भर्खरै :

नैतिकता शब्दकै अवमूल्यन

– सुरजसिंह
ओली सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका गोकुल बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिँदा ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’ भनी ट्विटमा लेखे । शासक पार्टीका केही नेता कार्यकर्ताहरूले पनि ‘देशमा नेतिकताको खडेरी परेको छैन’ भनी लेखेर ट्विट गरे । बाँस्कोटाले पदबाट दिएको राजीनामालाई नैतिकताको आधारमा दिएको राजीनामा भनेर बाँस्कोटा स्वयम् र नेकपा नेता–कार्यकर्ताहरूले जग हँसाएका छन् । बाँस्कोटाले दिएको राजीनामालाई अनैतिकताको आधारमा दिएको राजीनामा भनेर जनताले बुझेका छन् र बुझ्नुपर्छ । नैतिकताको आधारमा राजीनामा दिने भनेको के हो ? भ्रष्टाचारको पोल खुलेर अनुहारमा कालो दलिएपछि दिने राजीनामा भनेको के हो ? बाँस्कोटा र नेकपाका नेता–कार्यकर्ताहरूले बुझेका रहेनछन् । जनताको सेवा गर्छौँ भनी सांसद र मन्त्री पदमा पुगेपछि भित्रभित्रै भ्रष्टाचारमा चुर्लुम्मै डुब्ने र त्यसको पोल खुलेपछि नैतिकताको आधारमा राजीनामा भन्दैमा त्यस्ता व्यक्ति नैतिकवान हुनसक्दैनन् । बरु त्यस्ता व्यक्तिहरूले नैतिकताको कुरा गर्नु नैतिकता शब्दकै अवमूल्यन हो ।
आफै कमिसनको बार्गेनिङ गर्ने, कमिसन एजेन्टले दिन्छु भनेको रकममा चित्त नबुझेर त्यसमा एक, दुई अर्ब बढाउन माग गर्ने । त्यो कुराको अडियो सार्वजनिक भएपछि पनि नखाएको विष लाग्दैन भन्नु बाँस्कोटाको ‘नाङ्गो नाचे हजार दाउ’ बाहेक केही होइन  । ‘डामेर छाडेको साँढे’ जस्तो भएर कसैलाई अलिकति इज्जत नगर्ने बाँस्कोटाले लाज, घीन सबै पचाइसकेका छन् भने कुरा यसबाट पुष्टि भएको छ । त्यस्ता मानिस प्रधानमन्त्री केपी ओलीको घेरामा बसिरहनु भनेको उनलाई ओलीकै साथ र संरक्षण छ भनी बुझ्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *