भर्खरै :

कुनै पनि विषयको एकपक्षीय नकारात्मक सन्देशको पछि नलागौँ

सितु
हाम्रो मित्र राष्ट्र जनवादी गणतन्त्र चीन सरकारको छात्रवृत्ति प्राप्त गरी शाङ्गतोङ्ग प्रान्तमा अवस्थित एक सुन्दर सहरको विश्वविद्यालयमा एक वर्ष चिनियाँ भाषाको अध्ययन सकाएर चचियाङ्ग प्रान्तको राजधानी हानचउमा स्थापित चचियाङ्ग नामले प्रसिद्ध एक मनमोहक सौन्दर्यताले भरिपूर्ण विश्वविद्यालयमा मैले मेडिसन अध्ययन गर्दै गरेको दुई वर्ष भइसकेको छ । विविध सङ्कायमा अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध राइएको शैक्षिक सुविधा तथा बन्दोबस्तको व्यवस्थापन प्रशंसनीय छ । हाम्रै मुलुक नेपालको सन्दर्भमा कुरा गर्दा अहिलेकै जस्तो गोराहरूका डलरकै भरमा निर्माण गरिएको शिक्षा नीति कायमै रहने हो भने चीनको यो वर्तमान शिक्षण व्यवस्थामा पुग्न हाम्रो लागि आगामी धेरै वर्षसम्म चन्द्रमा छुने जतिकै कठिन हुनसक्छ । नेपालभन्दा धेरै विकसित विभिन्न मुलुकबाट चीनमा अध्ययन गरिरहेका विद्यार्थी साथीहरूसँगको भलाकुसारीबाट पनि थाहा भयो– चिनियाँ सरकारले गरिरहेको शैक्षिक क्षेत्रमा लगानी र त्यसअनुरूपको प्रतिफल असामान्य छ । सुरुमा त म नेपालबाट आएको विद्यार्थी भएर आश्चर्य लागेको जस्तो भान भएको थियो ।
तर, केही हप्ता यतादेखि हुपेई प्रान्तको राजधानी उहानमा फैलिएको Novel corona virus को प्रकोपले अमेरिकालगायत पश्चिमी सञ्चार जगतले गरिरहेको प्रचारबाजी साँच्चै तिललाई पहाडको रूपमा प्रस्तुत गर्ने एउटा अनैतिक कार्यजस्तो लाग्यो । BBC जस्तोले पनि उहान सहरका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका captive अवस्थाबारे प्रसारित समाचारले मित्र राष्ट्र छिमेकी मुलुक चीनबारे सामान्यमात्र जानकारी र ल्याकत राख्ने कुनै पनि व्यक्तिलाई आश्चर्य लाग्नसक्छ । म अध्ययनरत चचियाङ्ग प्रान्तलाई आन्हुइ र चियाङ्गसी नाम गरेका दुईवटा प्रान्तले जोडिएको छ भने हुपेईको सिमानाले ती दुई प्रान्तहरूलाई छोएको छ अथवा म बसेको प्रान्तको राजधानी चचियाङ्ग हुपेईको राजधानी उहान ७३४.८ किमि टाढा छ । दक्षिण एसियालगायत अन्य अरवियन व्यापारीहरूले आफ्नो व्यापारिक कारोबार गर्ने इउ सहर पनि चचियाङ्ग प्रान्तमै पर्दछ । यस सहरका मानिसहरूले सामान्य दैनिक जीवन फर्की आ–आफनो व्यापार व्यवसायको सञ्चालनमा व्यस्त हुन थालेको एक हप्ताभन्दा बढी भइसकेको छ ।
म कलेजमा छँदै त्यस रोगको प्रकोपले आफ्नो साम्राज्य फैलाउँदै थियो । चिनियाँ सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयले त्यस रोगको फैलावट न्यूनीकरण गर्न युद्धस्तरले कार्य गरिरहेको वास्तविकता १० दिनभित्र अत्याधुनिक दुईवटा medical sophisticated equipments सहितको अस्पताल निमार्णले प्रस्ट पार्दछ ।
नेपालमा विभिन्न विदेशी स्वदेशी सञ्चारमाध्यमले सो महामारीबारे गरिरहेका अनावश्यक प्रचारबाजीका कारण मेरो परिवारका सदस्यहरू पनि अरूजस्तै चिन्तित हुनु अस्वाभाभिक होइन । नेपाल फर्कने तीन चार दिन अघिसम्म सम्पूर्णरूपले म ठीकठाक थिएँ ।
विश्वविद्यालयले उपलब्ध गरिरहेको स्वास्थ्य सेवासँग प्रत्यक्ष सरोकार राख्ने सबैखाले सुविधा तथा व्यवस्थापनप्रति कुनै पनि विदेशी विद्यार्थीहरूको सिकायत थिएन । मेरो पनि कुनै प्रकारको गुनासो थिएन किनभने सोचेको भन्दा धेरै राम्रो बन्दोबस्त थियो ।
Zhejiang University को मूल प्रवेशद्वारबाट हामीलाई बाहिर जान अनुमति थियो । प्र्रत्येक पल्ट बाहिर जाँदा र फर्किंदा स्वास्थ्यको परीक्षण गरिन्थ्यो । स्वागत कक्षबाट (Reception) आवश्यक दबाइ तथा माक्सको उपलब्ध हुन्थ्यो । खानेकुराको कुनै प्रकारको समस्या थिएन किनभने बाहिर जाने अनुमति हामीलाई थियो । म बसेको छात्राबासमा विदेशी विद्यार्थी ममात्र थिएँ । म एक्लैका लागि चारजना गार्ड दाइहरू निगरानीका लागि रातदिन खट्छन् । मेरै कारणले उहाँहरूलाई दुःख भएको महसुस भयो । नोवेल कोरोना भाइरसको सङ्क्रमणबारे एकोहोरो नकारात्मक समाचारबाट ज्यादा प्रभावित परिवार र आफन्तजनहरूको भारी मायाले गर्दा २०७६।१०।२७ गते सोमबारका दिन महँगो हवाई टिकटको परवाह नगरी म नेपाल फर्केको हुँ । स्वदेश फर्कने दिन र मिति तय भइसकेपछि पुनः एकपटक स्वास्थ्य परीक्षण गरियो, फेरि पनि Negative नै परिणाम निस्क्यो । नेपालमा भए त्यस्तो प्रकारको परीक्षण सम्भव नै छैन । किनभने चीनबाट आएका हामीलगायत अन्य यात्रुहरूलाई हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि प्रकारको परीक्षण गरिएको थिएन । मुखमा माक्स किन लगाएको भनी प्रश्न गर्दा झनै आश्चर्य लाग्यो । यसकारणले पनि होला, विदेशीहरूलाई हाम्रो अवस्थाबारे सहजै सस्तो टीका टिप्पणी र मूल्याङ्कन गर्न गा¥हो पर्दैन ।
बेलाबखत आवश्यक पर्दा विश्वविद्यालयबाट बाहिर आउने जाने गर्ने भए तापनि प्रतिरोधात्मक शक्ति बलियो हुने मानिसहरूलाई खासै केही नहुने कारणले पनि त्यस रोगको सङ्क्रमणको मलाई खासै केही भएन । त्यसैले अनावश्यक नकारात्मक वास्तविकता नबुझी विभिन्न सञ्चारमाध्यमहरूबाट सम्प्रेषण गर्ने समाचारउपर आँखा चिम्लेर विश्वास नगर्न हामी चनाखो हुनुपर्छ । नेपालकै प्रसिद्ध वरिष्ठ चिकित्सक कमलमणि दीक्षिककै भनाइलाई सापट लिने हो भने पनि यस प्रकारको प्रकोप अमेरिकालगायत अन्य अति विकसित भनिने मुलुकहरूमा फैलिएको भए चीनले गरेजस्तै जनताप्रति पूर्णरूपले उत्तरदायी भई स्वास्थ्यसम्बन्धी विविध किसिमका आश्चर्यजनक कार्य युद्धस्तरमा सञ्चालन गर्न प्रायः असम्भव हुन्छ ।
यस कोभिड–१९ भाइरस सङ्क्रमणलाई थप कतै फैलिन नदिन र प्रकोपलाई न्यूनीकरण गर्न चिनियाँ सरकार र जनताले देखाएको साहसिक कार्यलाई विश्व समुदायले मुक्तकण्ठले तारिफ गरे पनि पश्चिमी र अमेरिकी सञ्चारमाध्यमहरूको नकारात्मक सन्देशविरुद्ध सशक्तरूपले विरोध गर्न नसक्नु चीनको कमजोरी भने पक्कै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *