भर्खरै :

साम्राज्यवादविरोधी आवाज ः ‘हाम्रो अमेरिका र तिनीहरूको’

समा
अर्थतन्त्र र राजनीति एक अर्कासँग जोडिएको हुन्छ । कुनै देशमा अर्को देशको आर्थिक प्रभाव अत्यधिक छ भने कालान्तरमा त्यो राजनीतिक प्रभावमा फेरिन्छ । त्यसकारण आर्थिकरूपमा स्वतन्त्र र आत्मनिर्भर नरहेको देश स्वतन्त्र बन्न सक्दैन, सार्वभौम रहन सक्दैन । आफ्नै खुट्टामा उभिएको अर्थतन्त्रविना आर्थिक सहयोग र भिक्षाटनले देश समृद्ध बन्दैन । त्यसैले देशको स्वाधीनताको निम्ति आर्थिक आत्मनिर्भरता महत्वपूर्ण विषय हो ।
अन्तर्राष्ट्रिय जगतसँग आर्थिक अन्तरक्रियाको निम्ति तयार हुनु देश प्रगतितर्फ उन्मुख हुनु हो । एउटा स्वतन्त्र देशले विश्व जगतसँग सन्तुलित आर्थिक सम्बन्ध राख्छ । तर, साम्राज्यवादी देश संरा अमेरिका विकासोन्मुख र स–साना देशहरूलाई यसो गर्न दिँदैन । संरा अमेरिका विश्वलाई आफ्नो मुठ्ठीमा कैद गर्न चाहन्छ । संरा अमेरिकी साम्राज्यवाद अन्य देशहरूलाई आत्मनिर्भर र सार्वभौम बन्न दिँदैन बरु आफ्नो प्रभुत्व थोपर्छ । प्रभुत्व र एकाधिकारका लागि संरा अमेरिका ‘डलर कूटनीति’ (Dollar Diplomacy) अघि सार्छ ।
अनुदान, सहयोग या ऋण कुनै पनि नाममा डलर फाल्ने र अन्य देशको अर्थतन्त्र, राजनीति आफ्नो हातमा लिने संरा अमेरिकाको प्रवृत्ति इतिहासकै निरन्तरता हो । संरा अमेरिकाको एमसीसी परियोजनाले त्यही भन्छ । यो परिप्रेक्ष्यमा ‘हाम्रो अमेरिका र तिनीहरूको’ (Our America and Theirs)  बारे चर्चा गर्नु सामयिक र उपयुक्त होला ।
यस पुस्तकले सन् १९६१ मा सम्पन्न उरुग्वेको पुन्टा डेल इस्ते (Punta del Este) सम्मेलनमा पाठकलाई पु¥याउँछ । ल्याटिन अमेरिकी देशहरूको उक्त सम्मेलनमा तत्कालीन संरा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले ‘प्रगतिका लागि गठबन्धन’ (Alliance for Progress) को आह्वान र प्रस्ताव गरे । प्रगतिका लागि ल्याटिन अमेरिकी देशहरूको गठबन्धनले सम्पूर्ण अमेरिकी महादेशको क्रान्ति सम्पन्न हुने, ल्याटिन अमेरिकामा शान्ति, अमनचयन र समृद्धि स्थापित हुने तर्क केनेडी गर्छन् । राष्ट्रपति केनेडीको सो प्रस्ताव र वास्तविकताबारे सम्मेलनमा समाजवादी देश क्युवाका प्रतिनिधि अर्नेस्टो चे ग्वेभाराले दिनुभएको अत्यन्त सारगर्भिक मन्तव्य र टीभी अन्तर्वार्ता पुस्तकमा समेटिएको छ ।
ल्याटिन अमेरिकामा समाजवादी आन्दोलन र सङ्घर्षदेखि क्युवाको समाजवादी क्रान्तिसम्म, क्युवाली स्वाधीनता आन्दोलनका नेता होशे मार्टीदेखि क्रान्ति नायक फिडेल क्यास्ट्रोसम्म, क्युवाको सामाजिक अवस्थादेखि आर्थिक–राजनीतिक गतिविधिसम्मका विषयमा पुस्तकले चर्चा गर्छ ।
पुस्तकले पुन्टा डेल इस्ते सम्मेलन र केनेडीको ‘प्रगतिका लागि गठबन्धन’ बारे मिहिन चर्चा गर्छ । सो सम्मेलनलाई आर्थिक सम्मेलन भनिएको थियो । तर, चे ग्वेभाराले त्यसलाई आर्थिक आँखाले मात्र होइन राजनीतिक दृष्टिले पनि विश्लेषण गर्नुभयो । ‘प्रगतिका लागि गठबन्धन’ ले सम्पूर्ण ल्याटिन अमेरिकी जनताको आकाङ्क्षा पूरा गर्छ र ल्याटिन अमेरिकाको विकास एवम् प्रगतिका लागि कोषको बन्दोबस्त गर्छ भनियो तर चे ग्वेभाराका अनुसार त्यो ‘नयाँ प्रस्ताव’ क्युवाली क्रान्ति भड्काउनको निम्ति थियो, ल्याटिन अमेरिकामा आफ्नो वर्चस्व र प्रभुत्व कायम राख्नको लागि थियो । संरा अमेरिका क्युवाको सङ्घर्षशील भावना र आत्मनिर्भर चरित्र अन्य ल्याटिन अमेरिकी देशहरूमा पनि फैलिने भयले आक्रान्त थियो । नयाँ प्रस्ताव सकारात्मक परिवर्तनको निम्ति थिएन बरु क्युवालाई अलग्याउनको लागि अघि सारिएको थियो । त्यतिमात्र होइन क्युवाको समाजवादी व्यवस्थाविरुद्ध आक्रमणको तयारी पनि थियो ।
अन्तर – अमेरिका आर्थिक र सामाजिक परिषद्  (CIES), अमेरिकी राज्यहरूको सङ्गठन (OAS), अमेरिकी स्वतन्त्र व्यापार क्षेत्र (FTAA) जस्ता संस्थाहरू अघि सारिए । नाम जुनसुकै राखिए पनि, संरा अमेरिकाका सम्पूर्ण आर्थिक संस्थाहरूले साम्राज्यवादी स्वार्थ नै बोक्छन् । ती अमेरिकी आर्थिक या वित्तीय सहयोग संस्थाहरूले गरिब देशहरूलाई उम्कनै नसक्ने गरी निमोठ्छन् । त्यसकारण केनेडीको नयाँ गठबन्धनको योजना पनि ल्याटिन अमेरिकाको वित्त र आर्थिक क्षेत्रलाई वालस्ट्रिटको नियन्त्रणमा राख्ने हतियार अर्थात् ल्याटिन अमेरिकामाथिको अर्को आर्थिक आक्रमण थियो । चे ग्वे भाराले सम्मेलनमा संरा अमेरिकाको साम्राज्यवादी चरित्र उदाङ्गो पार्नुभयो ।
ल्याटिन अमेरिकालाई युगयुगसम्म उठ्न नदिने नियतसहित संरा अमेरिकाले ‘प्रगतिका लागि गठबन्धन’ भन्दै आएको थियो । ल्याटिन अमेरिकालाई युद्धमा फसाउने, रक्तपात मच्चाउने, कमजोर बनाई आफ्नो इसारामा चलाउने संरा अमेरिकाको योजनाविरुद्ध क्युवा उभिएको थियो । विगत ६० वर्षदेखि निरन्तर साम्राज्यवादविरुद्ध इस्पात बनेर क्युवा खडा छ । आर्थिक नाकाबन्दीविरुद्ध सङ्घर्षरत छ । आर्थिक सहयोगको प्रलोभनमा दासता नस्वीकार्न आह्वान चे ग्वेभाराले सम्मेलनमा गर्नुभएको स्मरण पुस्तकले गराउँछ । साम्राज्यवादी देश संरा अमेरिकाले उत्तिबेला सोभियत सङ्घले बर्लिन शान्ति सम्झौतामा हस्ताक्षर गर्न लाग्दा बर्लिनमा युद्धको घोषणा ग¥यो । बर्लिनमात्र होइन लावस, कङ्गोमा पनि साम्राज्यवादी आक्रमण ग¥यो । भियतनाम विभाजित भयो, कोरिया टुक्रा भयो, ताइवान च्याङ काइ सेकको हातमा गयो । अल्जेरिया रगताम्य बन्यो, ट्युनीसियाका जनतामाथि गोली बर्साइयो । यी केही दृष्टान्तहरूमात्र हुन् ।
क्युवा मानिसले मानिसमाथि गर्ने शोषण र साम्राज्यवादले निम्त्याउने अशान्ति र रक्तपातको विपक्षमा खडा भयो । सम्मेलनमै साम्राज्यवादविरोधी नायक क्यास्ट्रोमाथि हिलो छ्याप्ने काम गरियो । क्युवाको समाजवादमाथि प्रश्न उठाइयो । यसले केनेडीको पूर्वाग्रह र भय दुवै देखाउँछ । क्युवा आफूमात्र होइन, अफ्रिकी र एसियाली देशहरूको निम्ति पनि ऊर्जा बन्दै थियो । समाजवादी देश सोभियत सङ्घसँग क्युवाको राम्रो सम्बन्ध थियो । सोभियत सङ्घसँग क्युवाको राम्रो व्यापारिक र आर्थिक सम्बन्धले संरा अमेरिका असन्तुष्ट थियो । त्यसकारण, पनि क्युवालाई एक्ल्याउने योजना संरा अमेरिकाले बनायो ।
संरा अमेरिकाको औपनिवेशिक मानसिकता होइन भने उसले दिने अनुदान राजमार्ग बनाउने, बाटो फराकिलो पार्ने, ढल खन्न मात्रै प्रयोग हुनुपर्छ भन्ने सर्त किन राख्छ ? देशको उद्योग, कृषि र उत्पादनशील क्षेत्रमा किन सघाउन चाहँदैन ? प्रविधि खरिदको निम्ति सहयोग किन दिँदैन ? चे ग्वे भाराले सम्मेलनमा यी प्रश्न राख्नुभएको थियो । मौद्रिक सहयोगबाट देश बन्दैन । उत्पादन र विश्वमा त्यसको सन्तुलित वितरणले देश प्रगतिउन्मुख हुन्छ । त्यसैले प्रस्ट छ, क्युवाले ल्याटिन अमेरिकी देशहरूबीच सौहाद्र्र सम्बन्ध स्थापित गर्न, सहकार्य गर्न र आदानप्रदान अगाडि बढाउन नचाहेको होइन । क्युवाको वैदेशिक नीति नै सहयोगको नीति हो । त्यसकारण, संरा अमेरिकाको वैदेशिक नीति र राजनीतिक सिद्धान्तको कसीमा घोटेर मात्र केनेडीको नयाँ योजनाको मूल्याङ्कन गरिनुपर्दछ । सोचविचार र बुद्धिको प्रयोगबाट मात्र हस्ताक्षर गर्न चे ग्वेभाराले सम्पूर्णलाई आग्रह गर्नुभएको थियो । शान्ति, विकास र समृद्धिका लागि संरा अमेरिकालाई नाघेर जान सकेमात्रै त्यो प्राप्त गर्न सकिने उदाहरण क्युवा आफै थियो । यद्यपि, संरा अमेरिकाको गोजीबाटै चल्ने देशहरूले गठबन्धनमा सहभागी हुन हस्ताक्षर गरे ।
चे ग्वेभाराले संरा अमेरिकालाई चुनौती दिँदै बोल्नुभएको थियो – के संरा अमेरिका आर्थिक आक्रमण बन्द गर्न तयार छ ? क्युवाको राजनैतिक बन्दोबस्त र विश्वसँग क्युवाको सम्बन्ध स्वीकार्न तयार छ ? के संरा अमेरिका व्यापार संरक्षणवादी नीति त्याग्न तयार छ ? ल्याटिन अमेरिकामा शान्ति कायम गर्ने ग्यारेन्टी दिन्छ ? आफू बाहेकको देशलाई कृषि र उद्योगमा अगाडि बढ्न दिन्छ ? के संरा अमेरिका साम्राज्यवादी चरित्र त्याग्न तयार छ ? यी प्रश्नहरूको जवाफ विना हस्ताक्षर गर्नु आत्मसमर्पण तुल्य हुनेछ । त्यसकारण, क्युवा सहभागी बनेन र इतिहास भन्छ त्यही नै सही निर्णय थियो । क्युवाको औद्योगिक विकास, कृषि क्षेत्रमा क्युवाको अद्वितीय उपलब्धि साम्राज्यवादसामु कहिल्यै नझुक्नुको फल नै हो । पुस्तकले थुप्रै तथ्यतथ्याङ्कहरू प्रस्तुत गरेको छ । समाजवादी व्यवस्था, जनतामा साम्राज्यवादविरोधी भावना र आर्थिक आत्मनिर्भरता नै विकास र समृद्धितर्फको वास्तविक बाटो हो । क्युवाले आजभन्दा ५१ वर्ष अगाडि नै उदाहरण बनेर देखाएको स्मरण पुस्तकले गराउँछ ।
अत्यन्त पठनीय यस पुस्तकले संरा अमेरिकाको वास्तविकता उजागर गर्छ । क्युवाली सङ्घर्षका पृष्ठहरू, तथ्यतथ्याङ्क र घटनाबारे बताउँछ । साथै, क्युवाली क्रान्तिका नायकहरूसँग साक्षात्कार गराउँछ । समग्र ल्याटिन अमेरिकाकोे सामाजिक, आर्थिक तथा राजनीतिक परिदृष्य छर्लङ्ग पार्छ । ११९ पृष्ठको यस पुस्तकको गातामा चे ग्वेभाराको फोटोले आकर्षण एवम् भाव थपेको अनुभूत हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *