भर्खरै :

के केपी ओली गोकुल बाँस्कोटाका वकिल हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको टेप प्रकरणबारे मुख खोलेका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्षसमेत रहेका ओलीले कमिसन प्रकरणलाई लिएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको बताए । बाँस्कोटाको सोही टेपको कार्यकर्ताबीच प्रधानमन्त्री ओलीले बचाउ गरेका हुन् । बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो केही दिनअगाडि सार्वजनिक भएको थियो ।
अडियो सार्वजनिक भएपछि दुई अध्यक्षको निर्देशनपछि बाँस्कोटाले पदबाट राजीनामा दिएको बताइएको थियो । बाँस्कोटाले बात लागेकाले राजीनामा दिएको भन्दै ओलीले कार्यकर्तामाझ थपे, ‘आरोप सत्य होइन ।’ ‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ । केही प्रमाण छैन, ओलीले भने, “गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ । उक्त अडिओ मेरो होइन भन्नुभएको छ । सत्यता पुष्टि भएको छैन । स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ ।”
केपी ओलीले गरेका तर्क देख्दा उनी नेकपाको अध्यक्ष र प्रधानमन्त्री भन्दा गोकुल बाँस्कोटाले राखेका कानुन व्यवसायी वा वकिल बढी प्रतित भएको छ ।
बाँस्कोटा त्यति नै निर्दोष भए किन हतारमा राजीनामा मागे प्रम ओलीले ? टेपको आवाज बाँस्कोटाको हो वा होइन र स्वीस कम्पनीका एजेन्ट भनिएका विजय मिश्रले बाँस्कोटासित सम्बन्धित मोबाइल वा फोनमा कुरा गरे नगरेको पत्ता लगाउन टेलिकमका एक इन्जिनियरलाई खटाए, २ मिनेट पनि लाग्दैन । त्यस्तै बाँस्कोटाले राजीनामा गरेलगत्तै सिंहदरवारभित्र रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अख्तियारको नाममा छापा मारेका र कैयौँ फाइल र कागजात लगेकाहरूको हुन् ? देशको जिम्मा लिएका प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्छ । अख्तियारले त्यो दिन कुनै छापा नमारेको त विज्ञप्ति निकालेरै स्पष्ट पारिसकेको छ  ।
बाँस्कोटाविरुद्ध प्रमाणहरूका रूपमा कानुन र नियमावलीविरुद्धका बाँस्कोटाका क्रियाकलाप कैयौँ अखवारले छापिसकेका छन् । प्रमाणहरू छरपस्ट हुँदाहुँदै पनि ‘फलानाको विरुद्ध केही प्रमाण छैन श्रीमान्’ भन्ने पेशा कानुन व्यवसायीहरूको हो, देशको प्रधानमन्त्रीको होइन । ओलीलाई बाँस्कोटाको वकिलै बन्ने रहर भए प्रधानमन्त्री पदबाट अविलम्ब राजीनामा गरून् र ल क्याम्पसमा भर्ना हुन जाऊन् नेपाली जनतालाई आपत्ति छैन तर भ्रष्टहरूलाई काँधमा बोक्ने प्रधानमन्त्री देशलाई पटक्कै सुहाएको छैन ।– सुरजसिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *