भर्खरै :

कोरोना भाइरस भित्रिन नदिन जमुनाह नाकामा सतर्कता

राँझा, २० फागुन । कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँका अनु्सार नेपाल–भारत प्रवेशद्वार जमुनाह नाकामा सहयोगीकक्षका लागि आवश्यक पूर्वाधार, परीक्षण सामग्रीको व्यवस्था गरी दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतबाट दैनिक सयाँै नेपाली जमुनाह नाका हुँदै नेपालगञ्ज प्रवेश गर्छन् । यसरी प्रवेश गर्नेमध्ये बिरामी परेका र आफैँ स्वास्थ्य जाँच गर्न चाहने व्यक्तिलाई सीमानाकामा स्वास्थ्य जाँच हुँदै आएको छ ।
बिरामी परेकालाई हामीले निगरानीमा राखेर स्वास्थ्य जाँच गर्छौँ, नाकाबाट ओहोरदोहोर गर्ने सबैको स्वास्थ्य जाँच गर्न सकिएको छैन । स्वास्थ्य शाखा संयोजक चन्दले भन्नुभयो, “सबैलाई स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्ति कम हुने भएकाले आवश्यक समन्वय गर्दै छौँ ।”
जमुनाह नाकाबाट स्थलमार्ग हुँदै ओहोरदोहोर हुने सयाँै मानिसको स्वास्थ्य परीक्षण गर्नका लागि ठूलै व्यवस्थापनको खाँचो रहेको उहाँको भनाइ छ । सहयोगीकक्षमा इन्फारेड थर्मोमिटरबाट मानिसको स्वास्थ्य परीक्षण गरिने स्वास्थ्यकर्मी धनप्रसाद न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार इन्फारेड थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाढैबाट थाहा पाउँछ । ज्वरोको अवस्था हेरेर सहयोगीकक्षका स्वास्थ्यकर्मीले आवश्यक उपचारका लागि अन्य अस्पतालमा बिरामी प्रेषण गर्ने गरिएको छ । बाँके, बर्दियालगायत र भारतीय सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको बैठकले कोरोना भाइरसको बारेमा उच्च सतर्कता अपनाउने निर्णय गरेपछि दुवै जिल्लाका सीमानाकामा स्वास्थ्य सहयोगीकक्ष राखिएको थियो ।
कोरोना भित्रिन नदिन जिल्लामा उच्च सतर्कता
चितवन । चीनबाट सुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखी स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार मङ्गलबार बिहान चिकित्सकसँग छलफल गरिएको छ । अस्पतालमा छुट्टै कक्ष (आइसोलेसन रुम) खडा गर्न ठूला अस्पताललाई अनुरोध गरिएको छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा र दुई निजी मेडिकल कलेजमा छुट्टै कक्ष निर्माण गरिसकिएको छ । रोगको सङ्क्रमण देखिहालेमा अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई तयारी अवस्थामा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । भट्टराईका अनुसार बुधबारदेखि सुरु हुन लागेको प्रथम परेवाकोट महोत्सव रोकिएको छ । जिल्लामा भइरहेको मेघौली महोत्सव र भरतपुर महोत्सव रोक्ने विषयमा सम्बन्धित आयोजकसँग आजै छलफल गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *