भर्खरै :

डोल्पाको रोग प्रभावित क्षेत्रमा औषधिसहित चिकित्सक टोली

डोल्पा, २१ फागुन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमुना परीक्षणका लागि आवश्यक रगत, ¥याल, खकार, दिसापिसाबलगायतका नमुना सङ्कलनका लागि चिकित्सकसहितको टोली पुगेको छ ।
रोगले ग्रस्त नागरिकको नमुना सङ्कलनका लागि प्रदेश अस्पतालका डा. इन्द्रबहादुर थापा र ल्याब टेक्निसियन कमलकुमार थापा सेनाको हेलिकोप्टरबाट भर्खरै प्रकोप क्षेत्रमा पुग्नुभएको हो । नमुना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पतालमा लैजाने बताइएको छ ।
त्यसैगरी प्रकोप क्षेत्रमै बसेर उपचार गर्ने गरी जिल्ला अस्पताल डोल्पाबाट डा. मेलिना हमाल र एचए सारङ्गा रोकाय पनि हेलिकोप्टरबाट जानुभएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा. सिजन रावलले जानकारी दिनुभयो ।
हेलिकोप्टरले चिकित्सकमात्रै नभएर मास्क, पञ्जा, एन्टिभाइरललगायतका आवश्यक औषधिसमेत बोकेर लगेको रावलले बताउनुभयो । प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थ्यचौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहनुभएको छ ।
पैँतालीस घरधुरी भएको करेलीकाँडामा रोगका कारण घरैपिच्छे बिरामी भएको र अहिलेसम्म २० भन्दा धेरै बिरामीलाई उपचार गरिएको स्वास्थ्यकर्मीको टोलीले बताएको छ । प्रभावित क्षेत्रका बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिङ्गटा लाग्ने, शरीर दुख्नेजस्ता लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । डोल्पा क्षेत्र नं २ बाट निर्वाचित प्रदेशसभा सदस्यद्वय वीरबहादुर शाही र बद्मीकुमारी बोहोराले रोगको विषयमा कर्णाली प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *