भक्तपुर, १ फागुन । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०७६÷०७७ को अर्ध–वार्षिक प्रगति समीक्षा कार्यक्रम संस्थाका समिति, उपसमिति र कर्मचारीहरूको सहभागितामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सहकारी क्षेत्रमा सही र गलत प्रवृत्तिका दुवै खालका प्रतिस्पर्धीहरु रहेकाले संस्थालाई सहकारी मान्यता र ऐन कानुनअनुसार अगाडि बढाउन चुनौती रहेको चर्चा गर्नुभयो । सहकारी सेवामूलक व्यवसाय भए पनि सेवा सुविधाका बारेमा पर्याप्त जानकारी प्रसार गर्न नसकेमा असल सेवाहरू पनि ओझेलमा पर्नसक्ने भएकोले त्यसतर्फ संस्थाका सबै अङ्ग सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्थाका पूर्वअध्यक्ष एवम् सञ्चालक कृष्णगोविन्द लाखाजुले वित्तीय सहकारी संस्थाहरूमा जोखिमको सम्भावना बढी हुने भएकोले त्रैमासिकरूपमा समीक्षा गर्ने अभ्यास रहेको जानकारी गराउँदै समिति÷उपसमितिका प्रस्तावित कार्यक्रमहरु कति प्रभावकारी ढङ्गले कार्यान्वयन भयो÷भएन छलफल गर्न समीक्षा उपयोगी हुने धारणा राख्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक हरिरत्न गोर्खालीले स्थानीय व्यक्तिहरुलाई सञ्चालक र मुख्य कर्मचारी बनाएर भक्तपुर जिल्ला बाहिरका व्यक्तिहरूले संस्था सञ्चालन गर्ने र सङ्कलित रकम आफूखुसी दुरुपयोग गर्ने प्रवृत्ति देखिएकोले सहकारीमा जोखिम बढेको छ भन्नुभयो ।
संस्थाका सचिव रुद्रनारायण लाखाले आ.व. २०७६÷०७७ को कार्यक्रमगत प्रगति प्रतिवेदन र कोषाध्यक्ष ईश्वरमान दुमरुले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा व्यवस्थापक राजेन्द्र दुमरुले संस्थाको व्यावसायिकस्वरूप प्रस्तुत गर्नुभएको थियो । सहभागी सम्पूर्णलाई संस्थाको तर्फबाट उपाध्यक्ष विष्णुराम दुमरुले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
२०५१ सालमा ३१ जनाको ३१०० रुपैयाँबाट स्थापना भएको संस्थाले हालसम्ममा १८ हजार सदस्य आबद्ध गराएर २५ करोड ३० लाख शेयर पँुजी, ११ करोड ५१ लाखको जगेडा कोष, १ अर्ब ५२ करोड बचतसहित २ अर्ब २ करोडभन्दा बढी कुल सम्पत्ति निर्माण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *