भर्खरै :

मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्न विशेष कार्यक्रम

काठमाडौँ, फागुन १९ गते । अठार वर्ष उमेर पुगेका प्रत्येक नागरिकले मतदान गर्ने पाउने अधिकारलाई सुनिश्चित गर्न निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको उपस्थितिमा मङ्गलबार निर्वाचन आयोगले राजनीतिक दलसँगको छलफल गरेको छ । छलफलमा नेपाल मजदुर किसान पार्टीका पाण्डव सुवालले स्वच्छ, निष्पक्ष निर्वाचनका लागि सफा मतदाता नामावली तयार हुनुपर्छ भन्दै विगतमा काठमाडौँमै बसेर सङ्कलन गरिएको मतदाता नामावलीका कारण धेरै त्रुटि रहेकोले सो हटाउनुपर्छ भन्नुभयो । एकै व्यक्तिको नाम जन्म भएको जिल्लामा, घर निर्माण गरेको जिल्लामा र हाल बसेको काठमाडौँ उपत्यका भएकोले दोहोरो नाम रहँदासम्म स्वच्छ निर्वाचन हुन नसक्ने भएकोले आयोगले निजको नागरिकताको आधारमा एकै ठाउँमा मात्र नामावली रहने बन्दोबस्त गर्नुपर्छ । आयोगले गर्ने हरेक कार्यक्रम किसानहरूको खेतीपाटीको सिजनमा पर्ने भएकोले उचित समय छनौट गर्न पनि सुझाव दिनुभयो ।
बैठकमा सम्वत २०७६ चैत्र ७ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यतालिका आयोगले प्रस्तुत गरेको छ । प्रत्येक वडामा चार दिनका दरले फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न नागरिकता प्राप्त १६ वर्ष उमेर नाघेकाको फोटो खिच्ने छ । सोही अवधिमा नामावलीमा भएका त्रुटि सच्याउने, हटाउने, सार्नेलगायत अद्यावधिक गर्ने र सो कार्य २०७६ असार १ गतेदेखि ७ गतेसम्ममा एकै पटक सबै वडामा सम्पन्न गर्ने छ ।
कार्यक्रम सफल पार्न जिल्ला निर्वाचन अधिकारीलाई प्रमुख नाम दर्ता अधिकारी र वडा सचिवलाई सहायक नाम दर्ता अधिकारी तोक्ने छ । सहायक नाम दर्ता अधिकारीले आफ्नो कार्यालयमार्फत सूचना प्रवाह गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य गर्ने छ ।
देशभरका ६७४३ वटा वडामा ६७४३ जना सहायक नाम दर्ता अधिकारी, ६६३ जना दर्ता कर्मचारी, ६७४३ जना सहायक दर्ता कर्मचारी र ६७४३ जना दर्ता सहयोगी गरी २०८९२ जनशक्ति परिचालन हुने आयोगले जनाएको छ । प्रस्तुत कार्यक्रम कार्यान्वयनका लागि केन्द्रीयस्तरदेखि वडास्तरसम्म कार्यक्रम व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने छ । कार्यक्रम सफल पार्न राजनीतिक दलको सहयोग आवश्यक भएकोले आयोगले केन्द्रदेखि वडातहसम्म आफ्ना कार्यकर्ता परिचालन र प्रचार प्रसारका लागि विशेष अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *