करभिका
माघ २४ गते भक्तपुरको दत्तात्रयमा भएको नेपाल क्रान्तिकारी किसान सङ्घको सातौँ भक्तपुर जिल्ला सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले ‘चीनमा अचानक फैलिएको कोरोना भाइरसको सङ्क्रमणपछि संरा अमेरिकाको हात हुनसक्ने’ बताउनुभयो । बुद्धि–विवेकले काम नगरेपछि संरा अमेरिकी साम्राज्यवादले कीटाणु युद्ध, रसायनिक युद्ध र आणविक युद्ध थालेर ठूलो धनजन नष्ट गरेको अध्यक्ष रोहितले भन्नुभयो ।

“चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई काम–माम–कपडाको व्यवस्था गरेको र चिनियाँ जनताको मध्यमस्तरको अर्थतन्त्रको विकास देख्न नसकेर÷नचाहेर संरा अमेरिकाले चीनमा कोरोना भाइरस फैलाएको त होइन भन्ने शङ्का छ । चीनको अद्भूत विकास संरा अमेरिकाको लागि असह्य भइरहेको छ ।” (मजदुर दैनिक, २५ माघ)
मध्य चीनको उहान सहरलाई आधार बनाएर फैलिएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि र विशेषतः उहानमा रहेका नेपालीसमेत प्रभावित भएपछि कोरोना भाइरसप्रति नेपालका सञ्चारमाध्यमले चासोका साथ यो विषयलाई नियालिरहेका थिए ।

केही देशले उहानबाट आफ्ना नागरिकलाई फिर्ता गरेसँगै त्यहाँ रहेका नेपालीलाई पनि स्वदेश फर्काउने विषयमा छलफल चलिरहेको बेला कोरोना भाइरसको विषयमा नेमकिपाका अध्यक्ष बिजुक्छेँले दिनुभएको सो अभिव्यक्तिलाई देशका अन्य सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रचार गरे ।
उहानमा कोरोना भाइरसको महामारी फैलिएपछि त्यहाँ रहेका नेपालीलाई फर्काउने विषयलाई मात्र प्राथमिकतासाथ चर्चा गरिरहेका नेपाली सञ्चारमाध्यमको लागि कोरोना भाइरससम्बन्धी बिजुक्छेँको यो आशङ्का एउटा भिन्न कोण थियो । नेपाली सञ्चारमाध्यमले कुनै महामारीको यस्तो राजनीतिक आयाम हुनसक्ने आशङ्का त परको कुरा कल्पनासमेत गरेका थिएनन् । विशेषतः पश्चिमा सञ्चारमाध्यमकै प्रचारबाजीलाई लय मिलाउँदै नेपालका अधिकांश सञ्चारमाध्यमले उहानमा कोरोना भाइरसको कारण मरेका मानिसको सङ्ख्या गन्ती गरिरहेका थिए । त्यस्तो अवस्थामा बिजुक्छेँको भनाइ उनीहरूको लागि आश्चर्यको विषय बन्यो । कतिले यसलाई नकारात्मक कोणबाट चर्चा गरे ।

अमेरिकी विमानले फैलाएका घातक कीरा

बिजुक्छेँको भनाइलाई लिएर सामाजिक सञ्जालमा सानोतिनो बहस नै भयो । विशेषतः ट्वीटरमा खगेन्द्र सङ्ग्रौला, राजेन्द्र दाहाल, जुगल भुर्तेलजस्ता केही ट्वीटेहरूले बिजुक्छेँका भनाइलाई हासोमा उडाए । केहीले यसलाई बिजुक्छेँको संरा अमेरिकाप्रतिको पूर्वाग्रहको रूपमा लिए । सामाजिक सञ्जालमा बहसलाई प्रजातान्त्रिक अधिकार र संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अभ्यासको रूपमा स्वीकार्न सकिन्छ । तर, अधिकार प्रयोग र सामाजिक सञ्जालमा आफ्नो सक्रियता देखाउने नाममा हलुका टिप्पणी गर्ने प्रवृत्तिले बहस र छलफललाई सही दिशा दिनसक्दैन ।
उहानमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण वास्तवमा संरा अमेरिकाले कीटाणु युद्ध वा जीवाणु युद्ध हो वा होइन, यो प्रश्नको उत्तर समयले दिने नै छ । तर, संसारको इतिहास अध्ययन गर्दा संरा अमेरिकाले गरेका कीटाणु वा जैविक युद्धलाई आधार मान्दा कोरोना भाइरसको सङ्क्रमण चीनविरोधी संरा अमेरिकी हमला हुनसक्ने शङ्का गर्ने आधार नभएको होइन । विश्व राजनीतिबारे अध्ययन गरेका र अद्यावधि रहने नेता बिजुक्छेँले आफ्नो अध्ययन र अनुभवको आधारमा यसलाई आशङ्का व्यक्त गर्नु अस्वाभाविक थिएन ।

कोरिया युद्ध, भियतनाम युद्ध, मध्यपूर्वी देशमा भएको हमला, क्युवाको इतिहास अध्ययन गरेका जो कोहीले स्वाभाविकरूपमा गर्नसक्ने स्वाभाविक आशङ्का हो । पश्चिमा सञ्चारमाध्यमले कोरोना भाइरसको सङ्क्रमण र त्यसमा संरा अमेरिकाको सम्भावित संलग्नतालाई नकारेका मात्र छैनन्, शीतयुद्धकालीन ‘षड्यन्त्र सिद्धान्त’ (कन्स्पिरेसी थ्योरी) को रूपमा विश्लेषण गरे । तर, कुनै पनि सञ्चारमाध्यमले अमेरिकी आदिवासी रेड इन्डियनबाट जग्गा खोस्न बिफरले सङ्क्रमित कपडा आदिवासी बस्ती छेउछाउ छोडेको र त्यही कपडाको प्रयोगले आदिवासीहरू बिफरबाट सङ्क्रमित भएर बस्तीहरू सखाप भएको इतिहासबारे चर्चा गरेनन् ।

कोरिया, भियतनाम, इराक, इरान, क्युवा, सिरियामा संरा अमेरिकाले गरेको रसायनिक र कीटाणु युद्धबारे तिनले बोलेनन् । त्यही भएर नेपालका अधिकांश सञ्चारमाध्यम र बुद्धिजीवीहरूले यो वास्तविकता देख्न सकेनन् । तर, कसैले ओझेलमा पार्दैमा इतिहासको सत्य भने ओझेल पर्ने पक्कै होइन ।
सन् १९७५ मा भएको भियतनाम युद्धमा संरा अमेरिकी सेनाले गरेको रसायनिक हमलाको कारण त्यहाँ अझै पनि बाँझोपना, विकलाङ्ग सन्तान जन्मिने, अनेकन दीर्घरोगका समस्याको शृङ्खला सकिएको छैन । अमेरिकी सेनाले प्रयोग गरिएको रसायनको कारण भियतनामका जङ्गलहरू सखाप भएका थिए । ‘आतेरी कोम्ब’ नामको भियतनामी कथा सङ्ग्रहमा रसायनिक हमलाले भियतनामी जनताले सामना गर्नुपरेको कष्टकर समयबारे घतलाग्दो चित्रण गरिएको छ ।
‘अजम्बरी गाउँ’ नाउँको भियतनामी उपन्यासका अनुवादक लेखक खगेन्द्र सङ्ग्रौलालाई यो कुरा थाहा नभएको होइन ।
सन् १९५०–५४ मा भएको कोरिया युद्धमा पनि संरा अमेरिकाले जैविक हतियार प्रयोग गरेको थियो । सन् १९७० मा प्योङयाङबाट प्रकाशित पुस्तक ‘अन द क्रिमिनल एक्ट्स कमिटेड बाई द युएस इम्पेरियलिस्ट एग्रेसन ट्रुप्स इन कोरिया’ (कोरियामा संरा अमेरिकी साम्राज्यवादी हमलाकारी सेनाले गरेका अपराध) मा कोरिया युद्धको क्रममा संरा अमेरिकाले गरेको जैविक हमलाबारे लेखिएको छ, “संरा अमेरिकी साम्राज्यवादी आक्रामक सेनाले सन् १९५२ को जनवरीदेखि मार्च महिनासम्म ७० पटकभन्दा बढी समय कोरियाको उत्तर भेगका ४ सत्न्दा बढी स्थानमा मानिसको हत्या गर्न जीवाणु भएका कीटाणु बम र अन्य विभिन्न वस्तु खसालेको थियो । उनीहरूले यसरी खसालेको बममा असङ्ख्य विषालु कीरा जस्तै ः झिङ्गा, उडुुस, उपियाँ, माकुरा, लामखुट्टे, जुम्रा, साङ्लो आदि थिए । ती कीराहरू हैजा, टाइफस, बाली बिगार्ने कीट आदि सङ्क्रमित थिए ।

त्यस्ता बर्बर र आक्रामक हमलाबाट संरा अमेरिकी साम्राज्यवादले कोरियाको उत्तरी भागमा ८ हजार ७ सय कारखाना, मिल, भवन र अन्य उत्पादन थलो ध्वस्त बनाएको थियो । ६ लाखभन्दा बढी आवास, ५ हजारभन्दा बढी विद्यालय, १ हजारभन्दा बढी अस्पताल र स्वास्थ्य केन्द्र, २६० भन्दा बढी सिनेमा घर र थिएटर ध्वस्त बनाएको थियो । हजारौँ चर्च, गुम्बा र मन्दिरमात्र होइन, अरू हजारौँ सांस्कृतिक केन्द्र र सामाजिक सम्पत्ति ध्वस्त बनाएको थियो ।
सन् १९५१ को मे महिनामा अमेरिकी सञ्चारमाध्यम एपीले लेखेका थियो, “व्याक्टेरियाको उत्पादन गर्ने प्रविधिबाट सुसम्पन्न एउटा आधुनिक अनुसन्धान केन्द्र स्थापना गरिएको छ । सो केन्द्रमा सूक्ष्मदर्शक यन्त्र, स्टेलाइजर, रेफ्रिजिरेटर, डिस्टिलर र अरू आधुनिक सामान पनि छन् । त्यस्तो प्रयोगशाला अरू कहीं होइन, कोरियाको दक्षिणी क्योङसान प्रान्तको तोङयाङ काउन्टीको कोजी टापुमा रहेको संरा अमेरिकी सेनाको १०९१ औँ एकाइमा बनाइएको थियो । सो प्रयोगशालामा दैनिक झन्डै ३ हजार पटक प्रयोग गरिने गरेको बताइएको छ ।
संरा अमेरिकाले गरेको जैविक युद्धबारे प्योङयाङबाटै सन् १९९३ मा प्रकाशित ‘द युएस इम्पेरिएलिस्ट स्टार्टेड द कोरियन वार’ (संरा अमेरिकी साम्राज्यवादले थालेको कोरिया युद्ध) मा लेखिएको छ, ‘अन्तर्राष्ट्रिय कानुनमा जैविक र कीटाणु हतियारको प्रयोगलाई बर्बर, अमानवीय आमविनाशकारी हतियारको रूपमा कडाइका साथ निषेध गरेको छ । तथापि कोरिया युद्धभन्दा अघिबाटै संरा अमेरिकी हमलाकारीले लगातार जैविक र रसायनिक हतियार प्रयोग गर्दै आएको छ ।”

सन् १९४६ को जून १५ मा संरा अमेरिकी सेनाको जीणायु युद्ध विभागका प्रमुख ओर्डेन ह्वाइटले भने, “जीवाणु युद्ध एउटा प्रयोगसिद्ध युद्ध हो । यो युद्ध सम्भव छ । यसमा म पूर्णतः विश्वस्त छु ।’ सन् १९४९ मा संरा अमेरिकी राष्ट्रपति ट्रुमनले जेनेभा महासन्धिमाथि अमेरिकी काङ्ग्रेसमा जीवाणु युद्धलाई गैरकानुनी मान्ने विषयमा भएको छलफलमा भाग लिन मानेका थिएनन् । दोस्रो विश्व युद्धमा जापान पराजीत भएपछि संरा अमेरिकाले जापानको ७१ औँ एकाइ र अरू जीवाणु युद्धसम्बन्धी जापानी सैनिक प्रतिष्ठान कब्जा जमाएको थियो । अमेरिकीहरूले युद्ध अपराधी घोषित गरिएका जीवाणु युद्धसम्बन्धी विशेषज्ञता हासिल गरेका जापानी सेनाका इशी शिरो र अन्य जापानीलाई अमेरिकामा काम दिएका थिए । त्यस्तै फासीवादी जर्मनीको जैविक तथा कीटाणु युद्धका ज्ञाता स्च्रिबरलाई पनि काममा लगाएका थिए । संरा अमेरिकाले जापान, आफ्नै देशको मेरील्यान्डको बाल्टिमोर र फेडरिकको डिट्रेक जैविक अनुसन्धान केन्द्रहरूमा यस्ता हतियारको प्रयोग गरेको थियो । त्यसरी उत्पादन गरिएका जैविक हतियारको प्रयोग कैदी बन्दीहरूको शरीरमा गरिन्थ्यो ।
संरा अमेरिकाले यसरी प्रयोगबाट सिद्ध भएका जीवाणुलाई सबभन्दा बढी जनघनत्व हुने क्षेत्र जस्तै कोरियाली सेना बस्ने क्षेत्र, सवारी साधन भीड लाग्ने केन्द्र, सडक, रेलवे र पुल आदि ठाउँमा खसाल्ने गथ्र्यो । कतिसम्म भने उनीहरूले मानिसले खान प्रयोग गर्ने पानीको मुहान, खोला, नदी आदिमा पनि त्यस्ता कीटाणु र रसायन खसाल्ने गर्थे । संरा अमेरिकाले सबभन्दा बढी प्राणघातक जीवाणु हमला गरेको कोरियाको ठाउँमध्ये एउटा ठाउँ थियो – सिनानजु । सन् १९५३ को जनवरी १० देखि लगातार पाँच दिन त्यहाँ जैविक हमला भएको थियो । त्यहाँ हमला गर्न हरेक दिन ४८० वटा विमान परिचालन गरिएको थियो । कोरिया युद्धपछि युद्धमा सहभागी ३८ जना संरा अमेरिकी सेनाले जैविक युद्धमा आफू संलग्न भएको स्वीकारेका थिए ।
सिरिया युद्धमा संरा अमेरिकाले गरेको जैविक र रसायनिक युद्ध धेरै पुरानो होइन । सिरियाका लाखौँ मानिस रसायनिक हमलाका कारण मारिएको र पिरोलिएको सत्यलाई यो समयमा धेरै मानिसले देखेका छन् । शीतयुद्धताका संसारका मुख्य दुई शक्ति–संरा अमेरिका र सोभियत सङ्घविरुद्ध यस्ता जैविक हमला गरेका अरू पनि धेरै उदाहरण होलान् । सोभियत सङ्घको सन् १९९१ मा औपचारिक विघटनपछि संरा अमेरिकाले जैविक र रसायनिक हमलालाई आफ्नो एकलौटी गर्दै आएको छ । हरेक युद्धमा उसले यो हतियार प्रयोग गर्ने गरेको छ । इराकमा सद्दाम हुसेनले अन्तिम दमसम्म लड्ने घोषणा गरेपछि तत्कालीन जर्ज डब्ल्यु बुश प्रशासनले इराकी जनतामाथि जैविक हमला गरेको थियो ।
संरा अमेरिकाको केन्द्रीय गुप्तचर विभाग (सीआईए) को जैविक हमला सामना गरेको एउटा देश हो–क्युवा । सन् १९५९ मा क्युवामा समाजवादी सरकार बनेपछि आफ्नो नाकैमुनिको त्यो सरकार ध्वस्त गर्न सीआईएले जैविक हमला गरेको थियो । विशेषतः सीआईएको तारो बनेका थिए–क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रो ।

इतिहासका यस्ता सबै दृष्टान्तलाई आधार मान्दा बिजुक्छेँ जस्तो विश्व समाजवादी आन्दोलनबारे ज्ञान भएका मानिसले कोरोना भाइरसको सङ्क्रमणमा राजनीतिक कोण देख्नु स्वाभाविक र आवश्यक हो । चीन र संरा अमेरिकाबीच पछिल्ला वर्षमा लगातार विभिन्न क्षेत्रमा भइरहेको प्रतिस्पर्धा र ती सबैजसो प्रतिस्पर्धामा चीनले प्राप्त गरेको सफलता संसारसामू घामजत्तिकै प्रस्ट छ । स्वभावतः संरा अमेरिकाले आफ्नो विश्व प्रभुत्व त्याग्न चाहँदैन । सोभियत सङ्घको अस्थायी हारपछि संरा अमेरिकाले संसारमा जमाएको प्रभुत्वलाई उसले चिरस्थायी बनाउन चाहन्छ । यसको यस्तो चाहनाको लागि यतिबेलाको सबभन्दा ठूलो चुनौती भनेको चीन नै हो ।

क्यास्ट्रो बाँचुञ्जेल क्युवाली समाजवादी ध्वस्त बनाउन नसकिने निष्कर्षपछि सीआईएले क्यास्ट्रोले लगाउने चप्पल र पौडी खेल्दा लगाउने लुगामा विषाक्त कीटाणु मिलाएर हत्याको प्रयास गरेको थियो । सीआईएको अध्ययनले क्यास्ट्रोको दारी नै उनीप्रति मानिसहरू आकर्षित हुने कारण भएको निष्कर्ष निकालेपछि उनलाई छालाको रोग लाग्ने कीटाणुबाट सङ्क्रमित हुने विषाक्त कीटाणु प्रयोग गरेको थियो । चप्पल र पौडी खेल्दा लगाउने लुगामा त्यस्ता कीटाणु मिलाइएको थियो । सिगारका पारखी क्यास्ट्रोले तान्ने सिगारमा समेत विषाक्त कीटाणु मिलाउनेसम्मको जघन्य र घटिया अपराध संरा अमेरिकाले गरेको थियो ।
सन् १९६२ मा क्युवामाथि हमला गर्न संरा अमेरिकी गुप्तचर विभाग सीआईएले प्लाया गिरोनमा गरेको हमला असफल भएपछि ‘अपरेसन मनगुज’ (न्याउरी मुसा कारबाही) घोषणा गरेको थियो । क्युवाका बालीनाली सखाप पार्न जैविक तथा कीटाणु हतियार प्रयोग गर्नु नै सो कारबाहीको मुल अभिप्राय थियो । त्यसले क्युवाको कृषि तहसनहस थियो । संरा अमेरिकाको सो कारबाहीको प्रभाव क्यारिबियाली टापु द एन्टिलेसको बालीनालीमा परेको थियो ।
सन् १९७७ को जनवरी ७ मा संरा अमेरिकी समाचार एजेन्सी यूपीआईले वासिङ्टनबाट सीआईएको अज्ञात स्रोत उद्धृत गर्दै एउटा समाचार प्रसारण गरेको थियो । सो समाचारअनुसार द क्यानल जोनमा रहेको संरा अमेरिकी सैनिक आधार फोर्ट गुगलिकमा सन् १९७१ को सुरुमा भाइरसले सङ्क्रमित भाँडो फेला परेको थियो ।

माछामार्फत क्युवामा आमनरसंहार फैलाउन उद्देश्यले ती भाइरसको प्रयोग गरिन लागेको थियो । क्युवालाई आर्थिक सङ्कटमा डुबाउने लक्ष्यले सुङ्गुरमा पाइने घातक जीवाणु चराको माध्यमबाट फैलाउन लागिएको अमेरिकी नेसनल सेन्टर अफ एग्रिकल्चर हेल्थका वैज्ञानिकहरूले गरेको एक अध्ययनले निष्कर्ष निकालेको थियो । त्यसैको परिणामस्वरूप सन् १९७९ मा क्युवामा पहिलो पटक अफ्रिकी स्वाइन नामको ज्वरो फैलिएको थियो । सन् १९७० देखि १९९० को दसकसम्म क्युवाली जनताले यस्ता धेरै जैविक हमला सामना गर्नुपरेको थियो । ती सबै हमलाको लक्ष्य क्युवाली समाजवादलाई असफल बनाउनु हो । इतिहासभित्र पस्दा यस्ता अरू कैयौँ यस्ता दृष्टान्त छन् । यी सबै वास्तविकता हुन् ।
इतिहासका यस्ता सबै दृष्टान्तलाई आधार मान्दा बिजुक्छेँ जस्तो विश्व समाजवादी आन्दोलनबारे ज्ञान भएका मानिसले कोरोना भाइरसको सङ्क्रमणमा राजनीतिक कोण देख्नु स्वाभाविक र आवश्यक हो । चीन र संरा अमेरिकाबीच पछिल्ला वर्षमा लगातार विभिन्न क्षेत्रमा भइरहेको प्रतिस्पर्धा र ती सबैजसो प्रतिस्पर्धामा चीनले प्राप्त गरेको सफलता संसारसामू घामजत्तिकै प्रस्ट छ । स्वभावतः संरा अमेरिकाले आफ्नो विश्व प्रभुत्व त्याग्न चाहँदैन । सोभियत सङ्घको अस्थायी हारपछि संरा अमेरिकाले संसारमा जमाएको प्रभुत्वलाई उसले चिरस्थायी बनाउन चाहन्छ । यसको यस्तो चाहनाको लागि यतिबेलाको सबभन्दा ठूलो चुनौती भनेको चीन नै हो ।

क्युवा, भियतनाम, कोरियाजस्ता साना शक्तिलाई त संरा अमेरिकाले जीवाणु र रसायनिक हमला गरेर दु ः ख दिएको थियो भने आफ्नो विश्व प्रभुत्वलाई नै चुनौती दिने चीनमाथि संरा अमेरिकाले आफूसँग भएको हतियार प्रयोग नगरेको होला भनी सोच्न हामीलाई इतिहासको अध्ययनले छुट दिंदैन । वास्तवमै यो जैविक हमला थियो वा अरू नै । यो विषयमा चिनियाँ वैज्ञानिकहरूले पक्कै अध्ययन गर्लान् नै । तर, प्रश्न र शङ्का गर्ने अधिकारको लागि आदर्शवादी ट्वीट र भाषण गर्ने ट्वीटेहरूबाट आज संसारको एउटा प्रमुख घटनाबारे उठाइएको प्रश्नमाथि निषेधको तरबार चलाउन खोज्नु कति विडम्बनाको कुरा ।