भर्खरै :

सौराहाका होटलका कर्मचारीलाई बिदा दिन थालियो

चितवन, २१ फागुन (रासस) । कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारीमात्र पर्यटक रहेका छन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ हुन्थ्यो । नेपाली कार्यक्रम भइरहेकोले आजसम्म २० प्रतिशत हाराहारी कोठा भरिएको भए पनि दुई दिनपछि यो सङ्ख्या निकै न्यून हुने उहाँको भनाइ थियो । अहिले केही मात्रामा युरोपियन, भारतीय र नेपाली पर्यटकमात्र छन् । यसअघि भएका सबै बुकिङ रद्द भएका छन् ।
होटलमा पर्यटक नभएपछि कर्मचारीको काम नहुने भएकोले आधा जति होटलले ५० प्रतिशत कर्मचारीलाई बिदा दिइसकेका छन् । एउटै होटलमा १० देखि ७० सम्म कर्मचारी छन् । अन्य होटलले बिदा दिने तयारी गरिरहेका छन् । बिदाको समयमा कर्मचारीलाई आधा तलब दिने गरिन्छ । कर्मचारीलाई काम नभए खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकोले बिदा दिन सुरू गरिएको हो ।
सौराहाका होटलले १० वर्ष अघिसम्म वर्षात्को समयमा पर्यटक नआएपछि जेठदेखि साउनसम्म बिदा दिने गरेका थिए । पछिल्ला वर्षमा त्यस्तो समस्या नभए पनि अहिले समस्या देखिएको भट्टराईको भनाइ थियो । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो महिना व्यवसायीले बैङ्कको ऋण र किस्ता तिर्नसक्ने अवस्था नरहेको बताउनुहुन्छ । यकिन तथ्याङ्क नभए पनि सौराहाका ११५ होटल बनाउन रू. आठ अर्बभन्दा बढी लगानी भएको घिमिरेको ठम्याइ छ । यो लगानी जग्गा बाहेकको हो । सोही हाराहारी बैङ्कको ऋण भएको घिमिरे बताउनुहुन्छ ।
व्यापार हुन नसक्दा त्यसको किस्ता र ब्याज तिर्ने सम्भावना नदेखिएको उहाँको भनाइ छ । ऋण ब्याज मिनाहाभन्दा पनि व्यवसायीलाई थप समय दिनुपर्ने घिमिरेको तर्क छ । व्यापार ठप्प भएपछि बैङ्कको कालोसूचीमा पर्ने चिन्ता व्यवसायीमा छ । सौराहामा सबैभन्दा बढी पर्यटक आउने चीन कोरोनाबाट प्रभावित छ । यसअघिका पर्यटकको समेत चीनका ट्राभल एजेन्टले भुक्तानी गर्न नसकेको व्यवसायीको भनाइ छ ।
सौराहामा द्वन्द्वकालसँगै भूकम्प र नाकाबन्दीको समयमा व्यापारमा निकै गिरावट आएको थियो । अहिले त्योभन्दा बढी प्रभाव देखिने अवस्था आएको व्यवसायी बताउँछन् । त्यतिबेला आन्तरिक पर्यटक आएका भए पनि अहिले नेपालीसमेत बाहिर निस्कन डराएको घिमिरेको भनाइ छ । सरकारले पनि धेरै मानिस जमघट हुने सभा, सम्मेलनजस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ ।
कोरोनाको प्रभाव होटलमा देखिएपछि यसले अन्य क्षेत्रमा पनि नराम्रो असर पु¥याएको सरोकारवाला पक्षको भनाइ छ । पर्यटकबाट आश्रित साना ठूला होटल, रेष्टुराँ, पसल, डुङ्गा, हात्ती, जीप, पर्यटक बसजस्ता पर्यटन व्यवसाय प्रभावित भएका छन् । जसबाट सरकारको राजस्वमा पनि प्रभाव देखिने भएको छ । यससँगै कुखुराको मासु र अण्डाको खपत घटेपछि मूल्यमा गिरावट आउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *