भर्खरै :

ख्वप कलेजको शैक्षिक प्रदर्शनीबारे विद्यार्थी

भक्तपुर नगरपालिकाले सञ्चालन गरेका ख्वप कलेज, शारदा कलेज र ख्वप माविको वार्षिकोत्सवमा गत हप्ता आयोजित तीनदिने शैक्षिक प्रदर्शनी भव्यरूपमा सम्पन्न भयो । विद्यार्थीले सिके र सिकाए । प्रदर्शनीमा ख्वप कलेज, वातावरण विज्ञान सङ्कायमा अध्ययरत विद्यार्थीले वातावरणसम्बन्धी सामग्रीहरू राखेका थिए । प्रदर्शनीबारे वातावरण विज्ञानका विद्यार्थीको अनुभव सार यहाँ प्रस्तुत गरिएको छ ।
ऋचा श्रेष्ठ
वातावरण संरक्षणबारे आफूले हासिल गरेको ज्ञान सामान्य मानिसले पनि बुझोस् भन्ने हाम्रो ध्येय थियो । खानेपानीको अभाव अहिलेको जल्दोबल्दो समस्या हो । पानीको अभाव पूर्ति गर्न पानी खेर नजाओस् भन्नेमा ध्यान जानु पनि उत्तिकै आवश्यक छ । साथै हाम्रा पानीका स्रोतहरूको संरक्षण अझै जरुरी छ । फोहर पानीको बिसर्जन सिधै खोला वा नदीमा गर्दा प्रदूषण बढ्नुको साथै खोला वा नदीका जीव तथा वनस्पति हराए । त्यसैले सहरबाट बग्ने फोहर पानीलाई उपचार गरी खोला सफा पार्ने हामीले सल्लाह ग¥यौँ । यसैलाई मोडेलमार्फत् देखाउने हाम्रो टुङ्गो भयो ।
तीन दिन लगाएर हामीले एउटा मोडेल तयार पा¥यौँ । प्रदर्शन हेर्न आउनेको प्रतिक्रियाले हामीलाई उत्साहित बनायो । हाम्रो मोडेलप्रति पाको मानिसले चासो देखाए तर विद्यालयका साना नानीहरूको भने त्यति ध्यानाकर्षण गर्न सकेनौँ । भीडभाडले गर्दा पनि गा¥हो भयो । इन्छुकलाई मात्र स्टलमा छिराउने व्यवस्था गरिएको भए राम्रो हुन्थ्यो । त्यसको निम्ति पर्याप्त स्वयम्सेवक चाहिन्छ ।
म पाँच वर्षदेखि ख्वपमा अध्ययन गर्दैछु । यस वर्ष स्टलहरू अलि कम भएजस्तो लाग्यो । तीनदिनसम्म चलेकोले धेरैले हेर्ने अवसर भने पाए । पहिलो दिनको उद्घाटन कार्यक्रम अलि लामो भयो । मन्तव्यहरू धेरै र लामो पनि अनुभव भयो । समग्रमा प्रदर्शनी धेरै राम्रो लाग्यो ।
नसला सुवाल
सुरुमा सिकेका कुरा व्यवहारमा कसरी उतार्ने भन्ने चिन्ताले सताएको थियो । कलेजमा पढेका वातावरण संरक्षणसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान विद्यालय तहका विद्यार्थीलाई बुझाउने चुनौती थियो । विद्यार्थीलाई हेर्ने, छाम्ने वा अनुभव गर्नेखालको सामग्री बनाउने हाम्रो लक्ष्य थियो ।
हामी स्नातक तहका विद्यार्थीले फोहर कसरी व्यवस्थापन गर्न सकिन्छ, पानीको बचत कसरी गर्न सकिन्छ, पानीको मुहान कसरी सफा गर्न सकिन्छ, खोला वा नदीको पानी कतिको प्रदूषित छ भन्ने कसरी थाहा पाउनेजस्ता विषयमा प्रदर्शनका सामग्री तयार पारेका थियौँ । शिक्षकले दिएका सुझाव र विद्यार्थीका अक्कलबाट हामीले विभिन्न मोडेल बनायौँ । कामको सिलसिलामा साथीहरूसँगै बस्दा रमाइलो भयो । विद्यार्थीबीच सहकार्य अरु बलियो भयो । मिलेर काम गर्ने सीप सिक्यौँ । प्रदर्शनीले हामीलाई सामाजिकसमेत बनायो ।
संजय श्रेष्ठ
प्रदर्शनीले लगभग एक सय विद्यालयका ६–७ हजार विद्यार्थीलाई ख्वप कलेज परिसर तान्यो । हाम्रो स्टलमा आउने विद्यार्थीलाई वातावरण संरक्षणबारे सक्दो जानकारी गराउने प्रयास ग¥यौँ । हामी वातावरण विज्ञानका विद्यार्थीले स्मार्ट सीटीको मोडेल बनाएका थियौँ । त्यस्तै फोहर व्यवस्थापन, पानीको गुणस्तर सङ्केत गर्ने कीराहरूको पहिचान र ढलमा बग्ने पानी सफा गर्ने विधिबारे मोडेल बनाएका थियौँ ।
प्रदर्शनी हेर्न आउने कति विद्यार्थीले बुझेका कुरा टिपोट गरे । विद्यार्थीका जिज्ञासाहरू मेटाउन हामी तयार थियौँ । विद्यार्थीका जिज्ञासा देख्दा जति बोल्दा पनि थाकेको महसुस भएन । अझै राम्रा मोडेल बनाउँजस्तो बनायो । हामीमा थप ऊर्जा भरिएको अनुभव हुन्थ्यो । कक्षा कोठा बाहिर आफैले पाएको ज्ञान झन् महत्वपूर्ण हुन्छ । व्यावहारिक ज्ञानको निम्ति यस्ता कार्यक्रम आवश्यक छ ।
सगुन अवाले
प्रदर्शनी भव्यतासाथ सम्पन्न भयो । हामी सबै खुसी छौँ । विद्यार्थीले मनोरञ्जन पाए, सिक्न पाए । प्रदर्शनी ज्ञानवद्र्धक थियो । विद्यार्थीले आफ्नो लुकेको प्रतिभा देखाउन पाए । आफ्नो सीप माझ्न पाए । साथीहरूसँग मेलमिलापको वातावरण बन्यो ।
सागर गोसाई
ख्वपका विद्यार्थीले आफ्नो ज्ञान र सीपको प्रदर्शन गर्ने मौका पाए । हामी विद्यार्थीले आफ्नै मेहनतले विभिन्न मोडेल बनायौँ । उद्घाटन कार्यक्रममा सहभागी हुने राजनीतिक नेताहरूले विद्यार्थीलाई उत्साहित गर्नुभयो । उहाँहरूसामु उभिएर आफ्ना सिर्जना देखाउन पाएकोमा खुसी भयौँ ।
स्नातक तहका विभिन्न वर्षमा अध्ययनरत विद्यार्थीले छुट्टाछुट्टै स्टल बनाएका थियौँ । वातावरण संरक्षणको निम्ति हामीले दिनको खोजेको एउटा महत्वपूर्ण सन्देश थियो – विभिन्न सामग्री उपभोग सक्दो कम गर्ने, होइन भने पुनःप्रयोग गर्ने वा रिसाइक्लिङ गर्ने (रिड्युस, रियुज र रिसाइकल) गर्ने । खेर गएका सामानको प्रयोग गरी विभिन्न सामग्री बनाउन सक्छौँ भन्ने देखाउन हामीले अखबारका पुराना कागजको उपयोग गरी विभिन्न सामान बनाएका थियौँ । प्रदर्शनीले हामीलाई सहकार्य गर्न सिकायो । आफ्नो कामको जिम्मेवारी लिने र पूरा गर्ने नियम लागू ग¥यौँ । दिनभर उभिन र बोलिरहन गा¥हो त थियो तर भिजिटरहरूको उपस्थितिले मनमा सञ्चो हुन्थ्यो ।
पुनम चौगुठी
यसपाली हामीले पानीलाई मुख्य थिम बनाएका थियौँ । पानीकै कारण मानिसलाई धेरै दुःख छ । पानीकै कारण लडाइँ र झगडा भइरहेको पाइन्छ । एकातिर पानीको अभाव छ, अर्कोतिर पानी खेर गइरहेको पाइन्छ ।
अब बन्ने सहरहरूमा ढलको पानी प्रशोधन गर्ने पद्धति अनिवार्य गर्नु आवश्यक छ भन्ने हामीले देखाउन खोजेका थियौँ । स्मार्ट सिटी हुन खोला तथा नदी सफा हुनैपर्छ । साथै आकाशे पानीको सङ्कलन गर्ने र भूमिगत पानी पुनःभरण गर्ने प्रणाली बनाउनु आवश्यक छ । ढलको पानी सिधै खोलामा फाल्ने परिपाटी अब तत्काल बन्द हुनुपर्छ । पानी उपचार गर्ने पोखरीहरू बनाउन सके भोलिको पुस्ताबाट हामी सम्मानित हुन्छ, नत्र गालीबाहेक पाउनौं । खोला तथा नदी सफा भए वातावरण रमाइलो मात्र हुने नभई आयआर्जन पनि हुन्छ ।
एनि मानन्धर
वातावरण सबैको चासोको विषय हुनुपर्छ किनभने वातावरणले सबै जीवको जीवनमा प्रभाव पारेको हुन्छ । एकातिर पृथ्वीको तापक्रम बढ्दा हिमालको हिउँ सकिने डर छ भने समुद्रको सतह बढ्ने खतरा छ । हिमालमा पानी भएन भने पहाड र तराइका मानिस पानीसमेत खान पाउने छैनन् । वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रतिकूल असर परेको पाइन्छ ।
ठूला विषय सानासाना विषयहरूको जोडफल हुन्छ । वातावरणका ठूला विषय हाम्रो सहर र गाउँका सानासाना विषय पनि जोडिन्छन् । घरघरबाट निस्किने कुहिने फोहर घरमै राखी मल बनाउनेदेखि सोलार बत्ती बाल्ने, सामानहरूको पुनः प्रयोग गर्नेजस्ता काम हामी गर्न सक्छौँ । आकाशे पानी सङ्कलन गरी खेती वा घरेलु आवश्यकता पूरा गर्ने काम पनि गर्न सक्छौँ । प्लाष्टिकको प्रयोग कम गर्ने वा सक्दो पोलिथिन झोलाको प्रयोग नगर्ने बानी बसाल्नु जरुरी छ । यसो भएमा वातावरण सफा र स्वच्छ बनाउन मद्दत मिल्छ ।
यस्तै सैद्धान्तिक कुरा गरेर हुन्न, काम गरेरमात्र वातावरण संरक्षण गर्न सकिन्छ । ख्वप कलेजको शैक्षिक प्रदर्शनमा हामीले केही मोडेल तथा नमुनामार्फत वातावरण संरक्षणको निम्ति सबैलाई सकारात्मक कदम चाल्न सन्देश दिने प्रयास गरेका थियौँ ।
रीता मलेकार
सहरको ढलमा बग्ने फोहर पानी सीधा खोला वा नदीमा बगाउने नेपालको आम समस्या हो । नदी प्रदूषणको कारण नदीको प्राकृतिक सौन्दर्य त गुम्यो गुम्यो, नदीका जलचरहरू सङ्कटमामात्र परेका छैनन्, कतिको अस्तित्व नै समाप्त भएको छ । सृष्टिमा एउटा जीव लोप भएमा त्यस जीवनसँग जोडिएको प्राकृतिक चक्रसमेत समाप्त हुन्छ । यसै विषयको चिन्तन गरी हामीले सहरका ढलबाट बग्ने फोहर पानी प्रशोधन कसरी गर्न सकिन्छ भन्ने प्रदर्शनीमा देखायौँ । फोहर पानीको उपचार गरी कपडा धुन, सफा गर्न, सिंचाइ आदि प्रयोजनमा उपयोग गर्न सकिन्छ । यस्तो जानकारी दिँदा प्रदर्शनी हेर्न आएका आगन्तुकहरू उत्साहित हुनुभयो । हामी पनि खुसी भयौँ ।
सपना नेपाल
हामीले तयार पारेका फोहर पानी उपचार योजना र आकाशे पानी सङ्कलन विधि हेर्ने धेरैले सकारात्मक प्रतिक्रिया दिए । सबैले पानीको समस्या बेहोर्दै आएकोले पनि मानिसमा रुचि भएको होला । घरघरबाट निस्किने फोहर पानी उपचार गर्ने कुरा खर्चालु देखिए पनि भोलिको भविष्य सुन्दर भएको चाहना छ भने यसो नगरी सुखै छैन ।
खानेपानीको बन्दोबस्त गर्न सकेन भनी सरकारलाई गालीमात्र गरी बस्नुभन्दा आकाशे पानी सङ्कलन गरी घरेलु आवश्यकता पूरा गर्ने हो भने सरकारको बोझ पनि अलि कम हुन्थ्यो, खेर जाने पानीको उपयोग हुन्थ्यो । यही कुरा हामीले प्रदर्शनी हेर्न आउने सबैलाई भन्ने प्रयास ग¥यौँ । सहभागीबाट हामीले सकारात्मक प्रतिक्रिया पायौँ । कति जनाले हाम्रा मोडेलमा गर्नुपर्ने सुधारबारे सल्लाह दिनुभयो । हाम्रो मुख्य सन्देश हो, ढलको पानी खोलामा सिधै नमिसाइयोस्, यस काममा भक्तपुर नगरपालिकाले सबभन्दा पहिले पहल गरोस् ।
अनिशा कार्की
जलस्रोतमा धनी नेपाली पानीकै अभाव भोगिरहेका छन् । नेपालको अपार जलस्रोतको पर्याप्त उपयोग गर्न नसक्दा खेती भूमि बाँझो छ, सबै नेपाली बिजुली बत्ती बाल्न पाउन्न्, खानेपानीकै निम्ति परिवार र गाउँसहरमा सामाजिक द्वन्द्व चलिरहेको पाइन्छ । पानीको अभाव कम गर्न स्थानीय तवरमा के गर्न सकिन्छ भन्ने विषयमा हामीले शिक्षक तथा साथीहरूबीच छलफल गरी फोहर पानी सफा गर्ने र आकाशे पानी सङ्कलनलाई नै जोड दिनुपर्ने ठहर ग¥यौँ । ढलबाट बगेको फोहर पानी विभिन्न चरणमा सफा गर्दै अन्तिममा खोला वा नदीमा वा पुनः प्रयोगमा लाने सरल विधि हामीले प्रदर्शन गरेका थियौँ । ढलको पानीमा बग्ने फोहर मलको रूपमा उपयोग पनि गर्न सकिने हामीले प्रदर्शनीमा देखाउने प्रयास गरेका थियौँ । हामी केही हिसाबमा सफल पनि भयौँ, खुसी पनि छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *