भर्खरै :

भक्तपुरमा रुसका ख्यातिप्राप्त कलाकारहरू

भक्तपुर, १९ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रुसका ख्यातिप्राप्त कलाकार तथा खेलाडीहरूलाई सोमबार भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा स्वागत गर्नुभयो ।
रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरका निर्देशक युलिया आन्ड्रोस्भाको नेतृत्वमा आएका टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा क्षेत्रहरूको अवलोकन गर्नुका साथै भक्तपुरको मौलिक हस्तकला, जीवनशैली, रहनसहनबारे जानकारी हासिल गर्न स्थलगत अवलोकन गर्नुभयो ।
टोलीलाई नगर प्रमुख प्रजापतिले भक्तपुर नगरको परिचय दिदँै नेपाल र रूस दूरीमा धेरै टाढा भए पनि नेमकिपाले लेनिनवादी विचारलाई अँगाल्दै देशमा समाजवाद स्थापनाको लागि कार्यरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो सांस्कृतिक नगरमा धेरै मूर्त र अमूर्त सम्पदाहरू छन् । नगरपालिकाले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारा दिएर कला–संस्कृतिको संरक्षण गर्दै आएको छ । २०७२ सालको भूकम्पले यहाँका ११५ भन्दा बढी सम्पदा र ८ हजारभन्दा बढी घरहरूमा क्षति पुगेकोमा हाल ९० भन्दा बढी सम्पदाहरू पुनःनिर्माण गरिसकेको र क्षतिग्रस्त घरहरू तीव्रगतिमा निर्माण भइरहेका छन् ।”
भेटमा नेपाल भ्रमण वर्ष २०२० सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ, रूसी सांस्कृतिक केन्द्रका प्रमुख एवं रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरका निर्देशक युलिया आन्ड्रोस्भा र भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *