भर्खरै :

सत्ता र शक्तिको निम्ति जालझेल नै लोकतन्त्र हो ?

– किरण लिम्बु
जनआन्दोलन २०६२÷०६३ अघि जनतासमक्ष शासक राजनीतिक दलका नेताहरूले हिजोको गल्ती नदोहो¥याउने वाचा कसम पटक–पटक खाएका थिए । सोझा–सीधा नेपाली जनताले पनि पत्याए, अब देशमा नेताहरूले जनताप्रति विश्वासघात गर्ने छैनन्, सत्ता र पदका निम्ति कुकुर–झगडा गर्ने छैनन्, भ्रष्टाचार गर्ने छैनन् र नेताहरूले आफ्नो व्यक्तिगत, गुटगत र पार्टीगत स्वार्थका लागि बन्धक बनाउने छैनन् भनी विश्वास गरेका थिए । जनविश्वास तोड्नमा शासक दलका नेताहरूलाई केही वर्ष पनि लागेन । एउटा राजनीतिक शक्ति भ्रष्ट भयो भनी अर्को शक्तिलाई विश्वास ग¥यो, त्यो झन् महाभ्रष्ट बनी देखाप¥यो । एक जना नेता सत्तालोलुप भनी अर्को नेतालाई नेतृत्व सुम्प्यो, नयाँ नेता झन् बढी सत्ता र शक्तिका भोका निक्लिए । आज राजनीतिक व्यवस्थालाई लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्र भनिएको छ तर त्यहाँ लोक वा जनताको अवस्थाका बारेमा कमैले मात्र चर्चा गर्छन्, बहुसङ्ख्यक राजनीतिक दल र नेताहरू आ–आफ्नो दलगत र गुटगत स्वार्थका लागि लडिरहेका देख्न सुन्न सकिन्छ । चाहे त्यो नेकपा भनिएको सत्तासीन पार्टीमा होस् वा सत्ताबाट निक्लन बाध्य भएको प्रमुख प्रतिपक्ष भनिएको नेपाली काङ्ग्रेसमा होस् ।
आज जनता प्रश्न गर्न बाध्य भएका छन्, के सत्ता र शक्तिको निम्ति जालझेल नै लोकतन्त्र हो ? हो भने हिजो जनतालाई लोकतन्त्रको परिभाषा गर्दै स्वतन्त्रता, समानता र भ्रातृत्वको झूटो सपना किन बाँडियो ? जनअधिकारको बखान गर्दै आर्थिक समानता र व्यक्तित्व विकासमा समान अधिकारको कुरा किन गरियो ? होइन भने आजको लोकतन्त्रको हुर्मत लिने गरी पद, पैसा र शक्तिको निम्ति दिनदिनैको कचकच, जालझेल र छिनाझप्टी किन ? सत्तामा पुगेर विधिको शासन र बन्दोबस्त सुधारभन्दा आफ्ना आउरेबाउरे र आफन्तकै स्वार्थलाई मात्र किन प्राथमिकता ? ‘कम्युनिस्ट’ नाम राखी प्रतिक्रियावादी विधि र व्यवहार प्रदर्शन किन ? सुशासनको दुहाइ दिँदै किन जताततै कमिसन र घूसको मोलमोलाइ ? योग्य र इमानदारलाई पाखा लगाउँदै सुटकेशमा पैसा भरेर दिनेहरूलाई नियुक्ति किन ? ठेक्का सकारेर, पैसा गुटमुटयाएर काम नगर्ने वा पूरा नगर्ने ठेकेदारहरूमाथि कारबाही गरेको खोइ ? हिजोका क्रान्तिवीरहरू र बहुसङ्ख्यक जनता डिप्रेसनमा पुग्ने अवस्था कसरी सिर्जना भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *