भर्खरै :

अष्ट्रेलिया जाने लोभमा नक्कली विवाह

 
रसिक
‘नमस्ते वडाध्यक्ष ज्यू’ ।
‘नमस्ते भाइ । आज त एकदम फूर्तिलो र हँसिलो देखिन्छौ नि । केही विशेष ?’
‘हो वडाध्यक्षज्यू । म त वडामा विवाह दर्ता गर्न आएको । हामी दुवै जना छौँ ।’
‘कति वर्ष भयौ र ? विवाह गर्ने उमेर पुगेको छैन कि ? फेरि जेल जानुपर्ला नि ?’
‘बीस वर्ष कटेर २१ लागेँ नि । अलि अलि कानुन त हामीले पनि जानेका छौँ नि वडाध्यक्षज्यू ।’
‘अनि, उनी को हुन् त ? यहाँको जस्तो त लागेन नि । भागी विवाह हो कि क्या हो ?’
‘उनी धरानकी । उनी मभन्दा २ वर्षले जेठी । हाम्रो विवाह त न मागी, न भागी । कन्सल्टेन्सी थ्रु विवाह, वडाध्यक्षज्यू ।’
‘कन्सल्टेन्सी थ्रु विवाह भन्या चैं के हो नि ? विवाह गर्ने नयाँतरिका आयो कि क्या हो ?’
‘ल, तपार्इँलाई थाहै रैनछ । अष्ट्रेलिया जान काठमाडाँैको कन्सल्टेन्सी धाउँदा उसैले उनीसँग चिनापर्ची गराइदिएको । उनी पनि अष्ट्रेलिया जान कन्सल्टेन्सी आएकी रैछन् । कन्सल्टेन्सीको सरले दुवैले विवाह गरे अष्ट्रेलिया सजिलै पुग्न सकिन्छ भन्नुभयो, अनि यहाँआएको ।’
‘गज्जब रै छ बाबु । आमाबाबुलाई जानकारी छ कि छैन त ?’
‘आमाबाबुलाई जानकारी दिएर के गर्ने ? खासमा यो सक्कली विहे नै होइन नि । अष्ट्रेलियामा एप्लाइ गर्न डकुमेन्ट चाहिने भएरमात्र आएको । यहाँबाट प्लेन चढेर उता नपुगुञ्जेलसम्मका लागि हो । उता पुगेपछि उनी आप्mनै बाटो लाग्नेछिन् र म पनि आप्mनै ढङ्गबाट काम गरिहाल्छु । अष्ट्रेलियामा त हामी साथीजस्तै बस्छौँ । अलिअलि कमाएपछि आमाबाबुसँग सल्लाह गरेर मैले मन पराएको केटीसँग बिहे गरिहाल्छु । त्यतिबेला तपाईँलाई पनि भोज बोलाउँछु, वडाध्यक्षज्यू ।’
‘के भनेको बाबु ? वडा कार्यालयमा विवाह दर्ता भएपछि त कानुनी विवाह भइहाल्यो नि । पछि अर्को बिहे गर्दा त तिमीलाई बहुविवाहको मुद्दा लगाएर प्रहरीले समातिहाल्छ नि ।’
‘त्यतिबेला त हेरौँला नि वडाध्यक्षज्यू । हामीसँग आइडिया छ नि ।’
‘के आइडिया बाबु ?’
‘डिभोर्स गर्ने ।’
‘डिभोर्स गर्न त्यति सजिलो छ र ? अदालती प्रक्रिया छ । त्यसमाथि डिभोर्स गरेपछि तिम्रो भागमा आउने पैत्रिक सम्पत्तिको आधा श्रीमतिलाई दिनुपर्ने कुरा थाहा छ कि छैन ?’
‘ए…. त्यसो पो । मलाई त थाहा छैन । अब के गर्ने त ? मैले त मन्दिरमा गएर बिहे गरेको फोटोसमेत खिचाएँ र भोज खुवाएको भिडियो पनि बनाएँ त वडाध्यक्षज्यू ।’
‘आमाबाबुको अनुपस्थितिमा कसरी बिहे गरी भोज खुवायौ ?’
‘बिहे गर्न भनेर काठमाडाँैको एउटा मन्दिरमा साथीहरूसँग गएको, त्यहाँ बसेको पण्डितले अष्ट्रेलिया जाने बिहे हो ? भनी सोध्नुभयो । हामीले हो भन्यौँ । उहाँले त पैसामात्र देऊ, सबै म मिलाउँछु भन्नुभयो ।’
‘कति पैसामाग्यो बाहुनले ?’
‘२० हजार माग्यो नि, वडाध्यक्ष ज्यू ।’
‘बाहुनले कसरी मिलायो त ?’
‘हामीले दुलाहा र दुलहीको ड्रेस लगायौँ, त्यहाँ त विवाह मण्डप अगाडि नै तयार थियो । पण्डितले सर्टकट मन्त्र पढेर विवाह गराउनुभयो । हाम्रो फोटो पनि खिच्ने बन्दोबस्त रहेछ ।’
‘अनि भोजको भिडियो कसरी खिचियो त ?’
‘त्यही मन्दिर परिसरमा एकजनाको बिहे भोज रहेछ । पण्डितले त्यही भोजको भिडियो खिच्न भन्नुभयो । हामीले पनि एकैछिन बिहे भोजमा अतिथि सत्कार गरेको नाटक ग¥यौँ ।
‘अष्ट्रेलियाका कुइरेहरूले कसको भोज भनेर सोध्ने होइन क्यारे । उनीहरूलाई विवाह र भोजको फोटो र भिडियो प्रमाण चाहिने त हो नि ।’
‘गज्जबको जुक्ति निकाल्यौ त बाबु । बडो राम्रो काम ग¥यौ । बिहे पनि नक्कली, भोज पनि नक्कली, आमाबाबु पनि नक्कली र श्रीमति समेत नक्कली ।’
‘अब के गर्ने त वडाध्यक्षज्यू, आपूmलाई जसरी भएपनि अष्ट्रेलिया जानु छ । घरमा आमाबाबुले मलाई अष्ट्रेलिया पठाउन आवश्यक पैसाको बन्दोबस्त गरिसक्नुभयो ।’
‘तिम्रो सबै काम नक्कली भएपछि विवाह दर्ता मात्र म कसरी सक्कली गर्न सक्छु र बाबु ? मबाट त यस्तो काम हुन्न । के गर्छौ ?’
‘त्यसो नभन्नु न वडाध्यक्षज्यू । मेरो जीवन बरबाद हुन्छ त । बरु तपार्इँलाई के चाहिन्छ, कति चाहिन्छ ?’
‘धत् मूर्ख । जनप्रतिनिधिलाई घूस खुवाउन खोजेको ? तिम्रो काम हुन्न ।’
‘सरी वडाध्यक्षज्यू । मेरो यति काम गरिदिनुस् न प्लिज । मैले तपार्इँलाई सबै साँचो कुरा बताएँ त ।’
‘अहँ, हुन्न । नक्कली बिहेको सक्कली प्रमाणीकरण मबाट हुन्न ।’
‘ठट्टा नगर्नुस् न वडाध्यक्ष ज्यू । तपार्इँलाई हामीले भोट हालेर जिताएका हौं नि ।’
‘त्यसैले त जिम्मेवारी लिएर तिमीलाई गलत काम गर्नबाट रोक्न खोजेको बाबु ? कर्मचारीले भए किन मतलब राख्थ्यो ? तिम्रो विवाह दर्ता र सिफारिस दिएपछि वडाको आम्दानी बढ्थ्यो । हामी त जनप्रतिनिधि, समाजको भलो गर्न हामीलाई भोटले जिताएर पठाइएको हो । हामीले गलत काम ग¥यौँ भने यो समाज झन् पछाडि पर्छ बाबु ।
तिम्रो भविष्य बरबाद हुनबाट जोगाउनु मेरो कर्तव्य हो । अष्ट्रेलिया जाने लोभमा गलत काम नगर बाबु ।’
विचरा अष्ट्रेलिया जाने सपना देखेका भाइको मुख रातो भयो, उसले आप्mनो मुन्टो माथि उठाउन पनि सकेन । लामो समय मौन बस्यो, आँखाबाट आँसु बगिरह्यो । वडाध्यक्ष अन्य सेवाग्राहीको काममा व्यस्त भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *