लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
प्रज्ज्वल
नेपालीमा एउटा उखान छ – ‘गर्जने बादल बर्सदैन’ । एमाले र माओवादीको ओली सरकार अहिले यही स्थितिमा छ । प्रम ओलीले २०७६ फागुन ३ गते आफ्नो सरकारको दुई वर्षको कार्य विवरण प्रस्तुत गर्दै प्रतिनिधिसभाको बैठकमा दोहो¥याएका थिए – “म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ ।” (गोरखापत्र, २०७६ फागुन ४ गते) प्रम ओलीले फागुन ६ गते काभ्रेको एउटा कार्यक्रममा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको प्रशंसा गर्दै भने, “देशको राजनीतिक तुलोमा एकातिर गोकुल बास्कोटा, सबै अर्कोतिर, सरकारको विरोध गर्नुप¥यो भन्ने गोकुल बास्कोटातिर हेरेपछि चूप लाग्यो ।” प्रम ओलीको यो प्रशंसा सुनेर सहभागीहरूले गडगडाहट ताली पिटेका थिए । त्यसको दुई दिनपछि फागुन ७ गते राति मन्त्री बास्कोटा र सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद सम्बन्धमा स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रबीचको ७० करोड रुपैयाँको कमिसन मोलमोलाई भएको आवाज सार्वजनिक भयो । फागुन ८ गते मन्त्री बास्कोटाले आफ्नो पदबाट राजीनामा दिए ।
स्थानीय एजेन्ट मिश्रले डेढ वर्षअघि नै मन्त्री बास्कोटासँगको कमिसनबारे फोनवार्ता भिडियो रेकर्ड गरेका थिए । भिडियोमा मन्त्री बास्कोटाको अनुहार झल्याकझुलुकमात्र देखिएकोले आवाजमात्र सार्वजनिक गरेको मिश्रको भनाइ छ । उनले यो रेकर्ड सम्बन्धित सरकारी निकायका धेरै मान्छेलाई सुनाएको र दुई महिनाअघि नेकपाका महासचिव विष्णु पौडेलमार्फत प्रम ओलीकहाँ पु¥याएको समाचार छ । सो आवाज रेकर्डमा मिश्रले कमिसन ७४ करोड रुपैयाँमध्ये ७० प्रतिशत मन्त्री बास्कोटालाई र ३० प्रतिशत आफूलाई राख्ने बताएका थिए भने मन्त्री बास्कोटाले मेसिनको मूल्य २७ अर्बको ठाउँमा २८ अर्ब रुपैयाँ बनाएर ल्याउनु भनेका थिए । एजेन्ट मिश्रले यो खेलमा प्रम कार्यालयका दुई÷तीनजना कर्मचारी पनि भएको उल्लेख गर्दै आफूसँग कमिसनबारे आवाज रेकर्ड भएको थाहा पाएपछि मन्त्री बास्कोटा नरम भएको बताएका थिए । त्यसअघि मन्त्री बास्कोटाले मिश्रलाई केही पैसा लिएर चुप लाग्नु, नभए ठीक पार्ने भनी धम्कीसमेत दिएको उनको दावी छ ।
कमिसन मोलमोलाइको आवाज रेकर्ड सार्वजनिक भएपछि मन्त्री बास्कोटाले प्रम ओलीको ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने भनाइ झूट साबित भयो । अहिले बास्कोटा मन्त्री पदबाट राजीनामा गरी प्रम ओलीको निजी घर भक्तपुर बालकोटमा बस्दै छन् । यसकारण, पनि बास्कोटाको भ्रष्टाचारलाई प्रमको संरक्षण रहेको चर्चा बढेको हो । नेकपा सचिवालयको आइतबारको बैठकमा प्रम ओलीले मन्त्री बास्कोटाविरुद्ध पार्टीले छानबिन गर्न नपर्ने बताए । यसले कमिसनको तीर प्रमतिर तेर्सिएको बताउनेहरूको सङ्ख्या पनि बढ्दो छ ।
प्रतिनिधिसभाको लेखा समितिका सदस्यहरूलाई समेत स्थानीय एजेन्ट मिश्रले मन्त्री बास्कोटाको कमिसन लोभ बारेको फोन वार्ता सुनाएका थिए । मन्त्री बास्कोटाले स्वीस कम्पनीसँग उक्त मेसिन खरिद नगरी कमिसन धेरै दिने फ्रेन्च कम्पनीसँग खरिद गर्ने तयारी गरेपछि मिश्रले उक्त आवाज रेकर्ड गरेको सार्वजनिक गरेका थिए । फागुन ८ गतेको सार्वजनिक लेखा समितिले सो मेसिन फ्रेन्च कम्पनीसँग खरिद गर्न सरकारलाई निर्देशन दिने सङ्केत पाएका मिश्रले फागुन ७ गते राति समितिका सभापति भरतकुमार शाहलाई मन्त्री बास्कोटासँगको कमिसन वार्ता सुनाएको पनि चर्चा छ । त्यसबेला सभापति शाहले फोनवार्ता लिन नमानेको हुँदा मिश्रले सञ्चारमाध्यममार्फत सार्वजनिक गराएका थिए । लेखा समितिका सभापति नेपाली काङ्ग्रेसका सांसद भरतकुमार शाह हुन् । लेखा समितिले फागुन ११ गते निर्धारित बैठक फागुन ८ गते नै बसेर उक्त मेसिन फ्रेन्च कम्पनीसँग खरिद गर्न सरकारलाई निर्देशन दिने तयारी गरेको सङ्केत पाएपछि मिश्रले आवाज रेकर्ड सार्वजनिक गरेका थिए । यो भ्रष्टाचारमा सत्तापक्ष र प्रमुख प्रतिपक्षको संलग्नता रहेको समाचार छ । ‘जनपाटी’ अनलाइनमा लेखिएको छ, “लेखा समिति जसरी सक्रिय हुनुपथ्र्यो त्यसरी नभएको देखिन्छ । यसबाट समिति पनि विवादमा तानिएको छ ।”
प्रम ओलीले अलि अगाडि यूरोपेली मुलुकका एक जना राजदूतलाई बोलाएर आफ्नो मान्छे यति ग्रुपका अध्यक्ष आङ छिरिङ शेर्पालाई प्रेस बिक्रीमा संलग्न हुने देशको कम्पनीको एजेन्ट बनाउन भनेको पत्रकार युवराज घिमिरेले खुलासा गरेको समेत उक्त अनलाइनमा प्रकाशित छ । वि. सं. २०७३ सालमा एमालेका अध्यक्ष केपी ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला लगानी बोर्डको बैठकले तत्काल सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने निर्णय गरेको थियो । नेपालको पहिलो धनाढ्य विनोद चौधरी वि. सं. २०६४ सालमा एमालेबाट संविधानसभा सदस्य भएका थिए । वि. सं. २०७४ सालबाट चौधरी नेकातर्फका प्रतिनिधिसभा सदस्य छन् । ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा आङ् छिरिङ शेर्पाको मृत्युसँगै एउटा समाचार सुनियो– ‘एमालेको अर्थमन्त्री शेर्पा हुन् । केही वर्षमा शेर्पालाई नेपालको एक नम्बरको धनी बनाउने एमालेको योजना थियो ।’ शेर्पाको मृत्यु भयो तर व्यावसायिक कम्पनी यथावत चालू छ । ललिता निवास, दरबारमार्गलगायतको नेपाल ट्रस्टको जग्गा सस्तो बहालमा कब्जा गर्नेमा यति समूहको नाम जोडिएको छ ।
एमालेका सांसदहरूले अर्थ समितिको बैठकमा मन्त्री बास्कोटाले फोरजी सेवा विस्तार योजनामा १२ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको बोलेका थिए भने एक पूर्वमन्त्रीले अर्को बहालवालामन्त्री रघुवीर महासेठको नाम किटेर भ्रष्टाचारको कारण जेल जान तयार रहनू भनेका थिए । मन्त्रीले नखाए पचास प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने बताउनेहरू पनि छन् । यसकारण, पञ्चायत कालदेखि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गरी भ्रष्टहरूलाई जेल थुन्नु आवश्यक छ । विराटनगर जुट मिलको मेसिनका पार्टपूर्जा, ठूलठूला सालको काठ, कुरुवा घर र पर्खालसमेत भत्काएर इँटा बेच्ने र सेयरसमेतमा घोटाला गर्ने विं सं. २०७२ सालको भ्रष्ट उद्योग मन्त्रीलाई पनि जेलमा थुन्नु आवश्यक छ ।
देशको यो सङ्कटको अवस्थामा प्रम ओली आफ्नो ६९ वर्षको जन्मदिन मनाउन जन्मघर ते¥हथुमको आठराई झापा– ४ इवाको तीनसल्लेमा फागुन १० गते चारवटा हेलिकप्टरसहित पुगे र नेपालको नक्सा आकारको केक हेलिकप्टरबाटै मगाएर काटे । केही समयअघि प्रमको पार्टी नेकपाले जन्मदिन कार्यक्रम घरभित्र सिमित गर्ने आचारसंहिता बनाएको थियो । प्रम ओलीबाट यसको पूर्णरूपमा उल्लङ्घन भयो । भारतले नेपाली भूमि लिम्पियाधुरा गाभेर नयाँ नक्सा जारी गरेको विरोध गर्न नसकेका प्रम ओलीले आफ्नो राजश्री शैलीको जन्मोत्सवमा नेपाल आकारमा केक बनाएर काटेको संयोग होइन, सुनियोजित हुनसक्ने जनतामा चर्चा छ । नेपालको सीमाना पुर्खाको रगतद्वारा कोरिएको हो । प्रम ओलीलाई यो संवेदनशीलताको हेक्का होस् । यो केक काटिएसँगै प्रम ओलीको राजनीतिक यात्रा समाप्त हुने र इतिहासको कठघरामा उभिनुपर्ने दिन अब टाढा छैन भन्नेहरू पनि बढ्दै छन् ।
मन्त्री बास्कोटाको भ्रष्टाचार काण्डमा संलग्न भएको विषय उठाउँदै बाँकेका प्रेमबहादुर शाही र मकवानपुरका आनन्दराम पौडेलले प्रम ओलीलगायत चार जनाविरुद्ध अख्तियारमा उजुरी हालेका छन् । तर, अख्तियारका पदाधिकारीहरू नै प्रम प्रमुख भएको संवैधानिक परिषद्बाट सिफारिस भई नियुक्ति हुने हुँदा सो उजुरीअनुसार छानबिन हुने अवस्था छैन । प्रमुख प्रतिपक्षी नेकासमेतको प्रभावकारी भूमिका नदेखिएको हुँदा देशमा भ्रष्टहरूको गतिविधि अझै बढ्ने सङ्केत देखिन्छ ।
२०७६ फागुन ११ गते
Leave a Reply