भर्खरै :

भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्न प्रस्ताव पारित

भक्तपुर, १ फागुन । भक्तपुर नगरपालिकाको छैटौँ नगरसभाको बैठक बिहीबार सभाध्यक्ष नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बस्यो ।
नगरसभाले भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणसम्बन्धी प्रस्ताव पारित गरेको छ । नगर प्रमुख प्रजापतिले गर्नुभएको प्रस्तावमा भनिएको छ, “आर्थिक वर्ष २०७२÷०७३ को नेपाल सरकारको बजेट मन्तव्यमा भक्तपुर औद्योगिक क्षेत्रलाई अन्य स्थानमा स्थानान्तरण गर्ने उल्लेख भए तापनि हालसम्म स्थानान्तरण नगरिएकोले भक्तपुर नगर कार्यपालिकाको मिति २०७६।८।३० गते बसेको बैठकले भक्तपुर नगरपालिका वडा नं. २ स्थित सो औद्योगिक क्षेत्रलाई तत्काल स्थानान्तरणको लागि पहल गरिदिनुहुन र उक्त जग्गा सरकारले अधिग्रहण गर्दा कुटीर व्यवसाय र हस्तकलामा आधारित क्षेत्र विकास गरिने उद्देश्य राखिएको हुँदा सो क्षेत्रको सम्पूर्ण जग्गा यस नगरपालिकालाई हक हस्तान्तरण गर्न आवश्यक व्यवस्थाको लागि पहल गरिदिनुहुन अनुरोध गर्ने निर्णय भएको र मिति २०७६।१०।२७ गते सोही सम्बन्धमा उक्त क्षेत्र वरपर बसोबास गर्ने यस नगरपालिकाका १७९ जना स्थानीय बासिन्दाहरूले भक्तपुर औद्योगिक क्षेत्रमा धुवाँ, धूलो र रसायन प्रदूषण हुने उद्योगहरू सञ्चालन भई वातावरण प्रदूषण भएको र यसले स्थानीय नागरिकहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको र हाल सो क्षेत्र नगरको मध्य भागमा अवस्थित भएकोले सो क्षेत्रको प्रदूषणले नगरवासीहरूको स्वास्थ्य तथा नगरको वातावरणमा समेत प्रतिकूल प्रभाव परेको भनी आवेदन प्राप्त भएको हुँदा उक्त भक्तपुर औद्योगिक क्षेत्र तत्काल स्थानान्तरण गर्नुपर्ने र सो क्षेत्रको जग्गा भक्तपुर नगरपालिकाको नाममा हक हस्तान्तरण गरी लिनुपर्ने देखिएकोले भक्तपुर आद्योगिक क्षेत्र तत्काल स्थानान्तरण गर्न र उक्त क्षेत्रको जग्गा भक्तपुर नगरपालिकाको नाममा स्वामित्व हस्तान्तरण गरिदिन सरोकारवाला निकायमा अनुरोध गर्ने प्रस्ताव निर्णयार्थ सभामा पेश गर्दछु ।”
सभाले आ.व. २०७३÷७४ र २०७४÷७५ को बेरूजु फछ्र्यौटसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित ग¥यो ।
सभामा सभाध्यक्ष प्रजापतिले भक्तपुरका प्रजिअ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सकहरूको प्रतिनिधि टोलीसँग ‘कोरोना भाइरस’ बारे भएको विषय अवगत गराउँदै उहाँले चीनबाट नेपाल फर्काइने नेपाली विद्यार्थीहरूलाई मानव बस्तीभन्दा टाढा सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुुभयो ।
कोरिया युद्ध र भियतनाम युद्धमा जीवाणु युद्ध फैलाइएको प्रसङ्ग कोट्याउँदै प्रमुख प्रजापतिले भक्तपुर नपा कोरोना भाइरसप्रति सजग रहेको बताउनुभयो । उहाँले अमेरिकी एमसीसी सम्झौता नेपालको हितविपरीत भएको बताउनुभयो ।
ऐतिहासिक बस्ती विनास हुने गरी खोकना र बुङमतीमा फास्टट्रयाक र सडकको नाममा स्थानीय जनताको जग्गा अधिग्रहण विषयमा आफ्नो विमत्ति राख्दै प्रमुख प्रजापतिले काठमाडौँ उपत्यकामा देशभरिको मानिस जम्मा हुने केन्द्रको रूपमा विकास भइरहेको छ भन्नुभयो ।
बिहीबार बसेको नगरसभाको विशेष समयमा सभासद्हरूले चीनबाट फर्किने विद्यार्थीहरूको सुरक्षित व्यवस्थापन गर्न आवश्यक रहेको, नगर प्रहरीको व्यवस्थापनमा ढिलाइ गर्न नहुने, भक्तपुर औद्योगिक क्षेत्रलाई अन्य ठाउँमा स्थानान्तरण गर्नुपर्ने, भक्तपुर नगरका नयाँ बस्तीहरूमा घर निर्माणसम्बन्धी मापदण्डको विषय कडाइका साथ लागू गर्नुपर्ने, एमसीसी सम्झौताबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने, फास्टट्रयाक आयोजना कार्यान्वयन भए ऐतिहासिक बस्तीको विनाश हुने, काठमाडौँ उपत्यकाबाहिर व्यवस्थित सहरको विकास आवश्यक भएको आदि धारणा व्यक्त गर्नुभयो ।
सभामा नगरसभासद्हरू गोविन्द दुवाल, सिद्धिराम अवाल, राजेन्द्र माक, ज्ञानकुमार मगजु, बलराम न्हिसुतु, शिवप्रसाद बाला, रत्नकाजी नातरी, सूर्यप्रसाद श्रेष्ठ, पूर्णगोपाल राजचल, श्यामसुन्दर मातां, रञ्जना त्वाती, हरिरत्न गोर्खाली, इन्द्रबहादुर प्याथ र जितेन्द्र मुनंकर्मीले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
सभासद्हरूले राख्नुभएको जिज्ञासा र सरोकारमाथि सम्बन्धित समितिका संयोजक तथा सदस्यहरूले प्रस्ट पार्नुभएको थियो ।
नगरसभाको अर्को बैठक फागुन ४ गते आइतबार दिनको १ बजे बस्ने गरी स्थगित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *