भर्खरै :

छाउपडीमा राष्ट्रपति !

अनुदीप
बिहीबार बिहानै प्रधानमन्त्री ओलीका सबैभन्दा प्रिय मन्त्रीको लेनदेन वार्ता चुहिएपछि एमालेजनको पसिना चिट् – चिट् बगिरहेको थियो । बिहीबारै एमालेजनको मात्र होइन, दोलखास्थित भीमेश्वर मन्दिरको शिलामा पनि पसिना आएको समाचार ‘भाइरल’ भयो ।
भीमेश्वरको शिलामा पसिना आउनुलाई राष्ट्रमा अनिष्ट आउने सूचकका रूपमा हेरिने जनविश्वास भएकाले राष्ट्रप्रमुखले क्षमा पूजा पठाउने र सरकारका तर्फबाट बली पूजा पठाउने चलन रहेको समाचार आयो । तर, शिलाबाट किन पानी निस्केको होला भन्नेतर्फ समाचारहरूको ध्यान गएको देखिएन । ढुङ्गाबाट पानी निस्कँदा अन्धपरम्पराअनुसार नै सरकारी अधिकारीहरू हेर्न गएको देखियो । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्व शुक्रबार राष्ट्रपति कार्यालयमा ‘पसिना पुछेको कपास’ महाप्रसादको रूपमा बुझाउन गयो । गणतन्त्र नेपालका राष्ट्रप्रमुख, ‘कम्युनिस्ट’ नेता, राष्ट्रपति विद्यादेवी भण्डारीले सो महाप्रसाद ग्रहण गरिन् । साथसाथै, क्षमा पूजाको लागि खामबन्दी दक्षिणा पनि प्रदान गरिन् । परम्पराको निरन्तरताको नाममा विष्णु अवतार मानिएका राजाले जस्तै ‘भौतिकवादी’ राष्ट्रपतिबाटै अन्धविश्वासलाई प्राथमिकता दिनुले नेपालको गणतन्त्रका राज सम्राटको लक्षण प्रस्ट हुँदै गएकोमा आश्चर्य छैन ।
जनविश्वासको सम्मान गर्ने नाममा आफ्नै अनिष्ट हुने भयले दोलखा भीमेश्वरमा क्षमा पूजा गराउने राष्ट्रपति र बली पुजा गराउने सरकार छाउप्रथा हटाउन भने पश्चिम नेपालका जिल्लाहरूमा जबरजस्ती अगाडि बढेको छ । वर्षाँैंदेखि चलिआएको छाउप्रथा कहिले र किन सुरु भयो ? आज छाउ बार्न गोठमा बस्नु ठीक हो या होइन ? छाउको बेला महिला स्वास्थ्यको के कसरी सरसफाइमा ध्यान दिन सकिन्छ भन्ने विषयमा जनचेतना फैलाई जनताको साथमा काम गर्न सरकारलाई फुर्सद छैन । तर, छाउपडी प्रथा हटाउन सरकारले बल प्रयोगलाई प्राथमिकतामा राख्यो । हिजो छाउ नमान्दा ‘देउता’ रिसाउलान् भन्ने त्रासबाट भयभित पश्चिम नेपालका महिला आज छाउगोठमा बस्दा कानुन लाग्ने डरबाट आतङ्कित छन् । हिजोको अन्धविश्वास जति घृणित छ त्यति नै आजको चेतनाहीन कानुनी बल प्रयोग पनि स्वीकार्य हुन सक्दैन । कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला भए पनि सल्यान र जाजरकोटमा छाउप्रथा छैन । छाउ मान्ने पहाडी जिल्लाबाट आएका भए पनि नेपालगञ्ज, धनगढीलगायत सहरी क्षेत्रमा बसेका महिलाले पनि छाउप्रथाको कस्ट व्यहोर्नुपर्दैन । छाउ भनिने मासिक रक्तश्राव प्राकृतिकरूपमा अन्य क्षेत्रका महिलाको पनि हुन्छ । छाउप्रथा मान्दै आएका महिला पनि सहरी क्षेत्रमा आएपछि अलग्ग घरमा बस्ने अवस्था आउँदैन, ‘देउता’ रिसाउने त्रास बोक्न सकिँदैन । त्यसैले दैलेखदेखि उत्तर पश्चिमका जिल्लाहरूमा पनि सरकारले वैज्ञानिक दृष्टिकोण प्रचार गरी जनताको चेतनास्तर उठाउने काम गर्नुपर्ने हो । तर, सरकार वैज्ञानिक चिन्तन र आलोचनात्मक दृष्टिकोण उकास्न आफैँ डराउँछ !
छाउप्रथाजस्तो कुसंस्कारको कारण धेरै महिलाको हिंसा, बलात्कार र हत्या अनि अकालमा मृत्यु भएको कहालीलाग्दो अवस्था छ । छाउप्रथा हटाउन जनचेतना फैलाउने जागरण अभियान आवश्यक छ । तर, सभ्य हुने नाममा विदेशी दातृ निकायको दबाबमा छाउगोठ भत्काउनु सभ्य उपाय होइन । छाउगोठ भत्काउने गाउँघरमा होइन, बरु अन्धविश्वासको नाममा जकडिएको मानिसको मनको मैलो हटाउनु आवश्यक छ । तर, गणतन्त्र नेपालका ‘भौतिकवादी’ राष्ट्रपति आफँै अन्धविश्वासलाई मलजल गर्दै हिँड्नु राष्ट्रपति आफँै छाउपडीमा बसेजस्तो भएन र भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । दशौँ लाख मानिसलाई अप्ठ्यारो पर्ने गरी पशुपति जान मरिहत्ते गर्ने अनि ‘आफ्नो अनिष्ट टार्न’ दोलखा भीमेश्वर मन्दिरमा क्षमा पूजा गर्न पठाउने राष्ट्रपति र ‘देउता रिसाउलान्’ भनी छाउगोठमा बस्ने महिलाका दृष्टिकोणमा समानता खोज्ने कि नखोज्ने ? प्रश्न बाँकी नै छ !
पँुजीवादी व्यवस्था ल्याउनको लागि भौतिकवादीहरूले धेरै मिहिनेत गरेका थिए । तर, पुँजीपतिवर्गले पनि सत्तामा पुगेपछि अन्धविश्वासलाई नै वैशाखी बनाउन खोज्यो । भौतिकवादी र वैज्ञानिक दृष्टिकोणका हिमायती भएको दाबी गर्ने अनि व्यवहारमा धार्मिक कुसंस्कार र अन्धपरम्परा लाद्न खोज्नु पाखण्डी प्रवृत्ति हो भन्नुमा के आपत्ति ?
तुलोको धम्की !
प्रधानमन्त्री ओलीले निर्धक्क भाषण गर्नु र आफूले बोलेका मात्र सबै सत्य भएको जस्तो स्वाङ दृष्टिकोण राख्नुको पछाडि दुईतिहाइ बहुमतको स्थिति हो । अतिरञ्जित आत्मविश्वासकै कारण धुलिखेलमा प्रधानमन्त्री ओलीले राजनीतिक तुलोमा सबै एकातिर सञ्चारमन्त्री गोकुल बास्कोटा अर्कोतिर हुने दाबी
मात्रै गरेनन् बरु बास्कोटाको मुख देखेपछि सरकारको विरोध गर्ने पनि चुप लाग्छन् भनी बताए । ‘आफ्नै गृह जिल्ला’ बालकोट घरमा बास्कोटालाई बस्न दिएका झापाली ओलीको बोली यसपाली आफैलाई गलपासो भयो । विगत र आगतमा के बोलेँ र के बोल्ने भन्ने सोच्नुभन्दा पनि सामुन्नेको स्रोता हेरी निर्धक्क बोल्ने प्रधानमन्त्री ओली आफ्ना प्रिय बास्कोटाको अश्लिल अडियो वार्ता सार्वजनिक भएपछि विगतझैँ भ्रष्टाचारी जसलाई पनि मुख नहेरी कारबाही गर्ने भनी पानीमाथिको ओभानो हुन खोजेको टिप्पणी हुनु स्वाभाविक छ । यद्यपि, आज बास्कोटाको कमिसन लेनदेनले प्रधानमन्त्री ओली अनभिज्ञ हुनेबारे कसैले शङ्का गर्दैन ¤ प्रधानमन्त्री ओलीको भूमिकामाथि सन्देहपूर्ण प्रश्नहरूको वर्षा भइरहेकै छन् ।
स्वीस कम्पनी केबिए नोटासिसका एजेन्ट विजयप्रकाश मिश्र र प्रधानमन्त्री ओलीका सर्वप्रिय सञ्चारमन्त्री गोकुल बास्कोटाबीच सुरक्षण मुद्रण मेसिन खरिद गर्दा पाउने कमिसनको मोलमोलाइ बुधबार अबेला सञ्चारमाध्यममा सार्वजनिक भयो । कमिसन मोलमोलाइको अडियो रेकर्ड बिहीबार बिहानसम्ममा भाइरल भयो । संसद् अवरुद्ध भयो । सञ्चारमन्त्री बास्कोटाको राजीनामा आयो । मोलमोलाइमा ७०÷७४ करोडको कुरामात्र होइन, अर्को एक अरब भाउ बढाई बिल बनाउँदा कमिसन कति बढ्छ भन्ने चासो पनि देखिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पहिलो पटक पढिएको र प्रधानमन्त्री ओलीकै पहिलो नीति तथा कार्यक्रममा ‘कानुन सुधार गरी मुद्रण कार्यालय स्थापना गर्ने’ कार्यक्रम पार्नसमेत दलाल मिश्रले मिहिनेत गरेको समाचारहरू आएका छन् । बढी कमिसन पाउने लोभमा मिश्रलाई पन्छाएर अन्यत्रैबाट थप बढी मूल्यमा सुरक्षण मुद्रण खरिद गर्न लागेपछि उक्त अडियो सार्वजनिक गरेको स्वयम् मिश्रले स्पष्ट पारेका छन् ।
बालुवाटारको जग्गा फिर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फुर्सद पाएका नेकपाका महासचिव विष्णु पौडेललाई उक्त अडियो सुनाए । प्रधानमन्त्री ओलीको कानसम्म अडियो पु¥याए । दलाल मिश्रले आफ्नै कम्पनीबाट मेसिन खरिद गर्न लगाउन अनेक उपाय गरे । केही सीप लागेन । हुन त दुईतिहाइ बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्री ओली एक जना दलालसँग किन डराउँदा हुन् ¤ बरु उल्टै कसैले कमिसन मागे सिधै आफूलाई खबर गर्न भन्दै भाषण गर्ने प्रधानमन्त्री ओलीले गोकुल बास्कोटा नेपाली राजनीतिका शक्तिशाली भएको उद्घोष गरे । गोकुल बास्कोटालाई नेपाली राजनीतिक तुलोमा एकातिर र सबै अर्कोतिर राख्दा पनि जित्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइमा गोकुल बास्कोटाका विरोधीहरूलाई ठेगान लगाउनुभन्दा आफै ठेगान लाग्नुमा बास्कोटाप्रति प्रमको व्यङ्ग्य मात्रै त थिएन भन्ने पनि देखियो !
पँुजीवादी व्यवस्थामा पैसाकै भरमा चुनाव जित्छन् । शासकहरूले कमिसन र भ्रष्टाचारबाटै स्रोत जुटाउँछन् । प्रधानमन्त्री ओलीले बास्कोटालाई काखी च्यापेरै जोगाउन खोजेका होलान् ¤ तर, यसपटक कमिसनखोरहरूबीच भागबन्डा मिलेन । आखिरमा बास्कोटाको भाँडो फुट्यो । जनताले थाहा पाउने गरी छताछुल्ल भयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *