के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
विकाससम्बन्धी बुझाइ सुरुदेखि सापेक्षिक रहँदै आएको छ । कोलोम्बसले अमेरिका पत्ता लगाएपछि त्यहाँ गएका युरोपेलीहरूले गरेको ‘विकास’ त्यहींका आदिवासी रेड इन्डियनहरूको लागि सभ्यताको ‘विनाश’ थियो । युरोपेलीहरूले ‘विकास’ को नाममा रेड इन्डियनको सभ्यतामाथि लगातार अतिक्रमण गरे । रेड इन्डिनहरूलाई ‘असभ्य’ र ‘जङ्गली’ को जामा पहिराएर सभ्यता र आधुनिकताको नाममा युरोपेलीहरूले आदिवासी जनताको परम्परालाई ध्वस्त बनाए । भारतले बेलायतमाथि, अफ्रिका र ल्याटिन अमेरिकामा युरोपेली देशहरूले लादेको उपनिवेशको इतिहास सारमा योभन्दा फरक थिएन । उपनिवेशवादीहरू पराया भूमिमा हमला र हस्तक्षेप गर्दा सधैं ‘सभ्यता’ र ‘आधुनिकता’ कै कुरा गर्ने गर्छन् । उपनिवेशवादीहरूले भन्ने गरेको विकास वास्तवमा उपनिवेशित जनताको लागि विनाश हुने गरेको छ अर्थात् कसैको लागि विकास अर्को कुनै पक्षको लागि विनाश बन्न सक्छ ।
खोकना र बुङमती काठमाडौैँ उपत्यकाको प्राचीन संस्कृति र सभ्यतासँग जोडिएको ठाउँ हो, जीवित संस्कृतिको क्षेत्र हो । खोकना र बुङमतीको अस्तित्व नष्ट हुनु सभ्यताको एउटा खण्ड नष्ट हुनु हो । जीवन्त संस्कृतिको शृङ्खला टुट्नु हो । त्यहाँको संस्कृति नष्ट गरेर गरिने विकास सांस्कृतिक उपनिवेशवादको उदाहरण हो । उपनिवेशवाद एउटा देशले अर्को देशमाथि लादिने राजनीतिक दमन मात्र होइन । उपनिवेशवाद एउटा संस्कृतिले अर्को संस्कृतिमाथि गरिने हमला पनि हो ।
प्रसङ्ग ललितपुर महानगरपालिकाको खोकना र बुङमतीमा ‘विकास’ को हो । सरकारले ‘समृद्धि र विकास’ को नाममा लागू गरेका विभिन्न सात आयोजनाले प्राचीन सभ्यता र संस्कृतिको गृहभूमि खोकना र बुङमतीको सांस्कृतिक अस्तित्व समाप्त गर्ने निश्चित छ । शासक वर्गले विकासको नाममा गर्न लागेको काम आज स्थानीय जनताको निम्ति आफ्नो अस्तित्वको विनाश बन्दै छ । देशको शासनको बागडोर सम्हालेका शासक उपनिवेशवादी युरोपेली र बुङमती–खोकनाका जनता उत्पीडित रेड इन्डियनजस्ता भएका छन् । विकासको नाममा लागू गरिएका आयोजनाविरुद्ध कसैले बोले उसलाई ‘विकासविरोधी’ को आरोप लगाइने गरेको छ जसरी रेड इन्डियनलाई ‘असभ्य’ र ‘जङ्गली’ को आरोप लगाइन्थ्यो ।
अमेरिका, अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा लादिएको उपनिवेशवादी शासन समयले असान्दर्भिक पुष्टि गरिसकेको कालो इतिहास हो । एक्काइसौँ शताब्दीका सचेत मानिस आज त्यो इतिहासलाई ब्युँताउने कल्पना पनि गर्नसक्दैन । आजको युगमा जसले त्यस्तो कालो इतिहास दोहो¥याउने सोच्छ, ऊ असभ्य हो । संसारका सबै साना–ठूला सभ्यताको समान अस्तित्व र महत्व हुन्छ । कुनै सभ्यता र संस्कृति नासिने विकास उपनिवेशवाद र असहिष्णुताको नयाँ संस्करणमात्र हुनसक्छ ।खोकना र बुङमती काठमाडौैँ उपत्यकाको प्राचीन संस्कृति र सभ्यतासँग जोडिएको ठाउँ हो, जीवित संस्कृतिको क्षेत्र हो । खोकना र बुङमतीको अस्तित्व नष्ट हुनु सभ्यताको एउटा खण्ड नष्ट हुनु हो । जीवन्त संस्कृतिको शृङ्खला टुट्नु हो । त्यहाँको संस्कृति नष्ट गरेर गरिने विकास सांस्कृतिक उपनिवेशवादको उदाहरण हो । उपनिवेशवाद एउटा देशले अर्को देशमाथि लादिने राजनीतिक दमन मात्र होइन । उपनिवेशवाद एउटा संस्कृतिले अर्को संस्कृतिमाथि गरिने हमला पनि हो । शासक दलले आज काठमाडौँ उपत्यकाको संस्कृतिमाथि एकपछि अर्को हमला गर्नु सांस्कृतिक उपनिवेशवादको शिलशिला हो । युरोपेलीले विकासको नाममा अमेरिकाका आदिवासी जनतामाथि गरेको दमनको नयाँ रूप आज एसियाली देश नेपालको राजधानीमा देखिएको छ । चेतनाले नकारिसकेको कालो इतिहासको पहरेदारी आज हाम्रा शासकहरूले गरिरहेका छन् । समयको विडम्बना ! उत्पीडनको कङ्कालमा विकास र समृद्धिको श्रीपेच !
Leave a Reply