भर्खरै :

माथिल्लो तामाकोशी ः ठाडो सुरुङले रोकिरहेको छ प्रगति

रमेश लम्साल
काठमाडौँ, १५ फागुन । सरकारको पछिल्लो विवरणअनुसार राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति असाध्यै सुस्त छ । कुल विनियोजित रु. एक खर्ब बजेटमध्ये चालू आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै २० प्रतिशतमात्रै खर्च भएको छ ।
लामो समयदेखि अगाडि बढाइएका राष्ट्रिय गौरवका आयोजनाको निर्माण प्रगति प्रभावकारी नहुनाका विभिन्न कारण रहेका छन् । त्यसमा निर्माण व्यवसायीको कार्यशैली तथा कमजोर आयोजना व्यवस्थापन जोडिएको छ । कुल ९९.३ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको एक राष्ट्रिय गौरवको आयोजनामा समेत निर्माण व्यवसायीकै लापर्वाहीले काम गरेको छ । माथिल्लो तामाकोशी जलविद्युत् ाआयोजनाको भौतिक निर्माण प्रगतिका हिसाबले अब थोरैमात्र काम बाँकी छ ।
बाँकी रहेको थोरै काम सम्पन्न गर्न कति समय लाग्ने हो ठ्याक्कै भन्न सकिने अवस्था छैन । कारण आयोजनाको सबैभन्दा जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले अपेक्षित गति लिन सकेको छैन । सोही कारण स्वदेशी लगानीमा निर्माण भइरहेको ४५६ मेगावाटको आयोजनामा समस्या देखिएको छ ।
हालसम्म आयोजनाको ठाडो सुरुङमा ३५५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २२० मिटर र माथिल्लो ठाडो सुरुङमा १३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई पाइप जडान गर्न क्रमशः सात र पाँच दिनको समयमा आइसकेको छ । तर असाध्यै जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान गर्दा क्रेनको डोरी चुँड्नेजस्ता समस्या पनि देखिने गरेका छन् । आयोजनाका अनुसार कुनै प्राविधिक समस्या नआएमा आगामी वैशाखभित्रमा पाइप जडान भइसक्नेछ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेर्सो भागमा पाइप जडान सुरु हुनेछ ।
सो कार्यका लागि मात्रै डेढ महिना थप समय लाग्नेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारसँग संयुक्तरुपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गर्नुभएको छ । ठेकेदार कम्पनीले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता पुनःजनाएका छन् ।
कार्यकारी निर्देशक घिसिङले अगामी असारभित्र कम्तीमा पनि एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने कार्यतालिका अनुसार काम गर्न पुनःनिर्देशन दिनुभएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेको भनाइ छ । पहिलो युनिटबाट कूल ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । कार्यकारी निर्देशक घिसिङले कार्यतालिका बनाइ त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न पुनःआग्रह गर्नुभएको छ । आयोजनाको तयारीअनुसार पहिलो युनिटबाट विद्युत् सुरु भएपछि बाँकी पाँच युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुनेछ ।
जुनसुकै अवस्थामा पनि चालू आर्थिक वर्षभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्ने भएकाले आफूले जनाएका प्रतिबद्धताअनुसारका समय तालिकामा रहेर काम गर्न कार्यकारी निर्देशक घिसिङले निर्देशन दिनुभएको हो ।
उहाँले आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न प्राधिकरण र आयोजना सधैँ तयार रहेको बताउनुभएको थियो । उहाँले लट नं २ को ठेकेदारले पनि विगतमा भन्दा काममा केही सुधार गरेको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकाले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २०७५ को पुस २३ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका टेक्स्म्याकोका प्रमुखलाई फोन गरी निर्माणमा ढिलाइ नगरिदिन आग्रह गर्नुभएको थियो ।
केही महिनाअघि ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिसिङ, कार्यकारी निर्देशक घिसिङ, माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसहितको टोलीले कलकत्तास्थित टेक्स्म्याको मुख्यालय गई कम्पनीको उच्च व्यवस्थापनलाई भेटी निर्माण कार्यलाई थप गति दिन आग्रह गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार, सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कङ्क्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ ।
विद्युत् गृहका सम्पूर्ण उपकरण जडान भई तयारी अवस्थामा रहेका छन् । प्रसारण लाइनको १२७ वटा टावर निर्माण र ४७ किलोमिटर टार टाङ्ने काम सम्पन्न भएको छ । रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सवस्टेसनको लिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ । उपकरण जडान गरी चार महिनाभित्रमा सवस्टेसन सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *