन्छ । पैसाले आमाबुबा भन्दैन । सुन सयचोटि जोख्ने मान्छे एकचोटि जोख्ने भनेजस्तै नेताहरू पटक–पटक जोखी राख्नुपर्दैन । देशलाई नोक्सान गर्ने नेतालाई जनताले कारबाही गर्ने छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *