भर्खरै :

उहानबाट नेपाली भन्छन्, “विदेशी विद्यार्थीलाई विशेष प्राथमिकता दिएका छन्”

काठमाडौँ, १९ फागुन । कोरोना भाइरसको उद्गमथलो मानिएको मध्यचीनको हुपेई प्रान्तबाट नेपाल फर्केका १७५ जना नेपालीमा कुनै प्रकारको रोगको लक्षण नदेखिएपछि उनीहरू सोमबार आ–आफ्नो घर फर्के । उनीहरू सोह्र दिन भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा बसे । उनीहरू नेपाल सरकारले उहान पठाएको नेपाल वायुसेवा निगमको विमानबाट ४ फागुनमा नेपाल फर्केका थिए ।
त्यसअघि चीनस्थित नेपाली राजदूतावासले हुपेई प्रान्तमा १८५ जना नेपाली नागरिक रहेको बताएको थियो । तीमध्ये ६ जना नेपाली ३ फागुनमा उहान विमानस्थल पुगेर पनि त्यहाँ गरिएको स्वास्थ्य परीक्षणमा असफल भएपछि देश फर्किन पाएनन् । उनीहरू हाल उहानमै छन् । तर, चार जना नेपालीले भने नेपाल सरकारले विमान पठाउँदा पनि नेपाल फर्कन चाहेनन् । तिनै चार जना नेपालीमध्ये एक हुन्–झमकुमार विश्वकर्मा ।
कोरोना भाइरसले सबभन्दा बढी सताएको उहान सहरको सेन्ट्रल चाइना नर्मल युनिभर्सिटीमा हाल अन्तर्राष्ट्रिय सम्बन्ध (आईआर) विषयअन्तर्गत ‘नेपालको राष्ट्रिय सुरक्षा’ विषयमा विद्यावारिधि गरिरहेका उनी चीन सरकारले कोरोना भाइरसविरुद्ध गरेको तयारीप्रति पूर्णतः विश्वास र निश्चिन्त भएकोले आफू नेपाल नफर्केको बताए । सोमबार मजदुर दैनिकका प्रतिनिधिसँग कुराकानी गर्दै उनले हुपेईका सबै विश्वविद्यालयमा अध्ययनरत नेपालीलगायत विदेशी विद्यार्थीलाई चीन सरकारले विशेष प्राथमिकता साथ हेरचाह गरिरहेको बताए ।
“सम्भावित रोगको सङ्क्रमणबाट हामीलाई जोगाउन बाहिर जान दिइएको छैन । तर, प्रशासनले कोठा–कोठासम्म दैनिक तीन छाक खाना निःशुल्क उपलब्ध गराइरहेको छ”, उनले भने ।
“म अध्ययनरत विश्वविद्यालयमा मात्र होइन, हुपेईका अन्य विश्वविद्यालयमा बसेका नेपालीहरूसँग पनि मैले सम्पर्क गरेको छु । सबै जना खुसी नै भएको बताएका छन्”, विश्वकर्माले भने । उनले आफू बसेको विश्वविद्यालयको छात्रावासमा कम्तीमा पनि ७–८ सय विदेशी विद्यार्थी भएको बताए ।
क्वारेन्टाइनको समय आफ्नो विद्यावारिधिको शोधपत्रको अन्तिम तयारी गरेर बिताएको उनले बताए । “जून महिनामा मेरो दीक्षान्त समारोह छ । त्यसअघि मैले शोधपत्र बुझाउनुपर्ने छ । मैले यो अवधिमा लगभग शोधको काम सकाएँ । केही दिनभित्र प्रोफेसरलाई शोधपत्र बुझाउनेछु”, उनले भने ।
रामेछापका विश्वकर्मा सन् २०१६ मा विद्यावारिधिको लागि उहान पुगेका थिए ।
उनले १७५ जना नेपाली स्वदेश फर्केयता उहानमा भएका नेपालीहरूले अलगै विच्याट समूह बनाएर आपसी कुराकानी गर्ने गरेको बताए । “त्यसमा जम्मा २३ जना नेपाली छौँ । तीमध्ये २० जना हुपेईका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी छन्”, उनले भने ।
उनले केही नेपालीले उहानको वास्तविक अवस्थाभन्दा गलत खबर नेपालमा पु¥याएकोमा दुःख व्यक्त गरे । “कुहेको गोलभेडा दिएको, खानै नपाएको, पानी नै नपिएको भन्दै केही नेपालीले नेपालमा खबर पठाए । यहाँको अवस्था बिल्कुल त्यस्तो होइन । विश्वविद्यालय प्रशासनले विदेशी विद्यार्थीको अझ बढी ख्याल गरिरहेको छ”, उनले थपे ।
नेपाल नफर्किएकोमा आफूलाई कति पनि पश्चाताप नलागेको भन्दै नेपाल फर्केका सबै नेपालीको स्वास्थ्यमा कुनै समस्या नभएको र सरकारले उचित व्यवस्था गरेकोमा खुसी व्यक्त गरे ।
“आत्तिएर नेपाल गइहाल्नु हुन्न भन्ने मेरो धारणा थियो । हामीमध्ये कोही पनि पूर्णतः निरोगी भन्ने पक्का थिएन । त्यसकारण नेपालमा हामीले सङ्क्रमण बोकेर जानु सही नहुने भन्ने मेरो भनाइ थियो । म आज पनि त्यही भन्छु । फर्केका साथीहरू कोहीमा पनि केही स्वास्थ्य समस्या देखिएन । यो खुसीको कुरा हो”, विश्वकर्माले भने ।
१९ फेब्रुअरीमा ‘द चाइना डेली’ मा विश्वकर्मा लेख्छन्ः
“म नेपालबाट आएको हुँ । हाल म नोवल कोरोना भाइरसको उद्गमथलो उहानमा अध्ययनरत छु । कोरोना भाइरसको महामारी फैलिएयता चीन सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि अभूतपूर्व पहल गरिरहेको छ । जनताको सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । त्यसमध्ये पनि विदेशी विद्यार्थीलाई विशेष जोड दिइएको छ । सम्भावित सङ्क्रमण रोक्न केही देशले आफ्ना नागरिकलाई उहानबाट फर्काउँदै छन् । तर, मैले भने उहानमै बस्ने निधो गरेँ । उहानका जनताले यस्तो विषम अवस्थाको सामना गरिरहेको समयमा मैले यो ठाउँ छोड्नु उचित लागेन । कोभिड–१९ विरुद्धको लडाई जित्न उहानका जनतालाई साथ दिनुपर्छ भन्ने मलाई लागेको छ ।
उहानबाट जानुभन्दा उहानमै बसेर मैले धेरै कुरा सिकेको छु र सोचेभन्दा धेरै कुराको अनुभव हासिल गरेको छु । चीनले मलाई न्यानो आतिथ्यका साथ पढ्ने अवसर प्रदान गरेको छ । त्यसकारण चीन कोभिड–१९ विरुद्ध लडिरहेको यो समयमा म कसरी यो आतिथ्यलाई दुत्कार्न सक्छु र ? यो सङ्कट चीनले पार लगाउनेमा म पूर्णतः विश्वस्त छु । म संसारसामु हल्ला फैलाउनुको सट्टा काँधमा काँध जोडेर कोभिड–१९ विरुद्ध लड्न आग्रह गर्छु । म चीनको साथमा उभेको छु । म उहानको पक्षमा छु । म चीनको लागि प्रार्थना गर्छु । म उहानको लागि प्रार्थना गर्छु । उहान च्या यउ ! चुङ को च्या यउ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *