भर्खरै :

कुन ठीक कुन बेठीक ? छलफल जरूरी

भैरव रिसाल
मार्च ८ आधा आकाश ढाक्ने महिला अझ महिलामा पनि श्रमिक महिला दिवस हो । साँच्चै भन्ने हो भने हाम्रो नेपालमा लाखौँ–लाख महिला यो विश्व श्रमिक महिला दिवस भनेको के हो ? भन्ने बुझ्ने र थाहा पाउने अवस्थामा आज पनि छैनन् । नेपालमा अहिले संविधानमा समाजवादउन्मुख गणतन्त्र छ । तर यो संविधान नआउँदा बेला र आज पनि इँटा भट्टामा, विभिन्न साना–ठूला कारखाना, लघु उद्यम, कुटीर उद्योग, टेम्पो चालक, धनीमानी, सामन्तहरूका गगनचुम्बी विशाल भवनका छानामुनि घरेलु नोकरीमा बसेका असङ्ख्य महिलाहरू यो मार्च ८ वा २५ फागुन अन्तर्राष्ट्रिय महिला मुक्ति दिवस भन्ने कुरा नै सुन्न पाएका हुँदैनन् । यता झकिझकाउ गहना र अत्यन्त महँगा पोशाकमा त्यही घरका साहुनी, मालिक्नी, हाकिम्नी, महिला नेतृ विश्व श्रमिक महिला मुक्ति दिवसमा भाषण छाँट्न जान्छन् । तर आफ्नो घरमा काम गर्न राखेका महिला कामदारलाई यो दिवसबारे भन्दैनन् । समारोहमा, मञ्चमा श्रमिक महिला मुक्तिकाबारे आकाश प्वाल पार्नेगरी धाराप्रवाह भाषण गर्छन् । स्तरीय जलपान गरी फर्कन्छन् । घरमा पुगेपछि घरका कामदारका रूपमा राखेका महिलाउपर खनिन्छन् । ती महिला नेतृहरूको व्यवहार अघि एकैछिन अघि गरेको भाषणको ठीक उल्टो हुनेगर्छ ।
एउटी आमा बनिन् अर्की आमा बन्दै
हाम्रो नेपालको स्थिति एउटा छ । त्यो स्थिति जस्ताको तस्तै रूपमा राख्न अनुमति माग्छु । धादिङ जिल्लाको ११ वर्षकी होलिन् एउटी बालिका घरेलु कामदारको रूपमा काठमाडौँ बस्ने एउटा सचेत परिवारकहाँ बस्ने गरी आइन् । त्यो परिवारकी उनी माहिली छोरी रहिछन् । उनका एउटी दिदी, दुइटी बहिनी, एउटा भाइ । भाइ सबैभन्दा कान्छो । बाबु उग्र जड्याँहा । अरूको जे भेट्यो, बेच्यो, जाँड धोक्यो । छोरा–छोरी तर्सायो । खर्च नदिएपछि श्रीमतीलाई कुट्यो । ती माहिली नानी छोरी गाउँकै स्कूलबाट चार–पाँच कति हो कतिमा पढ्थी । काडमाडौँको काम गर्ने घरमा बसेपछि पद्मोदय माध्यमिक विद्यालयमा कक्षा चारमा भर्ना भई पढ्दै गइन् । कक्षा दसमा पढाइ पुगेपछि उनी बसेका घरवालाले गणित विषयमा ट्युशनसमेत पढाइ दिएर कक्षा दस (तत्कालीन एसएलसी) दोस्रो श्रेणीमा सफल भइन् । कक्षा १२ मा एक विषयमा असफल भइन् । बसेका घरका मान्छेले भाटभटेनी सुपर मार्केटमा काम खोजिदिएर जागिर पनि दिए । अब उनी त्यो काम गर्न बसेको घर छोड्ने विचार गरी डेरा लिएर काम गर्न थालिन् । दुई बहिनी र भाइको पढाइतिर पनि ध्यान दिन्थिन् । उनलाई बिहा गर्ने मन लागेछ । आमा–मामाहरूले खोजेको केटासँग बिहे भयो । केटो र उनका परिवार कति सज्जन रहेछ । केटो व्यापार गर्ने । दम्पती मिलेको । ती नानी गर्भवती छन् अहिले । उनका बहिनीहरू र भाइ पनि पढ्दैछन् । दिदीको बिहे भयो अहिले आमा भइसकिन् । यो एउटा उदाहरण ।
पूर्वगोठाला अहिले अधिकृत
लगभग यस्तै खालको अर्को घटना । उनको घरका बाबु–आमा यी अघिल्ला नानीको भन्दा सभ्य । अरू सबै लगभग समान । उनले जागिर खान अलि हतार गरिनन् । प्रमाणपत्र परीक्षामा सफल भइन् । त्यसपछिमात्र भाटभटेनी सुपरमार्केटमा नोकरी गरिन् । उनी अलि पछि जापान गइन् । जापानमा पढ्छिन् कि जागिर खान्छिन्, दुवै थोक गर्छिन् केही थाहा छैन । यी दुइटी किशोरीको अहिलेसम्मका कथा हुन् यी । यससँग लगभग मिल्ने किशोरहरूका रोचक कथाजस्ता अरू धेरै पाइन्छन् । नेपाल सरकारका माथिल्लो तहमा पुगेका कर्मचारीहरू पनि यस्तोमा निकै जना पाइने रहेछन् । पहाडबाट, तराईबाट काठमाडौँ आयो, काठमाडौँमै पढ्यो, सरकारी जागिर खायो, जग्गा किन्यो, घर बनायो । बिहे त हुने भैगो । दूध, दही, मोही, घ्यु सकभर खाँटी खान मन लाग्यो । गोठ बनायो । गाई पाल्यो सस्तो युग । एउटा किशोर खोज्यो वा गाउँबाट झिकायो । गोठमा राख्यो । दिउँसोको, बिहानको वा बेलुकीको स्कूलमा भर्ना गरियो । घरको काम पनि गर्ने, गाई–गोठालोको काम पनि गर्ने, पढ्न पनि पढ्ने गर्दा धेरै प्रवेशिका, प्रमाणपत्र, स्नातक, स्नातकोत्तरसम्म पढेको पनि पाइयो त्यसरी नै । अनि सरकारी नोकरीमा लगाइदियो । बिहे गराइदियो । अब गृहस्थी राम्रै बस्यो । फेरि अर्को त्यस्तै । किशोर खोज्यो त्यसै ग¥यो । यो विधाबाट केही दर्जन पूर्वगोठालाहरू अहिले सरकारी सेवामा अधिकृत नै छन् । यस्तो प्रक्रिया अहिले पनि छन् ।
छलफल चल्नु जाति हो कि ?
हाम्रो नेपालमा यसरी गोठालो राखेर काम पनि गराउने, अलि अलि पढाउने पनि गर्ने चलन निकै अघिदेखि रहेछ । कवि शिरोमणि लेखनाथ पौडेलकहाँ पनि दुधालु गाई पाल्दा रहेछन् । पुरानो गोठालोले दूध चोर्न, दूधमा पानी मिसाएर हैरान गराएछ । रानी पोखरीको डिलतिर गोठालो खोज्दै जाँदा साँखुबाट नूनको भारी बोकेर काठमाडौँसम्म ल्याउने भूसतिघ्रे एउटा तामाङ भेटिएछ । ऊ गोठालो बस्न मञ्जुर भएछ । इमानदार रहेछ । लेखनाथको परिवारलाई रिझाएछ । लेखनाथ पौडेलले छोरा अनन्तनाथलाई भनी बा¥हखरीको किताब किनेर ल्याई त्यो गोठालोलाई पढाएछन् । त्यो तामाङ युवक प्रहरीमा जागिर भएछ । पछि सबइन्सपेक्टरसम्म भएछ र पेन्सन पकाएर अवकाश पाएछ । यस्ता अरू पनि थुप्रै उदाहरण छन् । आज अन्तर्राष्ट्रिय विश्व श्रमिक महिला दिवसको सन्दर्भमा मेरो जिज्ञासा यसरी घरायसी काममा किशोर–किशोरी राख्नु, तर पढाइ दिनु भने अनिवार्य गराउने काम ठीक वा बेठीक के हो ? यदि ती माथि उल्लेख गरिएका दुई किशोरी काठमाडौँ आई ती घरमा काममा नबसेका भए गाउँमा त्यति पनि पढ्ने मौका पाउँदैनथे । जापान जाने त कता हो कता ¤ यहाँ मेरो जापान जानु ठीक वा बेठिक के हो भन्ने जिज्ञासा पनि होइन । हाम्रो मुलुकको हिजोको परिप्रेक्ष्यमा भइसकेको ती घट्ना र तिनको परिणामलाई कसरी लिनुपर्ला भन्ने साधारण चासोमात्र हो । छलफल चलाउनु जरूरी हो कि ?
बाबुले जोडालाई छोरी दिए
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा यी कुरा राखेँ । त्यो लेख्दा सजिलो लागेनमात्र हो र निकै असजिलो पनि लाग्यो तर समस्या हो, समस्या छ । त्यसैले यस्ता कुरा उठाएर छलफलमा ल्याउनु सारै बेठीक होइन भनी विषय प्रस्तुत त गरेको हुँ । अब जाउँ श्रमिक महिलातर्फ । महिला भनेपछि यो जात जातिमा पनि भरपर्दो रहेछ । धादिङ जिल्लाको उत्तरी भेग र रसुवा जिल्लाका खासगरी तामाङ जातिका महिलाहरूमा अधिकार रहेको पाएँ मैले । घरकी गृहिणी या आमा वर्गले स्वीकृति नदिँदासम्म बाख्रा जातका पशु खसी, बोका, पाठीपाठा छोरा जातले मात्र बेच्न वा काट्न, म्हास्न पाउँदो रहेनछ । यो कुरा २५ वर्ष अघिको हो । त्यताको भ्रमणमा जाँदाको अनुभव हो यो । यति भए पनि मातृ जातिको अधिकार रहेछ । महिला शोषण माथिल्ला जातमा बढी छ । खासगरी बाहुन जातिमा धेरै । अपवादमा अरू जातमा पनि नभएको होइन । एउटा उदाहरण सरस्वती राईका बाबुले छोरी सरस्वतीलाई पल्टनियाँ लाहुरे आफ्नो जोडालाई, आफ्नो उमेरका मान्छेलाई छोरी दिएछन् । सरस्वतीकी आमाले धूमधाम विरोध गर्दा पनि मानेनछन् । आखिर बिहे भयो बुढोसँग । घर जाँदा लाहुरेकी पुरानी श्रीमती सरस्वतीकी सौता आमा जस्ती रे । सरस्वती राई भन्दै थिइन् सौताले आमाजस्तै व्यवहार गरिन् रे, माया गरिन् रे । यस्ता अपवादका घटना यदाकदा मात्र हुने गर्छन् । यी कुरा पुराना भइसके । आज छोरीलाई पनि पढाउने युग आएको छ । खास केही ठाउँ र केही जातजातीलाई छोडेर छोरीलाई पनि छोरासरह नै व्यवहार गरिन्छ । छोरीको पढाइ हेर्न भक्तपुर गए पुग्छ ।
उत्तराधिकार पुरूषवादी
मातृसत्तात्मक राज्य व्यवस्थाबाट पितृसत्तात्मक राज्य व्यवस्था आउनु नै महिलाहरूको निम्ति अँध्यारो युगको प्रारम्भ भयो । संसारको इतिहासमा कैयाँै वीराङ्गना भए । तर महिला उत्तराधिकार स्थापित हुन सकेन । पुरूष शासकले कतै भाइलाई, कतै छोरालाई उत्तराधिकारी बनाउने परम्परा बसाले । नेपालमा गोर्खाका राजा नरभुपाल शाहले छोरालाई उत्तराधिकार दिने थिति बसाले भने यता जङ्गबहादुरले भाइमा उत्तराधिकार हुने चलन चलाए ।
छोरी–बहिनीमा उत्तराधिकार जाने थिति बसालिएन । बेलायतमा एउटा अपवाद भयो छोरी मान्छे राजाको उत्तराधिकार पाउने गरियो । त्यसैअनुसार वर्तमानमा रानी एलिजावेथ द्वितीया रानी छन् । राज्य शासनमा छोरी वा बुहारी राज्यको उत्तराधिकारी हुने चलन यूरोपका केही अन्य मुलुकमा पनि रहेको छ । तर यी श्रमिक महिलाको वर्गभित्र पर्दैनन् । अस्तिको दिवस श्रमिक महिला दिवस हो । नश्रमिक महिला दिवस होइन । तर अहिलेको मुलुकको अवस्था यस्तो दयनीय छ । खास खास कठिनतम् ठाउँमा काम गर्ने श्रमिक महिलाहरूमा यो दिवसको हावा पनि पुग्दैन । साना दूधे नानी पिठिउँमा बोकी धमाधम इँटा पारिरहेका छन् । इँटा बनाउने काम एक दशक अघिसम्म पुरूष श्रमिकले मात्र गर्थे । महिला श्रमिक इँटा पार्दैनथे । तर त्यो चलन छुट्यो अहिले । श्रमिक महिलाका केटाकेटी पढाउने व्यवस्था गर्ने भनिएको थियो । तर कथैमात्र भएको छ ।
खै इँटा भट्टामा यो दिवस ?
श्रमिक महिलाहरूले थाहा पाए भने यस्ता दिवस इँटा भट्टाहरूमा वरिपरिका इँटा भट्टामा काम गर्ने श्रमिक महिलाहरू जम्मा भई स्थानीय तहमा नै दिवस मनाउँथे । अहिले मालिक महिलाहरू ठूल्ठूला होटेल, रिसोर्टहरूमा ठूला ओहडाका मान्छे, नेताहरू बोलाई अनेक नखरा पार्दै यो दिवस मनाउने दिन पो आए । श्रमिक महिलाहरूको दिवस मालिक महिला दिवसमा रूपान्तरण भइसकेको छ । यो दिवस जसका लागि आएको हो उनीहरूले थाहा पाउलान् भनी त्राहि न त्राहिमा छन् मालिक महिलाहरू । सरकार नेपाल कम्युनिस्ट पार्टीको छ । अखिल नेपाल महिला सङ्घ छ । नेकपाका अरू धेरै वर्गीय सङ्घहरू छन् । ती सबै वर्गीय एवं भ्रातृ सङ्गठनहरूलाई विद्यार्थी बोलाई यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धूमधाम र भव्यतापूर्ण माहोलमा मनाउन नेकपाले किन जाँगर नदेखाइएको होला ? नत्र त यो दिवसले स्वरूप लिई हाल्थ्यो नि । तर नेपाल कम्युनिस्ट पार्टीले जाँगर नै देखाएन । फलस्वरूप बिदाको वातावरण बन्यो । टाठाबाठा मान्छे भएका केही सङ्घ संस्थाले आ–आफ्नै ढङ्गले यो दिवस मनाएर इज्जत राखिदिए । नेकपाको महिला सङ्घले यो दिवस कसरी मनायो या मनाएन । नमनाएको भए किन मनाएन पार्टीले पत्राचार गर्नुप¥यो । तर्कसङ्गत उत्तर आएन भने कारबाही अघि बढाउनुप¥यो ताकि आउँदो वर्ष यस्तो सन्नाटा नहोस् । चेतना विकास आजको मूल खाँचो हो । यस्ता दिवस मनाउँदा चेतना छरिन्छ । सबै चेतना अङ्कुरित हुँदैनन् । केही चेतना अङ्कुरित पल्लवित, पुष्पित भए पनि प्रतिफल सुष्टु, सुन्दर एवं मूल्यवान हुने पक्का छ । खै यो दिशातिर जाँगर देखिएन ।
जेट्किनबाट धेरै सिक्नु छ
मान्छेको जिन्दगीमा एक्सपोजर देख्ने, सुन्ने, भोग्ने र जान्ने कुराको अत्यन्त जरूरी हुँदो रहेछ । यसका निम्ति यात्रा, नियात्रा, भ्रमण जे नाममा हुनुपर्ने रहेछ । अघिल्लो अघिल्लो पुस्ता तीर्थयात्राको नाममा भ्रमण गथ्र्यो । ती तीर्थयात्रामा धर्ममा कति विश्वास थियो या वा थिएन तर घुम्न त घुम्थे । अनुभव हुन्थ्यो । एक्सपोजर हुन्थ्यो । साँचै पनि यसरी सूर्यविनायक, चाँगुनारायण, दोलखा भीमसेन, नाला भगवती, बनेपाली चण्डेश्वरीजस्ता देवी–देवताका स्थान नभएका भए, नवयुवा–युवती, ती ठाउँमा जाने–आउने नगरेका भए कति किसान युवा–युवतीको बिहे पनि हुन्थ्यो हुन्नथ्यो भन्न सजिलो छैन । नत्र भक्तपुरका किसान परिवारका छोराछोरी घरबाट खेतमा जान्थे खेतबाट घर । त्यो स्थितिमा टोलकालाई टोलले मात्र चिन्थे । बिहावारीको क्षेत्र नै सानो हुन्थ्यो । अझ श्रमिक महिला त हुन्थे हुन्नथे भन्नै सकिँदैन । एकसय दस वर्षदेखि यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरेकाले महिला पनि उत्पादनको एकाइ हो भन्ने मान्यता स्थापित भयो । ८ मार्च साँचै श्रमिक महिलाहरूको निम्ति महान दिन हो । सन् १८८९ देखि महिला पुरूषबीचको अधिकार समान हुनुपर्छ भन्ने माग गर्न पनि कति कठिन थियो होला । महिला र पुरूषको बीच समान व्यवहार हुनुपर्छ भन्ने क्रान्तिकारी विचार । सर्वहारा वर्गका महान गुरू कार्ल माक्र्सले अघि सारेपछि यो आन्दोलनको श्री गणेश भएको हो । क्लारा जेट्किन यो आन्दोलनकी वीराङ्गना हुन् । आजको श्रमिक महिलाले उनबाट धेरै सिक्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *