भर्खरै :

देशभरि एमसीसीको विरोधमा जुलुस र सभा

काठमाडौँ, १९ फागुन । नेपाल मजदुर किसान पार्टीको आयोजनामा सोमबार देशका विभिन्न जिल्लामा विरोध जुलुस तथा प्रदर्शन भयो । देश हितविपरीतको एमसीसी सम्झौता नेपालले पारित गर्न नहुने विषयमा व्यापक जनतासम्म सन्देश पु¥याउन देशैभरि नेता–कार्यकर्ता परिचालन भई विरोध सभाहरू आयोजना गरेको हो । सो क्रममा दैलेखको पालेताडामा पनि देशघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै जुलुस र सभा सम्पन्न भयो ।
सोमबार भएको उक्त सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेपाल सरकारले अमेरिकी सहयोग निगम मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको एमसीसी सम्झौता देशको हितविपरीत भएकोले खारेज गर्नु आवश्यक छ र संसद्बाट अनुमोदन गराउन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशको सिमाना पुर्खाको रगतबाट कोरिएको हो । भारतले नेपालको भूमि लिम्पियाधुरा अतिक्रमण ग¥यो । नेपालको कानुनभन्दा एमसीसी सम्झौता नै बलियो हुने, भारतको सहमति लिनुपर्ने, एमसीसी एकाउन्टलाई नेपाल सरकारले केही भन्न नपाउनेलगायत प्रावधान देश हितविपरीत छ । यो सम्झौताबमोजिम नेपाललाई पाँच वर्षमा ५० करोड अमेरिकी डलर सहयोग दिइने अमेरिकी सैन्य बजेट हो । अमेरिकी राष्ट्रपति ट्रम्पले हिन्द–प्रशान्त क्षेत्रका देशहरूलाई अमेरिकी सैन्य गठबन्धनमा राख्ने नियतसहित एमसीसी योजना अगाडि बढाएको हो । एमाले–माओवादीले यो सम्झौता परिमार्जन गरी पारित गर्ने बताएको बेठीक हो, खारेज गर्नु आवश्यक छ ।”
प्रम ओली आफ्नो ६९ औँ जन्म दिनमा नेपाल आकारको केक बनाएर काटेको देशद्रोही काम भएको धारणा राख्दै सचिव सुवालले त्यो काम माओ त्सेतुङ विचाराधाराविपरीत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमाले–माओवादीको चुनावी मोर्चा र पार्टी एकता भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको इच्छाअनुसार भएको पुष्टि हुँदै छ ।”
चुनावमा करोडौँ रूपैयाँ खर्च गरेर एमाले–माओवादी र नेकाका उम्मेदवारहरूले जितेको हुँदा भ्रष्टाचार बढेको हो, सचिव सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “देशको सन्तुलित विकास गर्न काठमाडौँ उपत्यकामा नयाँ सहर विकास गरिने बजेटबाट पश्चिम नेपालमा नयाँ सहर विकास गर्नुपर्दछ । ठेकेदार, म्यानपावर कम्पनी, भूमाफियासँग मन्त्रीहरूले पैसा उठाएको हुँदा भ्रष्टाचार बढ्यो, सडकलगायत विकास निर्माणका कार्य कमजोर भएको जनगुनासो छ ।”
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले एमाले–माओवादी सरकारले नेपाली जनतालाई बकुलाले माछा ओसारेर खाएजस्तै शोषण गरिरहेको छ, यो सरकार पनि पञ्चायत र नेकाजस्तै ठग सावित हुँदै छ भन्नुभयो ।
माथिल्लो कर्णालीको बिजुली भारत लैजान एमसीसी सहयोगको नाममा सरकारबाट आउने बजेट खर्च गरिने भएकोले एमसीसी सम्झौता खारेज गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य थापामगरले अमेरिकी सेना नेपाल आउने र नेपालमा परेड खेल्ने भएकोले यो सम्झौता खारेज गर्नु जरूरी रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाही, बजिरसिं विक, जिल्ला सदस्य लक्ष्मी विक र खगेन्द्र शाहीले पनि एमसीसी सम्झौता खारेज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ललितपुर
एमसीसी परियोजनाको विरोधमा नेपाल मजदुर किसान पार्टीको आयोजनामा सोमबार ललितपुरमा विरोध जुलुस तथा जनसभा भयो । लगनखेलबाट सुरु भएको विरोध जुलुस मङ्गलबजार पुगेर विरोध सभा भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले एमसीसी परियोजना दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा आफ्नो पुरानो प्रभावलाई कायम गर्न ल्याइएको प्रपञ्च भएको बताउनुभयो । उहाँले अमेरिकाको आर्थिक सहयोगको लोभमा नेपालका शासक वर्गले देशको सार्वभौमिकतामा सम्झौता गर्न नहुने बताउनुभयो ।

ललितपुर


नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले एमसीसी सम्झौता पारित भए अमेरिकाको न्युयोर्क सहरको कानुन नेपालले पालना गर्नुपर्ने र नेपालको संविधानभन्दा माथि अमेरिकाको कानुन हुने भएकोले त्यसो गर्नु देशको सार्वभौमिकताविपरीत हुने धारणा राख्नुभयो ।
उहाँले नेमकिपाले हिजो पनि साम्राज्यवादी चलखेलको विरोधमा लगातार सङ्घर्ष गर्र्दै आएको र साम्राज्यवादविरोधी सङ्घर्ष अझै चालू राख्नुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले संरा अमेरिका संसारबाट एक्लिंदै गएको र संसारभर साम्राज्यवादविरोधी सङ्घर्ष अझै व्यापक बनेको धारणा राख्नुभयो । उहाँले संरा अमेरिकाले एसियाली देशलाई अर्को एसियाली देशसँग लडाउन खोजिरहेको र एउटा एसियाली देशले अर्को एसियाली देशलाई अहित हुने काम गर्न नहुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य सृजना सैंजूले देशभक्त नेपाली जनता आज एमसीसीको विरोधमा उत्रनुपर्नेमा जोड दिनुभयो । उहाँले विकासको नाममा नेपालको सार्वभौमिकतामाथि संरा अमेरिकाले हस्तक्षेप गरिरहेकोले नेपाली जनता सजग हुनुपर्नेमा जोड दिनुभयो ।
सभामा नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।
कालीकोट
नेपाल मजदुर किसान पार्टी १० औँ जिल्ला सम्मेलन तयारी समिति कालीकोटको आयोजनामा देशघाती एमसीसी सम्झौताको विरोधमा कालीकोटको मान्ममा विरोध सभा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले एमसीसी सम्झौता हिन्द–प्रशान्त रणनीतिकै अङ्ग भएको र यसले नेपालमा विकासको नाममा सैन्य गतिविधि गर्ने बताउनुभयो । उहाँले चीनलाई घेर्ने उद्देश्यका साथ ल्याइएकोले यो सम्झौता एसिया महादेशको हितविपरीत भएको बताउनुभयो । उहाँले आफूलाई कम्युनिस्ट भन्नेहरू नै साम्राज्यवादको सेवामा लागेको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य नवराज कोइरालाले दशघाती एमसीसी सम्झौता पारित गर्न शासक दलहरू लागिरहेकाले उनीहरू अमेरिकी साम्राज्यवादका दलाल भएको बताउनुभयो ।

कालीकोट


कार्यक्रममा नेमकिपा कालीकोटका सचिव खड्गराज शाही, नेपाल क्रान्तिकारी महिला सङ्घका संयोजक रत्ना भण्डारी, नेक्राविसङ्घका संयोजक धनबहादुर विक, धर्मदत्त अधिकारी, धनञ्जय अधिकारीलगायतका वक्ताहरूले एमसीसी सम्झौता नेपालको संसदबाट पारित गर्न नहुनेमा जोड दिनुभयो ।
काभ्रे
देशघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिले सोमबार बनेपामा विरोध ¥याली तथा सभा आयोजना ग¥यो । सयौँको सङ्ख्यामा स्थानीय महिला, किसान, विद्यार्थी, युवालगायतको सहभागिता रहेको उक्त ¥याली नाला दोबाटोबाट सुरु भई पुरानो बनेपा बजार परिक्रमा गरी चार दोबाटोमा पुगी सभामा परिणत भयो ।

काभ्रे


सभामा पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले संरा अमेरिकी साम्राज्यवादले नेपाली भूमिमा आप्mनो सैन्य तैनाथ गर्ने माध्यमको रूपमा अहिलेको दलाल सरकारलाई आफ्नो हातमा लिई देश र जनताको हितविपरीत एमसीसी सम्झौता गराएको बताउनुभयो । एमसीसी सम्झौता लागू भएका देशहरूमा कहीँ पनि जनता सुखले बस्न नपाएको उदाहरण प्रस्तुत गर्दै उहाँले नेपाललाई इराक, अफगानिस्तान, लिविया र सिरिया बनाउन खोजिएकोमा सचेत रहन सबैलाई अनुरोध गर्नुभयो ।
केन्द्रीय सदस्य वैद्यले दुईतिहाइको दम्भ देखाएर वर्तमान ओेली–दाहाल सरकारले संसदबाट जबरजस्ती एमसीसी सम्झौता अनुमोदन गरेमा देश दुर्भाग्यमा फस्ने र जनताले तिनलाई बाँकी नराख्ने चेतावनी दिनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले आतङ्कवादलाई निमित्यान्न पार्ने नाउँमा अमेरिकी साम्राज्यवाद आफैँले विश्वमा आतङ्क मचाइरहेको बताउनुभयो । उहाँले कुनै पनि सार्वभौम देशमाथि जबरजस्ती सैन्य हमला गरेर ध्वस्त पार्ने अधिकार संरा अमेरिकालाई नभएको चर्चा गर्दै विश्व इतिहासबाट पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले एमसीसीका बँुदाहरूले नेपालको संविधान र प्रचलित कानुनलाई समेत अस्वीकार गरेको प्रस्ट पार्दै देशको सार्वभौमिकता नै खतरामा पर्ने गरी एमसीसी सम्झौता संसदबाट पारित नगराउन देशभरिबाट न्यायप्रेमी जनताले दबाब दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सभामा पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले अमेरिकी साम्राज्यवादले एमसीसी नाउँको बल्छी हालेर माछा मार्न खोजेको उल्लेख गर्दै देश विदेशी सेनाको परेड भूमि बनाउनबाट जोगाउन देशभक्त जनतालाई सङ्घर्षमा उत्रन आह्वान गर्नुभयो ।
सभामा स्थानीय महिला तारा न्यौपाने र युवा ओमप्रसाद मानन्धरले एमसीसी सम्झौताको विषयमा अझै पनि सरकारले यथार्थ कुरा जनतालाई नबताएको चर्चा गर्दै देश विदेशीलाई सुम्पने अधिकार कसैलाई पनि नभएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा सोमबार लम्की बजारमा अमेरिकी एमसीसी परियोजनाको विरोधमा जुलुस तथा जनसभा भयो ।
मोतीपुर चोकबाट सुरु भएको जुलुस लम्की बजार परिक्रमा गरी लम्कीको चौराहामा सभामा परिणत भएको थियो ।

कैलाली


विरोध सभामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले एमसीसी सम्झौता पारित भए नेपाल संरा अमेरिकी साम्राज्यवादको सैन्य अखडामा परिणत हुने बताउनुभयो । उहाँले नेपाल साम्राज्यवादी युद्धको भूमि बन्ने सम्भावना भएको भन्दै एमसीसीविरुद्ध सार्वभौमिकता रक्षाको सङ्घर्षमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले नेपाली भूमिलाई साम्राज्यवादको क्रिडाभूमि बनाउन नहुने र छिमेकी देश चीनलाई घेर्न अमेरिकाले नेपाली भूमि प्रयोग गर्न खोजिरहेको बताउनुभयो । उहाँले एमसीसी अमेरिकी सैन्य गठबन्धन हिन्द प्रशान्त रणनीति (आइपीएस) कै हिस्सा भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष सविन ख्याजूले विद्युत् र सडक विकासको नाममा नेपाली शासकलाई आर्थिक लोभ देखाएर अमेरिकाले नेपालको सार्वभौमिकतामाथि हमला गर्न खोजिरहेको बताउनुभयो । कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावल, गगन थापामगर र लक्ष्मी पोखरेलले पनि बोल्नुभएको थियो ।
उदयपुर
अमेरिकी एमसीसी परियोजनाको विरोधमा सोमबार उदयपुरको कटारी बजारमा विरोधसभा भयो । सभामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेकपाले आफ्नो नाममा कम्युनिस्ट शब्द राखे पनि व्यवहारमा साम्राज्यवादीको सेवक बनेको बताउनुभयो । उहाँले ओली सरकारसँग न्यूनतम कम्युनिस्ट चरित्र भए एमसीसी परियोजना पारित गर्न नहुने विचार राख्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवाल, महेन्द्र बखुन्छे र चन्द्रबहादुर कार्कीलगायतले बोल्नुभएको थियो । 

उदयपुर


यसैबीच उदयपुर जिल्लामा नेपाल मजदुर किसान पार्टीप्रति आस्थावानहरूको भेला सोमबार कटारीमा भयो । भेलामा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले अमेरिकी एमसीसी परियोजना नेपालमा लागु हुनु नेपालीमात्र नभई भारतीय कामदार जनताको हितविपरीत भएको बताउनुभयो । उहाँले एमसीसीविरुद्ध जनमत सिर्जना गर्न नेमकिपाले देशव्यापी अभियान चलाएको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले नेपाली भूमिमा अमेरिकी सेना परेड नखेलाउने पक्षमा रहेका नेपालीले एमसीसीको विरोध गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा महेन्द्र खायमली, महेन्द्र बखुन्छे, चन्द्रबहादुर कार्कीलगायतले बोल्नुभएको थियो । भेलाले चन्द्रबहादुर कार्कीको अध्यक्षतामा नेक्राकिसङ्घ एकाइ समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *