गोपाल सुवाल
म अहिले उत्तरपूर्वी चीनको जिलिन प्रान्तको छाङछुङमा छु । अहिलेसम्म यहाँ कोरोना भाइरसबाट सङ्क्रमित भएको कतै सुनिएको छैन । तर, सम्भावित सङ्क्रमण रोकथाम गर्न चीनभरि एउटै नियम लागू गरिएको छ । हामी सबैलाई कोठामा बस्न भनिएको छ । हामी विदेशीमात्र होइन, चिनियाँ जनता पनि कोठाबाट बाहिर बिरलै मात्र निस्कने गरेका छन् । सबै पसल र कार्यालय बन्द छन् । चिनियाँ नयाँ वर्षको बिदा अनिश्चितकालसम्मको लागि लम्ब्याइएको छ ।
चीनको राम्रो कुरा के हो भने यहाँ सबैले नियमको पालना गर्छन् । सबै जनता महामारीविरूद्ध लड्न सहयोग गरिरहेका छन् । यो महामारी चीनबाहेक अरू देशमा भएको भए छोटो समयमा यहाँभन्दा धेरै फैलिसक्थ्यो । सबै विदेशी विद्यार्थीहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे दैनिकरूपमा कलेज प्रशासन र विश्वविद्यालयलाई जानकारी दिन सूचना जारी गरिएको छ । खानेकुरा र पिउने पानीको कुनै अभाव छैन किनभने हरेक साँझ ४ बजेसम्म बजार खुला हुन्छ । सार्वजनिक गाडी, ट्याक्सी र डीडी (नेपालमा ‘पठाऊ’ सेवा जस्तै) ले सर्वसाधारणलाई नियमित सेवा दिइरहेका छन् । महामारीको समाचार फैलिएसँगै मानिसहरू सुरूमा निकै आत्तिएका थिए । विशेषतः समाचारमाध्यमका समाचारले मानिसलाई अत्याएको थियो । समाचारमाध्यमले महामारी नियन्त्रणमा सकारात्मक भूमिका खेलेको भए परिवारका सदस्यलाई केही हदसम्म सहज हुन्थ्यो ।
धेरै दिन एउटै कोठामा बस्नु पक्कै पनि सहज छैन । तर, कोठामा बस्नु हाम्रै सुरक्षाको लागि हो ।
महामारी नियन्त्रणको लागि यो सबै सहभागी साझा पहल हो । ११ फेब्रुअरीको दिन सङ्क्रमण दरमा केही कमी आएको छ । महामारी नियन्त्रणमा यो एउटा सकारात्मक सङ्केत हो । सङ्क्रमितमध्ये पनि निको हुनेको दर १० प्रतिशतले बढेको छ । यो पनि एउटा सकारात्मक सङ्केत हो । कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी पछिल्लो अवस्था र हामीले अपनाउनुपर्ने सावधानीबारे हामीलाई दैनिक सूचना दिने गरेको छ ।
यो समय सबै विद्यार्थीको बिदाको समय हो । तर, विद्यालय र कलेज खुल्ने समय भने अझै टुङ्गो लागेको छैन । बिदा भएकोले आ–आफ्नो घर फर्केका विद्यार्थीलाई कक्षा सञ्चालनको औपचारिक सूचना जारी नहुञ्जेल नफर्किन सूचना जारी गरेको छ । कदाचित औपचारिक सूचनाअघि नै कोही फर्किन चाहे उनीहरूको स्वास्थ्य परीक्षण गरी चौध दिन क्वारेन्टाइन बस्नुपर्ने छ । मेरो विचारमा यो संसारको सबै देशमा यही नियम हो ।
महामारीबारे मानिसहरूलाई त्रसित बनाउनुभन्दा सचेतना फैलाऔँ । यो महामारी नियन्त्रणको लागि सबै देशको साझा प्रयास र पहल आवश्यक छ । चीन वा सङ्क्रमण देखिएका देशहरूमात्र होइन, यस्ता महामारी र प्राकृतिक प्रकोपविरूद्ध सबैले हातमा हात जोड्न जरूरी छ ।
(चिकित्सक सुवाल हाल चीनको छाङछुङमा चिकित्सा विज्ञानमा स्नातकोत्तर गरिरहनुभएको छ ।)