भर्खरै :

पुस्तक प्रदर्शनीमा पुस्तकबारे मत

आरम्भ नेपालको आयोजनामा भक्तपुरमा चालू पुस्तक प्रदर्शनीमा केही सहभागीलाई पुस्तक पठन संस्कृतिबारे जिज्ञासा राख्दा यस्तो मत व्यक्त गरियो ः
राजेन्द्र सुजखू
समाज र पाठकको लागि पुस्तक प्रदर्शनीको आयोजना अत्यावश्यक छ । लेखकले देश र परिवेशअनुसार लेखेको अनुभव ग्रहण गर्न पुस्तक पठन संस्कृति आवश्यक छ । कतिपय विद्यार्थी र मानिसहरू आफ्नो रुचिअनुसार पुस्तक पढिरहेका हुन्छन् । तथापि आजको नयाँ पुस्तामा पुस्तक पढ्ने बानी घटेको छ । मिडिया र उपयुक्त परामर्शको अभावले पनि यस्तो भइरहेको लाग्छ ।

राजेन्द्र सुजखू, शिक्षक


पुस्तक प्रदर्शनी राम्रो छ । आफूलाई मनपरेका पुस्तक सङ्कलन गरेको छु । बालबच्चाको लागि पनि केही पुस्तक खरिद गरेको छु ।
माधव अधिकारी
भक्तपुरमा भइरहेको पुस्तक प्रदर्शनी अनुकरणीय छ । धेरै प्रगतिशील र पुराना पुस्तक हेर्ने र किन्ने मौका पाइयो । स–साना केटाकेटी पनि पुस्तक प्रदर्शनीमा सहभागी बनेको देख्दा खुसी लाग्यो । कतिले किनेका छन् । कतिले कम्तीमा पुस्तकका पाना पल्टाएको देखेँ । पुस्तक पढ्ने मानिसको यस्तो चाहना देख्दा भक्तपुर विशेष ठाउँ रहेछ भन्ने भान भयो ।

माधव अधिकारी, रुपन्देही


पछिल्लो समयमा मानिसहरू अलि बढी सामाजिक सञ्जालमा रुमलिरहेको देख्दा पुस्तकका पाठक घटेको हो कि भन्ने भान हुन्छ । तर, यस्ता प्रदर्शनी र पुस्तकको बिक्री देख्दा, मानिसको भीड देख्दा पुस्तक पढ्ने बानीको विकास भएको जस्तो लाग्छ ।
पुस्तक र समाज एकअर्काका परिपूरक हुन् । पुस्तकले समाजलाई प्रतिबिम्बित गर्छ । पुस्तकले समाजलाई वर्णन पनि गर्छ । पुस्तकले समाजलाई परिवर्तन गर्न त सक्छ । तर, पुस्तकले मात्र समाजमा परिवर्तन गर्न सक्दैन । पुस्तक समाज परिवर्तनको पाटो र बाटो हुनसक्छ ।
गणेशराम ध्वँजू
पुस्तक प्रदर्शन समय–समयमा भइरहनुपर्छ । आजभोलि बालबालिका र युवामा पुस्तक पढ्ने बानी कम हुँदै गएको छ । यस्ता प्रदर्शनीको आयोजनाले कम्तीमा यस्ता यस्ता पुस्तकहरू रहेछन् र यिनमा यस्ता कुरा छन् भनी बुझ्न सक्छौँ । पुस्तक पसलमा पुस्तक खोज्न जाने हाम्रो बानी कम छ । प्रदर्शनीमा सुनेका तर किन्न नपाएको पुस्तक पनि किन्ने मौका हुन्छ ।
 

गणेशराम ध्वँजू, इन्जिनियर


ई–बुक र अडियो बुक पनि युट्युबमा थुप्रै आइरहेका छन् । तर, त्यसको स्वाद र पुस्तक पढ्नुको स्वाद छुट्टै हुन्छ । पुस्तक पढ्दा विषयवस्तुमा अझ गहिराइमा पस्न सकिन्छ ।
विचार परिवर्तनको साधन भनेको पुस्तक नै हो । मानिसको विचारमा परिवर्तन ल्याउन दर्शन, विचारधाराका पुस्तकले भूमिका पक्कै पनि खेलिरहेको हुन्छ ।
दीपिका कुुसी
आजभोलिका विद्यार्थी र युवामा पुस्तक अध्ययन संस्कृति निकै घटेको छ । परीक्षामुखी भएर आफ्ना पाठ्यपुस्तकमात्र पढ्ने गरेका छन् । यस्ता पुस्तक प्रदर्शनको नियमित आयोजना भए पाठयपुस्तकबाहेक राजनीतिक, सामाजिक विषयमा पनि उनीहरू जानकार हुनसक्छन् । अरू विभिन्न क्षेत्रका ज्ञान हासिल गर्नसक्छन् ।

दीपिका कुुसी, अङ्गे्रजी साहित्यका विद्यार्थी


पुस्तक प्रदर्शनमा उपन्यास कममात्र देखेँ । मैले चाहेको र खोजेको जस्ता पुस्तक त पाइनँ । तर, अरू पनि राम्रा पुस्तकहरू छन् । अङ्ग्रेजी भाषाका पुस्तक कममात्र देखें । राजनीतिक पुस्तक अलि बढी देखें ।
आगामी दिनमा पनि यस्ता प्रदर्शनको आयोजना हुन जरुरी छ । योभन्दा अझ राम्रोसँग गर्न सकिन्छ । अझ धेरै पुस्तक समावेश गरेर प्रदर्शनी आयोजना गर्नुपर्छ ।
नम्रता खड्का
यस्ता खालका प्रदर्शनको आयोजना समाजको लागि निकै आवश्यक छ । म प्राय ः पाठ्यपुस्तकमात्र पढ्ने गर्छु । मजस्तै मेरा अधिकांश साथीहरू पनि पाठ्यपुस्तकको अध्ययनमै सीमित छन् । बाहिरी पुस्तकमा त्यत्ति ध्यान जाने गर्दैन ।

नम्रता खड्का, कानुनको विद्यार्थी


यसअघि भृकुटीमण्डपमा भएको पुस्तक प्रदर्शनमा पनि सहभागी बनेको थिएँ । यहाँ मैले स–साना भाइबहिनीलाई हुने पुस्तक, इतिहास र राजनीतिक पुस्तक पाएँ । उपन्यासहरू पनि छन् । पुस्तक प्रदर्शनहरू कमैमात्र आयोजना हुने गर्दछ । यस्ता प्रदर्शनी समय–समयमा गर्न जरुरी छ ।
सोनु केसी
हामी आफैं पनि पाठ्यपुस्तकबाहेक अरू पुस्तक कमैमात्र पढ्छौँ । विद्यालय तहदेखि उपन्यास पढ्ने रुचि भएकोले केही उपन्यासहरू पढ्छौं । साथीहरूको सिफारिसमा पनि पुस्तक पढ्ने गर्छौं । तर, कुन उपन्यास कस्तो हो भन्ने कुरा त्यत्ति धेरै थाहा हुँदैन । हाम्रो ज्ञानको दायरा पाठ्यपुस्तकमा मात्र सीमित हुनुहुँदैन । पाठ्यपुस्तकबाहेक अरू पनि धेरै पुस्तक हुन्छन् । कहिले मनोरञ्जन त कहिले ज्ञानको लागि पनि पाठ्यपुस्तकबाहेकका पुस्तक पढ्ने गर्छौंँ ।

सोनु केसी, स्नातक विद्यार्थी


त्यसको लागि यस्ता पुस्तक प्रदर्शनीको आयोजना आवश्यक छ । म स्नातक तहमा राजनीतिशास्त्र पढिरहेकी छु । मलाई राजनीतिबारे त्यत्ति धेरै थाहा थिएन । साथीहरूले भने विभिन्न पुस्तक पढ्न दिइरहेका हुन्छन् । ती पुस्तकबाट मैले धेरै कुरा थाहा पाएँ । पाठ्यपुस्तकबाहेकका किताबले पनि धेरै जानकारी दिने कुरा मैले महसुस गरेँ ।
पुस्तक प्रदर्शनी बेला–बेलामा भए पुस्तकबारे जानकारी भइरहन्छ । पुस्तकका विषयवस्तुबारे पनि जानकारी हुन्छ ।
पुस्तक प्रदर्शनीमा मैले राजनीति, इतिहास, अर्थतन्त्रसम्बन्धी पुस्तक पनि देखेँ । ती पुस्तकको अध्ययनले हामीलाई हाम्रो राजनीतिक र आर्थिक इतिहासबारे थाहा हुन्छ ।
सिर्जन लवजू
हाम्रो पुस्ताका अधिकांश साथीहरू आजभोलि सामाजिक सञ्जालमा बढी व्यस्त भएको देख्छु । पाठ्यपुस्तकबाहेकका पुस्तक पढ्ने समय उनीहरू सामाजिक सञ्जालमा समय बिताइरहेका छन् । केही बाह्य पुस्तक पढ्ने साथीहरू पनि विद्युत्तीय भर्सन पढ्ने गर्छन् । तर, पुस्तक पढ्ने जत्तिको मज्जा त्यस्ता माध्यममा पाइँदैन । डाटा क्र्यास भएपछि त्यस्ता विद्युत्तीय भर्सन सबै नष्ट हुन्छ । पुस्तक भने दिगो हुने गर्छ ।

सिर्जन लवजू, विद्यार्थी


विद्युत्तीय भर्सन पढ्ने बानीले स्वास्थ्यलाई खराब असर गर्नेरहेछ । पुस्तकको अध्ययनले वाचन क्षमताको पनि विकास गर्छ ।
उच्च मावि तहसम्म म पाठ्यपुस्तकबाहेकका पुस्तक पढ्थेँ । तर, आजभोलि अलि कम भएको छ । सामाजिक सञ्जालमा अलि बढी समय व्यतीत भइरहेको छ । त्यसले राम्रो गरेको जस्तो लाग्दैन ।
स्थानीय बजारमा नयाँ पुस्तक पाउन गाह«ो छ । काठमाडौँमा जाँदा त पाइन्छ । यता धेरै पुस्तक सजिलै पाउन पनि मुस्किल हुन्छ । बेला–बेला पुस्तक प्रदर्शनी आयोजना गरिए त्यो अभाव पूरा हुनेछ ।
ईश्वर शाही
पुस्तक प्रदर्शनीले मानिसको ज्ञानको दायरा फराकिलो बनाउन निकै मद्दत गर्छ । देश–विदेशका पुस्तक पढेर संसारबारे थाहा पाउन र मानिसको चेतनास्तर उकास्न यस्ता कार्यक्रमले मद्दत गर्छ । यस्ता कार्यक्रम निरन्तर हुनुपर्छ र यसलाई प्रोत्साहित गर्नुपर्छ ।

ईश्वर शाही, विद्यार्थी


भक्तपुरमा यसअघि यस्ता प्रदर्शन भएको मलाई थाहा थिएन । जनप्रकाशन गृहले साना–साना पुस्तक प्रदर्शन गरेको थाहा छ । तर, यस्ता प्रदर्शनी भक्तपुरमा पहिलो पटक देखेँ । यसअघि काठमाडौँसम्म गएर पुस्तक प्रदर्शनीमा सहभागी बनेको थिएँ । अहिले यहीं यस्तो कार्यक्रम भएकोले खुसी छु । पुस्तकले समाजमा परिवर्तन ल्याउन धेरै महत्वपूर्ण योगदान गरेको हुन्छ । विभिन्न देशमा भएका घटनाक्रमले पुस्तकबाट परिवर्तन सम्भव भएको देखाउँछ । पुस्तकले मानिसको चेतनास्तर बढाउँछ ।
प्रस्तुति ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *