भर्खरै :

अफगान शरणार्थी भन्छन्, “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”

क्याथी ग्यानोन
हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन तर उहाँका दा¥ही लामा र सेता भइसकेका छन् । चालीस वर्षअघि युद्धग्रस्त अफगानिस्तानबाट भागेर पाकिस्तान आउँदा उहाँका बालबच्चा सानै थिए । जीउज्यानको सुरक्षाको खोजीमा विकट हिमाली भूभाग छिचोलेर उत्तर पश्चिमी पाकिस्तान आउँदा उहाँका बच्चा गधाका पिँठ्युमा चढेर आएका थिए ।
त्यसबखतको युद्ध तत्कालीन सोभियत सङ्घको विरूद्ध थियो । झन्डै ५० लाख अफगानी नागरिक भीषण युद्धबाट बच्न पाकिस्तानमा शरणार्थी बन्न बाध्य पारिएका थिए । अफगानिस्तानमा जथाभावी बम प्रहार गरिएका थिए र आम मानिसलाई अफगानिस्तानमा शान्तिसँग बस्ने वातावरण थिएन ।
झन्डै चार दसकको युद्ध र द्वन्द्वपछि पनि अझै १५ लाख बढी अफगानी पाकिस्तानमा शरणार्थीको रूपमा बाँचिरहेका छन् र उनीहरू आफ्नै सरकारले परित्याग गरेको महसुस गरिरहेका छन् । उनीहरूको बुझाइमा आश्रित मुलुक पाकिस्तान र राष्ट्रसङ्घ दुवैले आफूहरूलाई बेवास्ता गरेको छ ।
अहिले, वर्षौंपछि पहिलोपटक उनीहरूमा घर फर्कन पाइने एउटा झिनो आशा पलाएको छ । संयुक्त राज्य अमेरिका र तालिबानबीच शान्ति सम्झौता हुने सम्भावना बढेको छ र उनीहरूले पहिलो कदमको रूपमा ‘हिंसामा कमी’ ल्याउन अस्थायी सम्झौतामा सहमति जनाएका छन् ।
उक्त सम्झौता पालना भयो भने अर्को चरणमा अफगानिस्तानमा जारी विद्यमान युद्ध अन्त्यका लागि वासिङटन र तालिवानबीच बहुप्रतिक्षित दीर्घकालीन सम्झौता हुनेछ । यी दुई पक्षबीच १९ वर्षदेखि भीषण युद्ध जारी छ । सम्झौताबमोजिम अमेरिकी सैनिक क्रमशः स्वदेश फर्कनेछन् भने युद्धग्रस्त अफगान पक्षबीच शान्तिवार्ता र स्थायी युद्धविराम हुनेछ ।
सम्भावित शान्ति सम्झौताको पृष्ठभूमिमा पाकिस्तानले सोमबार शरणार्थीका सम्बन्धमा एउटा सम्मेलनको आयोजना गरेको छ, जसमा अफगानिस्तानका लागि अमेरिकी शान्तिदूत जाल्मे खलिलजाद र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस उपस्थित हुनुभएको थियो । यसको अर्थ ४० वर्षपछि पहिलोपटक यी शरणार्थीले औपचारिक मान्यता पाएका छन् ।
“यो भयानक युद्ध हो … र यसको अन्त्य हुनु आवश्यक छ,” सम्मेलनमा सम्बोधन गर्दै खलिलजादले भन्नुभयो । उहाँले नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतको रूपमा तालिबान र अमेरिकाबीच मध्यस्थता वार्ता गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “हामीले हिंसा न्यूनीकरणका लागि अल्पकालीन सम्झौता गरेका छौँ र यो वार्तामा दुवै युद्धरत पक्षले खुलेर कुराकानी गरेका छौँ । आशा छ, हामी चाँडै बहुप्रतिक्षित शान्ति सम्झौता गर्नेछौँ ।”
सम्मेलनमा राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिप्पो ग्रान्डी पनि सहभागी हुनुहुन्छ । उच्चायुक्तको कार्यालयले नै अफगान शरणार्थीलाई स्वदेश फर्काउने जिम्मेवारी निर्वाह गर्नेछ । यो त्यति सजिलो भने छैन ।
धेरै शरणार्थीले अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानका राष्ट्रपति अशरफ घानीको सहयोग र आशाको आश्वासनको आधारमा यसअघि पनि फिर्ता जान प्रयास गरिसकेका छन् । तर अफगानिस्तानमा उनीहरूका लागि न खानेकुरा थियो न कुनै आश्रय । दशकौं अगाडि छोडेका गाउँघरमा उनीहरूलाई स्वागत गर्ने कोही थिएन, गाउँमा उनीहरूलाई परचक्रीझैं व्यवहार गरियो ।
गाउँ फर्किएका कतिपय मानिस पनि निराश भएर पाकिस्तान र इरानतर्फ नै फर्किएका थिए । हजारौँ अन्य अफगानीले तस्करलाई पैसा बुझाएर ज्यान जोखिममा पारेर युरोप भागेका थिए तर धेरै अफगानीलाई युरोपबाट फेरि विमानमा राखेर युद्धग्रस्त अफगानिस्तानमा नै फर्काइयो ।
आइतबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा ग्रान्डीले युरोपबाट अफगान शरणार्थीलाई जबरजस्ती फर्काइनु ‘लज्जाजनक’ रहेको बताउनुभयो । “म … इरान र पाकिस्तानजस्ता देशले यति उदारतापूर्वक सङ्कटमा परेका मानिसलाई आश्रय दिइरहेको प्रति आभार व्यक्त गर्न चाहन्छु । तर, धनी देशले शरणार्थीका लागि ढोका बन्द गर्नु ठीक होइन ।”
अमेरिका–तालिबान शान्ति सम्झौतापछि शरणार्थीले घर फर्कने आशा व्यक्त गरिरहेकोमा टिप्पणी गर्दै ग्रान्डीले भन्नुभयो, “मलाई लाग्छ, यसपटक सही निर्णय हुनेछ । उनीहरू यसपटकको शान्ति सम्झौता दिगो हुनेमा आशावादी पनि छन् ।”
अर्को चुनौती भनेको विदेशमा रहेका शरणार्थीलाई मात्र होइन, आन्तरिकरूपमा आफ्नो देशभित्र विस्थापित करोडौँ अफगानलाई आ–आफ्ना स्थानमा फर्काउन चाहिने ठूलो रकम जुटाउनु हो । सन् २००१ पछि अरबौं डलरको सहयोग भए पनि भ्रष्टाचारका कारण मुलुकमा गरिबी बढेको छ, जनताको जीवनस्तर दुरुह छ । विश्व समुदाय नै सहयोग गर्दागर्दै थकित भइसकेको छ ।
अफगानिस्तानमा गरिबी स्तर माथि उक्लिँदै छ । सन् २०१२ मा ३४ प्रतिशत अफगानी गरीबीको रेखाभन्दा मुनि थिए र उनीहरूको आय प्रतिदिन एक अमेरिकी डलरभन्दा कम थियो । आज त्यो सङ्ख्या बढेर ५५ प्रतिशत पुगेको छ ।
पाकिस्तानमा रहेका अफगानी शरणार्थी खानका नातिनातिना भइसके । उहाँको विचारमा देशभित्र मौलाएको चरम भ्रष्टाचारले मुलुक खोक्रो भइसकेको छ ।
“साँचो कुरा भनौँण्, धेरै रकम अफगानिस्तान आयो तर मुल्लाहसमेतका हरेक प्रभावशाली व्यक्तिले त्यो पैसामा रजाइँ गरे,” खानले भन्नुभयो । “सबै नेता देशद्रोही हुन्, तिनीहरूले अफगानीलाई धोका दिएका छन् । गरिब मानिसका बालबच्चा मारिए, जबकि कुनै नेताले आफ्ना छोराछोरी गुमाएनन् ।”
खानले गुटेरेस र ग्रान्डीका लागि एउटैमात्र सन्देश रहेको बताउनुभयो ।
“हामी धेरै कुरा माग्दैनौँ,” ४० वर्षदेखि बस्दै आएको घाँसपराल र माटोले बनेको कटेरो देखाउँदै उहाँले भन्नुभयो । पाकिस्तानको खैबर पुख्तुनख्वा प्रान्तको राजधानी पेशावर नजिकै अवस्थित शरणार्थी शिविर अफगानिस्तानको सिमानाबाट करिब ४० किलोमिटरमात्र भित्र छ ।
स्थानीयवासी यस शिविरलाई काबोबायन शिविर भन्छन् । यहाँ विगतमा धेरै कबाब पसल रहेकाले पनि यस शिविरलाई काबोबायन भनिएको हो तर आजभोलि यस्ता पसल हराइसकेका छन् ।
“पहिले हामी शान्तिका लागि आग्रह गर्दछौँ,” च्यातिएका कपडा लगाएका दर्जनौँ केटाकेटीले घेरिएका खानले भन्नुभयो । फेब्रुअरीको चिसो बिहानीमा पनि उनीहरूले जुत्ताचप्पल लगाएका थिएनन् । उनीहरूका हातखुट्टामा माटो टाँसिएको थियो ।
“शान्ति हुनासाथ हामीलाई जग्गा चाहिन्छ । त्यहाँ हामी आफ्नो घर बनाउनेछौँ । त्यसपछि हामीलाई खानाको जरुरी हुन्छ । अनि स्कूल, पसल र मस्जिद बनाउनुपर्दछ ।” उहाँले भन्नुभयो ।
अर्का बुढ्यौली उमेरका शरणार्थी शाह वाली करिब ४० वर्ष पहिले अफगानिस्तानको पूर्वीनान्गारहार प्रान्तबाट भागेर यहाँ आउनुभएको थियो । उहाँले पनि विगतमा घर फर्किने प्रयास गर्नुभएको थियो तर त्यहाँ केही थिएन । युद्धबाट नष्ट नभएको सरसामान पनि छिमेकी र अरू चोरहरूले लुटेका थिए । शान्तिको झिनो आशाले पनि उनलाई उद्वेलित बनाएको छ ।
“हामीलाई शान्ति चाहिन्छ र त्यसपछि हामी फर्कनेछौँ,” उहाँले भन्नुभयो । कुन व्यक्ति आफ्नो मातृभूमि फर्कन चाहँदैन र ? (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *