भर्खरै :

कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी

– नारायण अधिकारी
चितवन, २८ माघ । नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु. १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् ।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताउनुभयो । उहाँका अनुसार गएको एक वर्षमा रु. ५५ लागत पर्ने चल्ला सरदर प्रतिगोटा रु. २५ मा बिक्री भएको छ । देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा रु. ३० घाटा सहनुपरेको छ । गएको एक वर्षमध्ये ६ हप्ता लागत मूल्यमा बिक्री भए पनि बाँकी समय घाटामा बिक्री गर्नुपरेको थियो । यसरी हेर्दा एक वर्षमा रु. ४ अर्ब ७२ करोड ५० लाख हाराहारी घाटा कृषकले व्यहोरेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी सातामा १ लाख ५० हजार बिक्री हुने लेयर्स चल्लाबाट गत एक वर्षमा रु. ३० करोड हाराहारी नोक्सान भएको पोखरेलले जानकारी दिनुभयो । यस्तै मासुमा दैनिक ९ लाख ५० हजार किलो बिक्री गर्दा सरदर प्रतिकिलो रु. ३० घाटा व्यहोर्नुपरेको उहाँको भनाइ छ । यसबाट एक वर्षमा रु. ९ अर्ब ७२ करोड नोक्सान भएको उहाँले बताउनुभयो ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभुषाल ओली नेपालमा दैनिक ५० लाख अण्डामा प्रतिगोटा रु. ३ हाराहारी नोक्सान भएको बताउनुहुन्छ । अण्डाबाट एक वर्षमा रु. ३ अर्ब ४ करोड ५० लाख नोक्सान भएको उहाँले जानकारी दिनुभयो । देशभरमा ठूलो सङ्ख्यामा कृषक विस्थापित भएको ओलीको भनाइ छ ।
यसरी कुखुराजन्य उत्पादनमा एक वर्षमा रु. १७ अर्ब ७९ करोड हाराहारी नोक्सान भएको देखिन्छ । पोल्ट्री व्यवसायी डा. तिलचन्द्र भट्टराई नोक्सान धान्न नसकेर ३० प्रतिशत व्यवसायी विस्थापित भएको बताउनुहुन्छ । अन्यले बैङ्कको ऋण सार्ने वा सोही बैङ्कमा ऋण थपेर टिकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सबै धरापमा छन् ।” बर्डफ्लु आउँदासमेत तीन चार महिना नोक्सान व्यहोरे पनि गएको एक वर्ष व्यवसाय पूरै नोक्सानमा गएको उहाँको भनाइ छ ।
उत्पादित कुखुराजन्य पदार्थको एकातर्फ मूल्य नहुने अर्काेतर्फ दानाको कच्चा पदार्थको मूल्य बढ्दा थप समस्या उत्पन्न भएको उहाँको भनाइ छ । एक वर्षअघि प्रतिकिलो रु. २९ को मकै अहिले रु. ३८ पुगेको छ भने रु. ५६ को भटमास रु. ७२ सम्म पुगेको डा. भट्टराई बताउनुहुन्छ ।
उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका डा. भट्टराई ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु. ५५, लेयर्स चल्लाको प्रतिगोटा रु. ९०, अण्डा प्रतिगोटाको रु. १० र मासु प्रतिकिलो रु. ३३० पर्ने बताउनुहुन्छ । अहिले बजारमा दानाको मूल्य रु. ५३ देखि रु. ६४ सम्म पर्ने गर्दछ ।
नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्षसमेत रहनुभएका टीकाराम पोखरेल नेपालमा ३०८ ह्याचरी, एक हजारभन्दा बढी ठूला फार्म र ब्रोइलर कुखुरा पाल्ने साना फार्म १० हजारभन्दा बढी रहेको बताउनुहुन्छ । यस क्षेत्रमा रु. १ खर्ब १५ अर्ब लगानी भएको उहाँको भनाइ छ । यसमध्ये आधाभन्दा बढी बैङ्किङ लगानी रहेको छ ।
लगातारको मूल्य गिरावटपछि पछिल्लो समय लागत मूल्य धान्ने गरी व्यवसायीले मूल्य तोकेर बिक्री वितरण सुरु गरेका छन् । हाल अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु. ३०५, मासु प्रतिकिलो रु. ३८० र ब्रोइलर चल्ला रु. ६५ एवं लेयर्स चल्ला रु. ६० देखि ७० सम्म बिक्री गर्न सुरु गरिएको छ । यद्यपि ब्रोइलर पालक किसानले जिउँदो कुखुराको मूल्य रु. २०० देखि २२० सम्म मात्रै पाउँदै आएका छन् । मासुको मूल्य उच्च भएपनि किसानले जिउँदो कुखुराको उचित मूल्य पाउन सकेका छैनन् । बजारमा अन्य मासुको मूल्य उच्च भए पनि अण्डा र कुखुराको मासुको मूल्य कम भएको व्यवसायीको गुनासो छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *