भर्खरै :

नेकपाका सांसदमा अराजकतावादी सोचको पुनरावृत्ति

– आस्था गुरुङ
मङ्गलबार प्रतिनिधिसभाको शून्य समयमा नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी व्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग गरेको समाचार सुनेँ । कानमाथि विश्वास नलागेर अनलाइन समाचार पार्टलहरू खोलेर हेरेँ । उनले समाजमा अन्धविश्वास र परम्परामा आधारित विसङ्गति अन्त्य गर्नुपर्नेमा जोड दिंदै बोलेकै रहेछिन् । ती सांसदले भनेझैँ छाउसँग जोडिएको धर्म, संस्कृति र परम्परा भत्काउनुपर्ने पनि सही हो ।
गाउँ, सहर, सरकार, राजनीतिक दल, नागरिक समाज सबैतिर रहेको छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरू भत्काउन जरुरी पनि सत्य हो । तर अन्धविश्वास हटाउनको निम्ति विज्ञानवादी सिद्धान्तका पुस्तकहरू पढ्नु र पढाउनु बढी जरुरी छ न कि धार्मिक पुस्तक च्यात्न । विगतमा माओवादीले धार्मिक अन्धविश्वास हटाउने नाममा गाउँठाउँमा मठमन्दिरहरू भत्काएका थिए । त्यसले अन्धविश्वास त कम गरेन बरु कम्युनिस्टहरूको बदनाम गर्दै माओवादीप्रतिको जनसमर्थनमा कमी भने ल्याएको थियो ।
माओवादी पृष्ठभूमिबाटै आएकी सांसद सुवेदीले पुनः धार्मिक पुस्तकको पाना च्यात्ने माग गर्नु विगतकै अराजकतावादी सोचको पुनरावृत्तिमात्र हो । अहिले शक्तिशाली सरकार नेकपाकै छ । सरकारी सञ्चारसाधनलाई विज्ञानवादी सिद्धान्त प्रचारमा लगाउनमा कसैले रोकेको छैन । रेडियो नेपाल र नेपाल टेलिभिजनमा बिहान बिहान वैज्ञानिक चाल्र्स डार्विनको ‘प्रजातिको उत्पति र विकास’ तथा कार्ल माक्र्स र फ्रेडरिक एँगेल्सका रचनाहरूबारे चर्चा गर्न कसले रोक्न सक्छ र ? सरकारमा गएर पनि गर्न सकिने काम नगरी अराजकतावादी क्रियाकलापको कुरा गर्नु पुनः जनताको आँखामा छारो हाल्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *